प्लास्टिक र बोतल टिप्दै गल्ली-गल्ली हिँड्नु पर्ने
सडकका पेटी या मन्दिर बाहिर कालो रात काट्नु पर्ने
न आमा न बाबा साथमा, एक्लै जीवन जिउनु पर्ने
सारा आँसु चोटहरु आफै भित्र सिउनु पर्ने
दुखै दुःखमा छन् बालबालिका, छैन सुखको आश
भन्न त सबै भन्छन्- मनाऔँ आज बाल दिवस।
मरिन् आमा कोरोनाले, बाबा आइसियूमा होलान्
दाइ ढुंगा बालुवा बोक्दै, दिदी मेलापातमा होलान्
छोडिसके होला भेट गर्न नातागोता आफन्तले
गरिब भनी अपमान, हेला गर्दै होला समाजले
मर्दैछ यस्ता बालबालिकाको मन, कसले भर्ने श्वास?
भन्न त सबै भन्छन्- मनाऔँ आज बाल दिवस।
कापी किन्ने पैसा छैन, किताब कसरी लान्छन् होला?
स्कुल त जसोतसो गए, ट्युसन पढ्न त पाउँदैनन् होला
के गरी जुटाउने होला जुता, मोजा, ब्याग र पेटी
अहिलेसम्म चाखेको छैन कस्तो होला दाल, भात, रोटी
अनिकाल भोकमरीमा बालबालिका, कसले बुझाउने प्यास?
भन्न त सबै भन्छन्- मनाऔँ आज बाल दिवस।
टेबल सफा होटलको भाडाबर्तन माझ्ने काम छ
१२ घन्टा श्रम गरेको २० रुपैयाँ मात्र दाम छ
मालिकको लात्ती दिनहुँ, साहुको गाली घन्टै पिच्छे
प्याच्च भन्छ जसले भेट्छ 'यता आइज ओइ फुच्चे´
परिचय गुमाउँदैछन् बालबालिका, हुँदैछन् सबको दास
भन्न त सबै भन्छन्- मनाऔँ आज बाल दिवस।
धनी घरको छोराछोरी बोर्डिङ पढ्ने बालबालिका
शहरियाका एकल सन्तान साहु जमिन्दारका लालाबाला
इमेल, इन्टरनेट, टिकटक, युट्युब चलाउने ती हातहरु
कार, स्विमिङ पुल, पार्कमा रम्दै एसीमा कटाउने रातहरु
बालबालिका यी मात्र होइन, कहाँ छ होला अरुको बास?
भन्न त सबै भन्छन्- मनाऔँ आज बाल दिवस।
पर्चा, पम्प्लेट, नाराबाजी भाषण मात्र फुक्ने होला
हक,अधिकार र बालश्रम के हो? कानुनमा मात्र लेख्ने होला
एनजिओ, आइएनजिओ, संघ-संस्थाको चन्दा खाने काम मात्रै हो
हिंसा, अपमान, श्रमशोषण उस्तै हक,अधिकार नाम मात्रै भो
रुँदैछन् सारा बालबालिका, भोग्दैछन् अनेक डर र त्रास
भन्न त सबै भन्छन्- मनाऔँ आज बाल दिवस।
अशिक्षा, बलात्कार र यातना हुने आकाशिँदै छ घटनाहरु
कानुन, प्रशासन र कारबाही हुने विश्वास गुमाउँदैछन् जनताहरु
शक्ति, सत्ता, पैसा भएका नै शोषक, पीडक र चोरहरु
चर्को नारा र भाषणमै दबिए बाल हकहितका स्वरहरु
भोलिको सन्ततिको मुहार हँसाउने होला कसैमा त साहस
शिक्षा समृद्धि र शान्तिको आशामा मनाऔँ आज बाल दिवस
मनाऔँ आज बाल दिवस, मनाऔँ आज बाल दिवस।