कविता
सपनाको संसारबाट लुसुक्क झरिन्
कल्पनाको लिस्नोका खुट्किला टेक्दै टेक्दै
मिलनको न्यानो स्पर्शको खोजीमा
मेरी कविता एका बिहानै झिसमिसेमा।
अपूर्णताको कठोर पदयात्राबाट
टुप्लुक्क आइन् घरको आँगनमा
रंगीन पुतलीका पखेटाका डोब पछ्याउँदै
सपनामा कल्पेको मायालु घरजमको खोजीमा
मेरी कविता एकाबिहानै झिसमिसेमा।
राउटेहरूको बथानबाट
सुटुक्क निस्किइन्
पुर्खाहरूको गन्धको गोहो पैलाउँदै
क्षुदा शान्तिको खोजीमा
मेरी कविता एकाबिहानै झिसमिसेमा।
दशगजा पारिबाट
रुझेकी बिराली झैं फुत्त छिरिन्
चौकीदारका लोलाएका आँखा छलेर
गिजोलिएको अस्मिता आफ्नै माटोमा सेलाउन
मेरी कविता एकाबिहानै झिसमिसेमा।
माथि आकाश मार्गबाट
सर्प समात्ने गरूड बेगमा झरिन्
दक्षप्रजापतिको संहार गर्न वीरभद्रका साथ
महाकाली प्रकट भएसरी
राक्षसहरू ब्यभिचार, अनाचार र दूराचार बध गर्ने मनसुवासाथ
मेरी कविता एकाबिहानै झिसमिसेमा।