म,
कहिलेकाहीँ बजार जाँदा
देखेको सामान नहेरी
खरिद गर्छु।
घर जान्छु,
हेर्छु,
देख्छु सामनमा केही खत छ।
सम्झिन्छु फेरि
देख्दा नहेरी खरिद गरेको त्यो पल,
पसलेले तेलजस्तै चिप्लो बोलीमा मलाई चिप्ल्याएको त्यो पल,
अनि, मैले पनि मख्ख पर्दै उत्सुकतामा खरिदी गरेको त्यो पल।
मैले पटक-पटक चुनावी माहोलको पसलमा,
दशौं, सयौं-उमेद्वार मध्ये
एक उमेद्वार छानेर घर आएको छु।
देख्दा राम्रो देखिने त्यही उमेद्वार,
सधैं विपरीत भएको देखेको छु।
समाजमा परिवर्तन ल्याउने नारा घन्काउनेहरु,
आफैं परिवर्तन हुन नसकेको देखेको छु।
जनताका लागि भनेर हड्ताल गरी,
जनतालाई नै सास्ती दिएको देखेको छु।
नारीका लागि भनेर खडा हुनेहरूले,
नारीलाई नै कमजोर बनाएको देखेको छु।
शिक्षा नै सबथोक हो भन्नेहरुले,
शैक्षिक वातावरणलाई नै लत्याएको देखेको छु।
चिया पसलमा यस्ता गफ धेरै बिक्छन् भनी लाइन हान्नेहरुले,
चिया पसलमै गएर आफ्ना गफ बिकाएको देखेको छु।
पढाउन भनी आएको शिक्षक,
आफैं पढेर गएको देखेको छु।
सिकाउन भनी आएको प्रशिक्षक,
आफैं सिकेर गएको देखेको छु।
मैले देखेको छु,
एक सफारी वाला दाइको
मुस्कानमा लुकेको
बिजुलीबत्तीको महंगीको पीडा,
एउटा सामान्य अटो चालकको
हर्षमा लुकेको
पेट्रोलको महंगीको पीडा,
प्राइभेट स्कुलमा शिक्षा दिने शिक्षकको
हाँसोमा लुकेको 'कहिले निकाल्ने हुन्' भन्ने पीडा,
सामान्य सरकारी विद्यालयमा पढाउने टिचरको
उत्साहमा लुकेको
'युटुबे पत्रकार' आएर बेइज्जत गर्दिन्छ कि भन्ने पीडा।
मैले अरूलाई होच्याउने हेतुले हिँडेकाहरु
आफैं होचिएर नदेखिने भएका पनि देखेको छु,
पत्रकारिताको नाममा कसैको व्यक्तिगत जीवन बिगारेर
आफ्नो जीवन डलरले सपार्ने युटुबेहरु पनि देखेको छु।
तर, मैले आजसम्म
सरकारले पार्टीको हितको लागि मात्र नभएर
जनताको हितको लागि पनि लागिपरेको देखेको छैन।
पेट्रोल, डिजल, तेलको आकाशिएको भाउ,
फेरि जमिनतर्फ झरेको देखेको छैन।
जनताको मतले आफूले मत दिन पाउने लायक भएका नेताले,
जनताको मतको कदर गरेको देखेको छैन।
घोकन्ते विद्याको यो विधा,
अझै परिवर्तन हुन सकेको देखेको छैन।
पार्टीको कार्यकर्ता बाहेक कसैले
पार्टीको हायहाय गरेको देखेको छैन।
एक आम जनताले,
चैनको सास लिएको देखको छैन।
विदेशमा रहेको एक नेपालीमा,
देश ज्युँदै फर्कन्छु भन्ने विश्वास देखेको छैन।
देशमा बसेका युवाहरुमा,
देशका लागि केही गर्छु भन्ने उत्साह देखेको छैन।
केही गर्दै गरेका युवाहरुले,
प्रगति गरिएला यहाँ भन्ने आशा राखेको देखेको छैन।
र, अरूले गरेको कामलाई गलत भनी,
आफैले त्यो गलत काम नगरेको देखेको छैन।
वास्तवमा जनताको अगाडि शिर ठाडो पारेर आउन लजाउनु पर्नेहरु,
उल्टै बिना कुनै लाज शिर ठाडो पारेर आएको देखेको छु।
देखिनु या नदेखिनु,
यसका लागि जिम्मेवार को?
-देश?
-देशको नेतृत्व?
-पार्टीका कार्यकर्ताहरु?
-नेताका अन्धभक्तहरु?
-मत दिएर गलत नेतृत्वलाई माथि पुर्याउने स्वयं जनताहरू?
या, हामी सबै बराबर?
लौ आज नढाँटी,
दिल खोलेर निर्धक्क साथ बोलौँ न,
जिम्मेवार को?
आखिर सत्य बोल्न 'लाज किन बाबा?'