किस्नमान र छोरी सुनेत्रा बसबाट ओर्लेर भाल्नेटाको चौतारीमा बसे। यहाँबाट करिब डेढ घण्टा पैदल यात्रा गरेपछि गाउँ पुगिन्छ। पन्ध्र वर्षको उमेरमा आज पहिलो पल्ट गाउँ आउन पाउँदा अत्यन्तै खुसी छे सुनेत्रा।
छोरीले झोलाबाट पानीको बोतल निकाली। बाबुछोरी दुवैले हातमुख धोए। सुनेत्राले भनी, ‘बुवा, म आज एकदम खुसी छु।’
उसले बाबुको हात समाउँदै भनेकी थिई ‘चिन्ता लिनु भनेको आफ्नो स्वास्थ्य बिगार्नु मात्र हो। पच्चिस वर्षअघि यो गाउँबाट निस्कने बेलामा तपाईंसँग कति पैसा थियो?’
किस्नमान- मसँग भाडा बाहेक जम्मा पाँच सय थियो।
सुनेत्रा- आज फेरि फर्केर गाउँमा आउँदा कति छ?
किस्नमान- अहिले सात हजार छ।
सुनेत्रा- अहिले तपाईंसँग सात करोड भएको भए कहाँ के गरिरहेको हुनुहुन्थ्यो होला? के त्यो रकमले सुखी जीवनको प्रत्याभूति दिन्थ्यो?
किस्नमान सजल आँखाले छोरीलाई हेरिह्यो। छोरीको न्वारनको दिन साथी कामेच्छा विक्रमले नवजात शिशुलाई हेर्दै भनेको थियो ‘बा राम्रो, आमा राम्रो, छोरी झन् के कम! यस्ता राम्रा आँखा भएकी नानीको न्वारनको नाम जे भए पनि बोलाउने नाम सुनेत्रा भयो है।’
सम्पन्न र सहरिया मित्रले हार्दिकतापूर्वक स्नेह गरेर राखेको नाम सहर्ष स्वीकार भयो। किन्तु नियतीको निर्णय न जन्माउनेलाई थाहा थियो, न त नाम राख्नेलाई नै। पहिलो सन्तान दृष्टिविहीन जन्मेको थाहा पाएर किस्नमान एक महिनासम्म शोकाकुल हुँदै रोएको थियो।
किस्नमान आमाको कोखमै हुँदा उसका बाबु कालीगण्डकीको साउने भेलमा बगेर बेपत्ता भएका थिए। गर्भे टुहुरो किस्नमानलाई आमा बुद्धिदेवीले बडो कष्टले हुर्काइन्। किस्नमान नौ कक्षामा पढ्दै थियो। एकदिन आमाले भनिन्, ‘अब तेरो बिहा गर्नुपर्छ। मलाई नातिनातिना खेलाउने इच्छा छ।’ बिस वर्षको उमेरमा किस्नमानको विवाह भयो।
जीवन चाहे जस्तो कहाँ चल्छ र? चाहे जस्तो हुने भए खाउँखाउँ लाउँलाउँ भन्ने उमेरमा लोग्ने गुमाउनु पर्ने थिएन। नातिनी जन्मेको पन्ध्र वर्षसम्म मुखै नदेखेर बिताउनु पर्ने थिएन। किस्नमान जस्तो असल छोरो जन्माएर पनि पच्चिस वर्षमा जम्मा सात पल्ट मात्र मुख देख्न पाइने अवस्था आउने थिएन। एक्लो जीवन केही सहज होला, मद्धत पाइएला र मुखबोला साथी होला भनेर भित्र्याएकी बुहारीसँग एक आखर दोहोरो कुरा गर्न नपाई बिदा गर्नुपर्ने थिएन।
किस्नमानले विवाह गरेको छ महिना मात्र भएको थियो। दुलही दाम कुमारी माइतीमै थिई। एकदिन उसले अचानक भनेको थियो, ‘आमा म विदेश जान्छु।’ उस बखत भर्खर अरब र मलेसियातिर काम खोज्न जाने क्रम सुरु भएको थियो।
आमाले सम्झाउँदै भनेकी थिइन्, ‘तेरो बाबु जवान अवस्थामै गण्डकीमा बगेर बेपत्ता भए। जिउँदो छैनन् भन्ने थाहा हुँदाहुँदै पनि लोग्नेको लास फेला पार्न नसकेकी म आसेराँडी भएर तेरो मुख हेर्दै बसेकी छु। तेरा बाबुबाजेले छाडेर गएको छालाले खान पुगेकै छ। किन लहैलहैमा लागेर विदेश जान्छस?’
किस्नमानले भनेको थियो, ‘आमा, मलाई सहरमा घर बनाएर बस्न मन लागेको छ। अस्ति ससुराल जाँदा ससुरा बाले आम्दानी नभएको गर्भे टुहुरो भन्दै हेला गरे। दाम कुमारीले पनि 'पैसा कमाएर सहरमा घर बनाउनुपर्छ। सहरमा घर हुनेको इज्जत हुन्छ, नाम हुन्छ' भन्न थाली।
यो उमेरमा हिम्मत नगर्ने हो भने त सारा जिन्दगी गोबर सोहोरेरै बित्छ भनेको मलाई पनि ठिकै लाग्यो। अलिकता पैसा कमाएर ल्याउन सकियो भने हामी सहरिया हुनेछौँ। तपाईं पनि सुकिली भएर सहरमा बस्न पाउनुहुनेछ।’
किस्नमान विदेश गयो।
***
एक घण्टा कुरा गरेपछि बाबुछोरी उठेर हिँडे। किस्नमान योभन्दा अगाडि छ पल्ट गाउँ आएको थियो। गाउँ पुग्नुभन्दा अघि सानो बजार हुँदै जानुपर्थ्यो। प्रत्येक पल्ट आउँदा सबै साहुजीहरु जराकजुरुक उठेर उमेरअनुसार कसैले अहो किस्नमानजी, किस्नमान ठेक्दार साब र किस्नमान दाइ भन्दै हात मल्थे।
उसले कुनै पसलमा सामान किन्नु आवश्यक थिएन। दुकानमा गएर टाउको हल्लाउँदै ‘ल राम्रो, ल ठिक छ’ भन्नु नै सबैका लागि काफी थियो। काठमाडौंमा घर बनाएर बसेको र ठेकेदारी गरेर भुसुक्कै धन कमाएको किस्नमानको बोली, मुस्कान र हाउभाउको ठूलो प्रशंसा हुन्थ्यो त्यहाँ।
सबै भन्दथे, ‘पैसा र नाम कमाएर पनि फलेको वृक्ष जस्तो कति नुहेको, कस्तो फरासिलो, कस्तो भगवान दाहिना भएको भाग्य।’
आफ्नो बढाइँ गरेको सुनेर किस्नमान प्रसन्न हुन्थ्यो। उसलाई लाग्दथ्यो, ‘अवश्य पनि ममा कुनै न कुनै प्रताप, तेज र पुरुषार्थ छ। नत्र यतिका मानिस किन यसरी गुणगान र सराहना गर्थे। त्यसै कसले कसको तारिफ गर्छ? काठमाडौं जस्तो ठाउँमा मेरो कत्रो प्रतिष्ठा छ।’
ऊ विस्तारै हिँड्थ्यो बजारको बाटो। दायाँबायाँ हेर्दै ‘तिमी कसको छोरा रे कान्छा? धेरै पढ्नुपर्छ है!’ भन्दै अघि बढ्दथ्यो ऊ। किस्नमानको बोलीमा ओज थियो। ठम्मको शरीरमाथि सर्लक्क मिलेको सुटमा सजिएको उसको व्यक्तित्वको उचाइले आकाश चुम्थ्यो।
कतिले नमस्कार गर्दै ‘मालिक’ भन्दै हात थाप्थे। कसैको हात खाली रहँदैनथ्यो। मानिसहरु किस्नमानले सुन्ने गरी भन्थे, ‘गर्भे टुहुराको भाग्य हुन्छ भन्छन्। बूढापाकाले भनेको कुरा के खेर जान्थ्यो। किस्नमानको काठमाडौंमा पनि ठूलो मनिता छ। ठूलाको सङ्गत छ, ठूला होटेलमा भोज चल्छ। हेर त कति उज्यालो माथा! यस्तो सन्तान जन्माउने आमा भाग्यमानी हुन्।’
आज किस्नमानलाई आफ्नो जीवनयात्राको कहानी सम्झेर ताजुब लागिरहेको छ। पच्चिस वर्षको छोटो समयमा उसले सय वर्षको जीवनको अनुभव गरेको छ। मानिस कति छिटो अग्लो हुन्छ र तुरुन्तै कसरी चित खाएर पछारिन्छ। जीवन सधैँ सरल रेखामा चलिरहन्छ र आजका हितैषी सधैँका लागि हितैषी हुन्छन् भन्ने सोचेर हिँड्ने किस्नमानलाई सहरिया सङ्गतले कहाँबाट कहाँ पुर्यायो।
एक समय थियो जब करिब चार वर्षसम्म किस्नमानले आफ्ना पुराना परिचितको मृत्युको कामना गरेरै बितायो। किस्नमान ठूला-ठूला होटेलमा पार्टी दिन्थ्यो। लक्ष्मी र सरस्वतीले साथ दिएको समयमा जे बोले पनि पुग्छ र जस्तो काममा हात हाले पनि नाफै हुन्छ।
अनपढ, अनुभवहीन र सिधा विचारको किस्नमानले सधैँ यस्तै तरक्की भइरहन्छ भनेर सोच्दथ्यो। उसलाई सिकाइएको थियो, ठूला मानिसलाई चिन्नु छ भने खर्च गर। धनी सेठहरु उसलाई ‘किस्नमान सर’ भनेर सम्बोधन गर्दथे। मन्त्रीहरु ‘लौ न किस्नमानजी सहयोग गर्नुपर्यो’ भनेर नेहोरा गर्थे।
उसले आयोजना गरेका दुई/तीन वटा पार्टीमा उसको औकात थाहा पाएका पूर्व परिचित मानिसहरूले बचपनको समयको कुरा निकालेर कस्तो भाग्यमानी, आमा कता हुनुहुन्छ, बाको केही पत्तो लाग्यो कि, साधारण किसानको छोरो कहाँबाट कहाँ पुगेछौ, कसरी कमायौ आदि भनेर कुरा गर्दथे। यति कुरालाई साधारण र सहज रुपमा लिन सकिन्थ्यो।
आफ्नो बचपन, बाबु बगेर बेपत्ता भएको कुरा र, आमाले दु:ख गरेर हुर्काएका कुरा फरासिलो तरिकाले सबैका सामु भन्न सकिन्थ्यो। परन्तु उसको सङ्गत आफ्नो जरोकिलो कसैलाई थाहा नहोस् भन्ने सोच राख्ने टुप्पिएका नवधनाढ्यहरुसँग हुन गयो।
किस्नमानले आफूले आयोजना गर्ने पार्टीमा पूर्व परिचितहरुलाई बोलाउन छाड्यो। जमघट र मदिरा सेवन हुने ठाउँमा नचिताएका मानिसहरू पनि पुगेका हुन्छन्। सहरिया मद्यप्रेमीहरु एकै ठाउँमा खाएर सन्तुष्ट हुने चलन हुँदैन।
खाएको सुरमा कथित ‘भिआइपी’ हरुको लहडमा लागेर रातभरि बरालिएर हिँड्थ्यो किस्नमान। अनुशासित पारिवारिक जमघट भएको बखतमा बरालिँदै त्यहीँ आउने पूर्व परिचितहरु ‘किस्नमानको चकाचक छ, कहाँबाट कहाँ पुग्यो गाँठे’ भनेर जान्थे।
त्यो वचनले किस्नमानलाई भन्दा पत्नीलाई ज्यादा पोल्दथ्यो। बाबुबाजेले दिएको नाम दाम कुमारीलाई किस्नमानको मित्र कामेच्छा विक्रमले ‘दामिनी’ मा परिणत गरिदिएको थियो। सुन्दरी दाम कुमारी सहरिया ‘सोसाइटी’ मा ‘दामिनी भाउजूको’ नामले विख्यात भएकी थिई।
एकदिन उनीहरू पार्टी सकेर घर पुगे। दामिनीले भनी ‘भोलि बिहानै पशुपतिको दर्शन गर्न जानुपर्छ।’
किस्नमान- कहिल्यै पशुपति नजाने तिमीलाई आज के मन लाग्यो?
दामिनी- सबैजना पशुपतिसँग माग्न जान्छन्। हामी पनि माग्न जाने।
किस्नमान- माग्दैमा दिन्छन् त?
दामिनी- जे त गर्लान्।
किस्नमान- के माग्ने?
दामिनी- हामीलाई हेपेर खिसी गर्ने ती मुखालेहरुको मृत्यु माग्ने।
अर्को दिन बिहान चार बजे उनीहरू पशुपतिको दर्शन गर्न गए। दामिनीले त के मागी थाहा भएन। किन्तु किस्नमानले मदिरापानको खुमारीमा ती पूर्व परिचितहरुको मृत्यु माग्यो।
समय सधैँ एकनास चलेन। किस्नमानलाई घाटा लाग्न थाल्यो। लक्ष्मीले साथ दिन छाडेपछि सरस्वती पनि वक्र हुन थालिन्। किस्नमानको बोलीमा बसेकी सरस्वती बसाइ सरेर अन्तै गइन्। मानिसहरूले उसको कुरामा ध्यान दिन छाडे। आफ्नो सुदिनको समयमा उसले कतिपय साथीहरूलाई सरसापटी दिएको थियो। परन्तु दुर्दिनमा सहयोग गर्न कोही भएन।
किस्नमानले बैंकबाट ऋण लियो। तर व्यवहार सुध्रेन। पतिपत्नीबीच झगडा हुन थाल्यो। आफ्ना सबै बिराना भए। ‘ओहो किस्नमान! चकाचक छ है’ भनेर उल्ल्याउनेहरुले दयाका दुई शब्द भन्न थाले। किस्नमानले बल्ल मनमनै सोच्यो, ‘उराल्नेहरुभन्दा त बरु उल्ल्याउनेहरु ठिक।’
***
आज पनि किस्नमानले लाएको सुट दामी नै देखिन्छ। जुत्ता टल्केकै छन्। टाई पनि ढल्काएकै छ। तर मानिसहरु माथा र आँखा देखेरै सुदिन र दुर्दिन चलेको बुझिहाल्छन्। गाउँलेहरु काठमाडौंतिर बस्ने मात्र नभई विदेश जानेहरूको समेत हिसाबकिताब राखेर बसेका हुन्छन्।
आज कसैले पनि दुकानबाट बाहिर आएर किस्नमानको स्वागत गरेन। आज न कसैले प्रशस्ति गायो न त गुणगान नै। आज कसैले ‘चिया खाएर जानुस्’ भनेन। कसैले पनि ‘भोलिको खना मेरोमा है!’ भनेन। कसैले ‘श्रीमती खै?’ भनेर सोधेन। कसैले पनि किस्नमानको अगाडि हात पसारेन।
त्यहाँ किस्नमानको आर्थिक र पारिवारिक जीवनको एक-एक जानकारी थियो। काठमाडौंमा बतास चल्दा गाउँ-गाउँसम्म पात हल्लिन्छ भन्ने कुरा नासमझ र सोझो किस्नमानलाई के थाहा! स्थानीय बजारियाहरुको त्यो सारा व्यवहार किस्नमानको अपमान र बहिस्कार थिएन। त्यो त वास्तवमा उसको औकातको पहिचान थियो।
निकै होला भनेर सोचेको मान्छे जोडले पछारिएपछि यति तिरस्कार त सहनै पर्छ। धनाढ्य र इज्जतदार भएको थाहा पाउनेले कङ्गाल र बेहाल भएको झन् पक्कासँग थाहा पाउँछ। किस्नमान जीवनको बीभत्सता र वास्तविकताको थप पाठ सिक्दै अघि बढ्दै गयो।
किस्नमान गाउँभित्र पस्यो। दृष्टिविहीन छोरीलाई डोर्याउँदै ऊ आफ्नो घरतर्फ पाइला चालिरहेको थियो। कति छिमेकीहरुले देखेको नदेख्यै गरे। कतिले पीठ फर्काए। एकजना बचपनको दौँतरीले 'सञ्चै आयौ?' त भन्यो तर पानी पनि सोधेन। लाग्दथ्यो सोध्नु र जान्नु पर्ने केही थिएन।
सधैँका लागि आफूभन्दा निर्धो भएर बस्न आएको मानिसलाई महत्व दिइरहनु आवश्यक थिएन। बरु किस्नमान उचालिएको र पछारिएको थाहा नपाएकी छिमेकी आमैले सोधेकी थिइन्, ‘सञ्चै आइस किस्ने?’
किस्नमान घर पुग्यो। साँझ परिसकेको थियो। असी वर्षे आमा बुद्धिदेवी घाँसपात र गोठालो धन्दाको काम सकेर कुँडेमा दूध तताउँदै थिइन्। किस्नमानले आमालाई ढोग्यो। नातिनी सुनेत्रालाई अँगालो हालेर बलिन्द्रधारा रोइन् आमा। किस्नमानले आमाको मुहारमा हेर्यो।
ऊ यसभन्दा अघि गाउँमा आउँदा स्वागत गर्ने छिमेकीले आज तिरस्कार गरे। यसअघि आउँदा अँध्यारो देखिने आमा आज सातौं पल्ट घर आउँदा उज्याली देखिइन्। आमाले भनिन्, ‘यो जिन्दगानीमा आज म दोस्रोपल्ट खुसी भएँ। पहिलो तँ जन्मेको दिन र आज तँ सधैका लागि घर बस्न आएको दिन।’
आमा भन्दै गइन्, ‘जहिलेसम्म तेरो विषयमा कोही सोध्न आएन, म ढुक्क थिएँ। तर जब छिमेकीहरुले बारम्बार चासो लिएर सोध्न थाले, मलाई शंका र डर लाग्न थाल्यो। जिन्दगीमा समय-समयमा ठेस लागिरह्यो भने बाटो सम्याउँदै अगाडि बढ्न सजिलो हुन्छ। तँलाई पनि बेलाबेलामा स-साना ठेस लागिरहेको भए जिन्दगी के हो भनेर चिन्न पाउने थिइस्।
तेरो दुर्भाग्य भन्नु कि मेरो सौभाग्य, तँलाई एकै चोटमा थचक्क पार्ने गरी ठूलै ठेस लाग्यो। तैँले पाएको मान तँलाई गरिएको थिएन। त्यो सबै पैसालाई गरिएको मनिता थियो। आज तैँले चिन्ता लिनु आवश्यक छैन छोरा। यो तेरो मान घटेको होइन, मान पाउने कुराले तँलाई छाडेर गएको मात्र हो। केही पनि बिग्रेको छैन। अझै पनि तेरा गाउँले दाजुभाइहरु यहीँ बसेर आफ्नो दु:ख गरेर खाएकै छन् र खुसी छन्। सहर पस्नेहरु गाउँ बस्नेभन्दा अतिशय खुसी र सुखी रहेको पनि थाहा पाइएको छैन।
किस्नमानको मानसपटलमा सारा घटनाहरु सिनेमा जस्तै घुम्न थाले। गाउँबाट काठमाडौं गएर व्यवसाय गर्ने धेरैजसो मानिसहरू सफल नै भएका छन्। परन्तु किस्नमानले समय सधै अनुकूल भइरहला भन्ने सोच्यो। पैसा खर्च गरेर ठूला भनिने मानिससँग संगत गरे आफू पनि ठूलो मानिस भइन्छ भन्ने भूलमा पर्यो किस्नमान।
पत्नी दाम कुमारी 'दामिनी'मा परिणत भई आफ्नो नाममा रहेको घरसमेत लिएर विश्वासिलो मित्र कामेच्छा विक्रमसँग पोइल गई। किस्नमानले त यो गाउँको सम्पत्ति बेचेर आमालाई पनि उतै लिएर जाने विचार गरेको थियो। धन्न आमाले अस्वीकार गरेको हुँदा आज आफ्नो पुर्खाको भूमिमा फर्केर आउन पायो।
किस्नमान पहिलो पल्ट आमाले नजा भन्दाभन्दै जिद्दी गरेर विदेश जाँदा आमाले नदेख्ने गरी रोएको थियो। दोस्रो पल्ट ऊ छोरी सुनेत्रा दृष्टिविहीन जन्मेको थाहा पाएर रोयो। आफ्नो नाटकीय जीवनको पच्चिस वर्ष पूरा गरेर जननी र जन्मभूमिको न्यानो काखमा फर्केको किस्नमान आज फेरि रोयो।