म विनोद राई (नाम परिवर्तन)। ललितपुर जिल्लाको एउटा सामुदायिक विद्यालयमा कक्षा ८ मा अध्ययन गर्दछु। स्थायी घर खोटाङ जिल्ला, केपिलासगढी गाउँपालिका, वडा नम्बर २।
यसै वर्ष असार २० गतेबाट अनलाइन कक्षा संचालन हुने सूचना विद्यालयले प्रकाशित गरेको साथीहरुमार्फत थाहा पाएँ। हुन त गत वर्ष पनि विद्यालयले अनलाइन कक्षा संचालन गरेको थियो। कति धेरै जोडबल गर्दा पनि मोबाइल फोनको व्यवस्था गर्न नसक्दा अनलाइन कक्षा लिने मेसोमेलो मिलाउनै सकिनँ।
दैनिक ज्याला मजदुरीको काम गर्ने बुबाआमाले कम्तीमा पनि ८/१० हजार रकम जम्मा गरेर स्मार्टफोन किनिदिने कुरा पनि कहाँ सजिलो छ र! बिहान बेलुकीको छाक टार्न पनि पर्यो। अरु दुइटा भाइबहिनी पनि त छन्। मलाई मात्रै ल्याइदिएर पनि भएन। एउटा मोबाइल फोन त छ नि बुबासँग नोकियाको तर के गर्नु त्यसमा इन्टरनेट चल्दैन, पूरानो मोडेलको।
लकडाउनको कारणले कति लामो समयसम्म त काम नभएर बुबाममी पनि घरमै रहनु पर्यो। काम गरेको पैसा पनि ठेकदार अंकलले सबै दिनुभएको छैन रे। साह्रै अप्ठ्यारो पर्यो भनेर बुबाममीले ठेकदार अंकललाई पटक-पटक फोन गरेको मैले पनि सुनेको छु।
बुबाले 'केटाकेटीको अनलाइन कक्षा हुन्छ रे, मोबाइल फोन किनिदिन सकेको पनि छैन, अब त खाना खाने जोहो मिलाउन पनि गाह्रो भो ठेकदार साब, हाम्रो लिनुपर्ने रकम त छँदैछ, तपाईंलाई काम लाग्ने मान्छे नै हौँ क्यारे, तपाईंको खाएर भाग्दैनौँ, तपाईंलाई पर्दा सहयोग गरेकै हो, बाँचिराखियो भने आगामी दिनमा पनि गरौँला, अहिले हाम्रो अप्ठ्यारोमा सहयोग गर्नुपर्यो' भनेर अनुनय विनय गरेको समेत मैले राम्ररी सुनेको छु।
'यस्तो बेला मैले पनि साहूबाट कहाँ पैसा पाएको छु र दाइ, तपाईंलाई दिने। म आफैँ संकटमा छु, अहिले पैसाको कुरै नगर्नुस् बरु एउटा मोबाइल फोन छ, ब्याट्री त कस्तो छ कुन्नि केटाकेटीहरुले नयाँ नपाउँदासम्म गेमसेम खेल्थे क्यारे, स्क्रीन सानो भो ब्याट्री टिक्दैन एकछिन पनि भनेर अहिले नयाँ-नयाँ मोबाइल, ट्याब, ल्यापटप आदि पाएपछि त्यसै छ। आएर लैजानुस्। चल्छ होला अनलाइन कक्षा लिन,' ठेकदार अंकलले भनेको मैले समेत राम्रोसँग सुनेको थिएँ।
त्यसपछि मैले नै बाबालाई कर गरेर ठेकदार अंकलकहाँ गएर मोबाइल ल्याइदिन भनेँ। अर्को दिन बुबा अंकलकहाँ जानुभयो र ठेकदार अंकलका केटाकेटीले प्रयोग गरेर पूरानो भैसकेको मोबाइल लिएर आउनु भयो। मैले मोबाइल हेरेँ, बुझेँ, साँच्चै ब्याट्री डाउन भइसकेको रहेछ। रिचार्ज धेरै समय नटिक्ने, सानो स्क्रीन भएपनि जुम डाउनलोड गर्न मिल्ने रहेछ, मलाई त्यति नै त हो नि चाहिएको पनि।
त्यही नभएर गत वर्षको अनलाइन कक्षा सबै छुट्यो। भाइबहिनीले झगडा गरे भने पालैपालो पढौँला नि! त्यही पनि विद्यालयले दुई सिफ्टमा पढाउने भनेको छ। आजकल धेरैजसो सामुदायिक विद्यालयमा मेरो परिवारको जस्तै आर्थिक अवस्था भएका विद्यार्थी त पढ्छन् नि। सबैथोक सुबिधा भएका त गइहाल्छन् नि बोर्डिङ स्कुलमा!
अनि सरमिसहरुले पनि सकेसम्म त मिलाउनु हुन्छ नि रिजल्ट हुनेबेलामा एउटा घरबाट दुई वा दुईभन्दा बढी विद्यार्थी आउनेको नाम र पढ्ने कक्षा टिप्नु भएको पनि त्यसैअनुसार मिलाउन त होला नि!
अनलाइन कक्षामा नदेखेकोले त होला सायद गत वर्ष सरमिसले पास मात्रै गराइदिनु भएको। मभन्दा कमजोर जस्तो लाग्ने पनि धेरै नम्बर ल्याएर पास भएका छन्। हुन त तिनीहरुले अनलाइन कक्षा अनि रेडियो, टेलिभिजनका कक्षा पनि सुन्न हेर्न भ्याए कि! अनि युट्युब, गुगलमा सर्च गरेर पनि त नआएको कति कुरा त सिक्न सकिन्छ रे, सायद तिनीहरुले त्यसै पो गरे कि!
आफूसँग त केही थिएन त्यस्तो अनि कसरी आओस् त राम्रो नम्बर! धन्न पास त भैएछ। फेल त को पो भएको छ र! यसपटक भने बेलैदेखि अनलाइन कक्षा पढ्ने हो, नछुटाई पढ्ने अनि राम्रो गर्ने हो। गत वर्ष नि समयमै ठेकदार अंकलसँग कुरा गर्न पाएको भए पढ्न पाइन्थ्यो कि!
तर अहिले पो अंकलका केटाकेटीले नयाँ साधन पाएर फाल्तु मोबाइल मलाई दिएका होलान् नि! सद्दे त के दिँदा हुन्! यस्तो अप्ठ्यारो स्थितिमा बुबा-आमाले काम गरेको पैसा त नदिनेसँग के आश गर्नु। उल्टै यही थोत्रो मोबाइलमा लिनुपर्ने बाँकी पैसा कटाइदेलान् कि भन्ने डर!
असार १५ गते मोबाइल पाएँ। विद्यालयले दुई सिफ्टमा अनलाइन कक्षा हुने सूचना निकालेर कक्षा तालिका समेत प्रकाशित गर्यो। भाइबहिनीको पहिलो सिफ्टमा र मेरो दोस्रो सिफ्टमा हुने भएछ। क्या मज्जा! यसपालि त मैले सोचेअनुसार भइरहेको छ, पक्कै राम्रो गर्नुपर्छ, मेरो उत्साहको सीमै रहेन।
भाइबहिनीहरुलाई सहयोग पनि गर्न पाइने भो! तर विडम्बना! उनीहरुलाई पालैपालो चलाउन पर्ने भयो, एकदिन एउटाले अर्को दिन अर्कोले वा एक पिरियड एउटाले अर्को पिरियड अर्कोले। जम्मा चार पिरियड त हुन्छ, चालिस/चालिस मिनेटको।
साँच्चै बोर्डिङ स्कुलमा त दिनभरि पढाउँछन् रे त! त्यही पनि एक-एक घण्टाको पिरियड। अनि तिनीहरुको त हामीले पढ्ने जस्तो चालिस मिनेटमा आफैँ सकिने हुँदैन रे! खै कसरी हो!
उनीहरुले त विद्यार्थीसँग पैसा लिएका हुन्छन् नि, त्यो सुविधा पनि किन्ने होलान् नि, पैसा लिएपछि। राम्रो, धेरै बेरसम्म चल्ने, धेरै थोक गर्न मिल्ने, गृहकार्य समेत बुझाउन मिल्ने, यस्तै यस्तै होला नि। दिनभरि स्क्रीनमा पढ्न त गाह्रो होला है। दिनको चार पिरियड मात्रै पढ्दा त कसरी सबै पाठ पूरा होला फेरि। सरमिसहरुले सोचविचार गरेरै मिलाउनु भएको होला नि।
यो बेला अन्य सहज बेला जस्तो कहाँ हो र! हामी विद्यार्थी पनि त आफैँ सोधखोज गरेर सिक्न कोसिस गर्नुपर्यो नि, कतिपय नबुझेका विषयवस्तुहरु! आखिर यो त बैकल्पिक व्यवस्था न हो। जे होस्, यस वर्ष गत वर्षभन्दा सुधार हुनैपर्छ जस्तो लाग्छ। हचुवाको भरमा नम्बर दिनुहुँदैन होला, सरमिसहरुले पक्कै पनि।
असार २० गतेदेखि सार्वजनिक बिदाका दिन बाहेक ठिक १ बजेदेखि ४:१० बजेसम्म दैनिक ४ पिरियडका दरले अनलाइन कक्षा संचालन हुने तालिका थियो। विद्यार्थीहरुलाई जुममा जोडिनको लागि जुम आइडी दिइएको थियो। आठ वटा विषय अध्ययन गर्नुपर्ने हुँदा दुई दिनमा सबै विषयका कक्षाहरु सकिने गरी तालिका बनेको रहेछ। अब म अनलाइन कक्षा संचालन हुने दिनको प्रतिक्षामा बसेँ।
मसँग अब सबै कुरा थियो। गत वर्ष अनलाइन कक्षा लिएको साथीसँग मैले सबै कुरा सिकिसकेको थिएँ। उसैले भने अनुसार एनसेलको सिमलाई एक हप्तासम्मको लागि इन्टरनेट चल्ने अनलिमिटेड डाटा प्याकेज समेत लिइसकेको थिएँ। तर ममा एउटा पिर थपिएको थियो, के मेरा बुबाममीले हप्तैपिच्छे यही दरले रिचार्ज गरिदिन सक्नुहोला?
मेरो एउटा मात्रै चिन्ता त्यो रह्यो तर नियमित पढ्नुपर्ने भएपछि मजस्तै विद्यार्थीको लागि पक्कै केही व्यवस्था होला भन्नेमा म ढुक्क भएँ। म असार २० गते सुरुमा बिहान भाइको अनलाइन कक्षालाई सहयोगी त्यसपछि बहिनीको लागि सहयोगी भैसकेकोले मेरो कक्षामा जोडिन समेत सजिलो भयो। म निरन्तर उत्साहित नै भइरहेकै थिएँ।
पहिलो र दोस्रो दिन गरेर कक्षा शिक्षक तथा सम्पूर्ण विषयका शिक्षकहरुले अनलाइन कक्षामा बस्दा पालन गर्नु पर्ने नियमहरु, आफूले पढाउनुपर्ने विषयका पढ्नुपर्ने विषयवस्तु, अनुशासन, अनलाइन कक्षा लिनु पर्नाका कारण, बाध्यता यस्तै-यस्तै बताउनु भयो।
कक्षा ६ देखि अहिले पढ्ने गरेको विद्यालयमा पढेपनि कक्षा ८ मा पढाउने सरमिसहरु एक/दुईजना बाहेक मेरा लागि नौलो नै हुनुहुन्छ। विद्यालयमा देखे पनि बोलचाल अनि घुलमिल त्यति थिएन, आखिर भौतिक उपस्थितिमा विद्यालय नै कति दिन पो खुल्यो र गत वर्ष।
पहिलो वर्ष त म आफैँ नयाँ थिएँ, गाउँबाट भर्खर आएको। पहिलो र दोस्रो दिनको सरमिसहरुको प्रस्तुतिले नै मैले सम्पूर्ण सरमिसहरुको बारेमा लगभग एक किसिमको अनुमान गरिसकेको थिएँ। कोही एकदम कडाजस्ता, कोही साह्रै नरम अनि कोही समय परिवेश राम्ररी बुझेका जस्ता।
मेरो परिवारको एउटा मात्रै भाडाको कोठा छ, सहरमा। त्यसमा बुबाममी, भाइ बहिनी र म पाँचजना बस्छौँ। बेडरुम र किचन पनि त्यहीँ नै हो। धन्न! भाइबहिनी र मेरो अनलाइन कक्षा एकै पटक परेन। सुत्ने खाट नजिकैको बिजुलीको प्लगमा निरन्तर जोडिरहनु पर्छ मोबाइल। नभए त झ्याप्पै चार्ज सकिहाल्छ। हुन त चार्ज गरिरहेको बेला मोबाइल चलाउनु सुरक्षाको दृष्टिकोणबाट जोखिमपूर्ण हुन्छ भन्ने सुनेको पनि थिएँ, तर बाध्यता, मर्नुभन्दा बहुलाउनु निको भनेजस्तो।
अहिले पहिले जस्तो कहाँ काम छ र बुबाममीको पनि! धेरै जसो घरतिरै हुनुहुन्छ। सानी बहिनी सानै छ, कहाँ मान्दछे र भनेको! लामो समयसम्म शान्त पनि कसरी बसुन् भाइबहिनीहरु, विद्यालयमा गएर साथीहरुसँग खेल्ने, उफ्रने, चल्ने गरेजस्तो यहाँ अर्काको घरमा कहाँ पाइन्छ र।
बुबाआमा पनि त मेरो अनलाइन कक्षामा म जस्तै शान्त भएर कहाँ बस्न सक्नुहुन्छ र! उहाँहरुको पनि त आफ्नो छुट्टै संसार छ, पहिलेजस्तो काम पाइएको छैन, बचत छैन, आफ्नो थातथलो छोडेर कामको खोजीमा आउन परेको पीडा होला। बोल्दै नबोली त कसरी बस्नुस् भन्ने? नेपाली, सामाजिक अध्ययन, नैतिक शिक्षा जस्ता विषयको पढाइ हुँदा त चाख मानेर समेत सुन्नुहुन्छ, कहिलेकाहीँ। तर उहाँहरुलाई मलाई जस्तो न ध्यान दिएर बुझ्नु जरुरी छ, न आवश्यकता र बाध्यता नै।
कोही सरमिसहरु भिडिओ अन नगरेसम्म म जोइन नै गराउदिनँ र नगर्नेलाई सिधैँ जुमबाट रिमुभ गराइदिन्छु भन्नुहुन्छ। तपाईं नै कल्पना गर्नुहोस् त, यो घरायसी माहोलमा म कसरी भिडिओ अन गरेर पूरा कक्षाभर रहन सक्छु? न मैले मेरो बाध्यता सरमिससँग सेयर गर्न पाएको छु न सरमिसले गम्भीर भएर मेरा समस्या बुझ्नु भएको छ।
जो सरमिस भिडिओ अन गर्न अनिवार्य त गर्नुहुन्न तर सोधेको बेला तुरुन्तै माइक अन गरेर नबोलेमा मलाई ढाँटेर कक्षामा हाजिरीको लागि मात्रै जोडिएको भनेर रिमुभ गरिदिनु हुन्छ। म कसरी बोल्नसक्छु त्यो घरायसी माहोलबाट, बोल्न खोजिहालेँ भनेपनि फेरि पृष्ठभूमिमा हल्लाको आवाज छ भनेर उल्टै हप्काउनु हुन्छ।
मेरो समस्या त उहाँले पनि कहाँ बुझ्न खोज्नु भएको छ र! उहाँ पनि यो तिम्रो समस्या हो, मेरो होइन, कसरी व्यवस्थापन गर्नुपर्छ गर भनेर मलाई नै दोष थोपर्नु हुन्छ। म नाजवाफ हुन्छु। एकैचोटि भिडिओ अन र माइक अन गर्नपर्ने कक्षा त मेरो लागि अब अभिशाप नै हुन थाले।
कोही सरमिस जुम त पठनपाठन प्रत्यक्ष प्रसारण गर्नको लागि हो, गरेको गृहकार्य त भाइबरमार्फत पठाउनु पर्दछ भनेर भाइबर एप डाउनलोड गरेर कक्षाको समूहमा जोइन गर, म त्यहाँ गृहकार्य दिन्छु र जुन दिन गरेको हो त्यसै दिन पठाउनुपर्छ भन्नुहुन्छ। तर मेरो मोबाइलमा भाइबर एप्सको लागि पर्याप्त स्पेस नै छैन।
कक्षामा जोडिए पनि म ती सरमिसको नजरमा समेत अटेरी ठहरिएको छु। हो, कोही सथीहरु साँच्चै अटेरी पनि छन्। उनीहरुसँग सरमिसहरुले भनेजस्तो गर्न मिल्ने परिवेश र साधन दुवै छन् तर पनि गर्दैनन्। मैले त राम्रोसँग मेरा बुबाआमाको आर्थिक अवस्था र मेरो भूमिका राम्रोसँग बुझेको छु नि! तैपनि मैले अनलाइन कक्षामा अनेक खाले प्रताडना भोगेकै छु।
महङ्गो एनसेलको रिचार्ज गरेर दिनैभरि अनलाइन कक्षामा जोडिन मेरो जस्तो आर्थिक हैसियतको परिवारलाई यस्तो बढ्दो बेरोजगारीको बेला सजिलो छ र! त्यसो त नेपाल टेलिकमको सिम हुनेका हकमा सियूजीमा परिणत गरेर कति जिबीसम्मको इन्टरनेट चलाउन र त्यो समूहभित्र कुन्नि कतिवटा टेलिफोन कलसम्म निशुल्क गर्न पाइने व्यवस्था विद्यालयले मिलाएको छ भन्ने सुनेको भएपनि आफूसँग एनसेलको सिम छ, के गर्नु र! त्यसैले महङ्गो रिचार्ज दुरुपयोग गर्ने कुरा म कसरी सोच्न सक्छु। के गर्ने बुझ्नेले कुरा नबुझेपछि, यो मन त मेरो रुने नै भयो।
एकथरी सरमिसहरुले कहिल्यै कुनै किसिमको दबाब दिनुभएको छैन, अहिले घर नै तिम्रो विद्यालय र तिमी जहाँ जे अवस्थामा छौ त्यो नै कक्षाकोठा हो, त्यसैले तिमीहरुलाई जसरी सजिलो हुन्छ त्यसै गर। भिडिओ र माइक अनअफ गर्ने कुरा तिमीहरु स्वयंले जान्नुपर्छ। १२/१३ वर्षभन्दा सबैजना माथिकै छौ। तिम्रो कारणले अरुलाई डिस्टर्ब हुन नि भएन नि, केही अप्ठ्यारो पर्दा च्याट बक्समा मलाई मात्रै वा सबैलाई जानकारी गराउनुपर्ने विषय के हो लेख सकेसम्म मैले वा हामी सबै मिलेर सम्बोधन गर्न सकिने विषय रहेछ भने गरौँला।
दिएका कामहरु कापीमा गरेर राख, मिल्नेले पठाऊ, विद्यालय नजिक भएकाले सुरक्षित रुपमा विद्यालय गएर हप्ताका यी-यी दिनहरुमा कापी छोडिदेऊ, म परीक्षण गरेर राखिदिउँला। त्यो पनि सम्भव नहुनेले गरीराख कापीमा। नियमित विद्यालय खुलेपछि हेरौँला भनेर कति राम्रो परामर्श दिनुहुन्छ।
केही यस्ता सरमिसहरुको कक्षा बाहेक अब मलाई अनलाइन कक्षा उत्साहको विषय बनेन। यस्ता राम्रो सल्लाह सुझाव दिने सरमिसहरुलाई एकथरी साथीहरु यो-यो सरमिसको गृहकार्य त गरेपनि हुन्छ नगरेपनि हुन्छ, केही भन्नुहुन्न क्यारे भनेर पो लिन्छन् वा त्यसै भएर अरु सरमिसहरु कडारुपमा प्रस्तुत हुन परेको पो हो कि! सन्तान थरीथरीका भनेको यही होला सायद।
जे होस्, जस्तोसुकै घरायसी माहोलमा पनि माइक र भिडिओ अफ गरेर जेनतेन सरमिसले भनेको सुन्न बाहेक अनलाइन कक्षा मेरो लागि अब उप्रान्त उत्साहको विषय रहेन। त्यसो त भाइबहिनीलाई मेरो जस्तो पनि कहाँ गर्न सकियो र! भाइको कक्षा भएको बेला बहिनीको छुट्ने, बहिनीको भएको बेला भाइको।
बहिनी सानी भएर होला सायद उसले कक्षा लिन नपाएको बेला ऊ रोएर लिँदै गरेको भाइको कक्षाबाट भाइलाई छुटाएर बहिनीलाई जोडाएको छु, जुममा कति पटक। तर त्यहाँ पनि उही समस्या यति धेरै ढिलो जोडिएकी भनेर मिसले भन्दा बहिनीले असजिलो महसुस गरेको।
अनि नियमित नभएका भनेर भाइबहिनी दुवैले बेलाबखत सरमिसहरुको हप्की खान परेको देख्दा त अब यो अनलाइन कक्षा पढाउने व्यवस्था छिट्टै हटाएर विद्यालयमा भौतिक उपस्थितिमा नै कहिले कक्षा होला भन्ने दिनको प्रतिक्षामा पो छु म त, आजकल।
अनलाइन कक्षा सञ्चालन गर्ने भनिसकेपछि राज्यले न्यूनतम पनि यी-यी कुराको व्यवस्थाको सुनिश्चितता गर्नुपर्छ है नत्र हुने र नहुनेको बिचमा ठूलो विभेद हुन्छ भनेर किन नसोचेको होला? खाए खा, नखाए घिच् भनेजस्तो। कतिपय सरमिसको त देखाउन चाहेको विषयवस्तु देखाउन मिल्ने किसिमको डिभाइस छैन भन्नुहुन्छ, हामी विद्यार्थीसँग कसरी होस् त?
कम्तीमा हुँदै नभएकालाई त दिने प्रबन्ध गर्नु नि, राज्य त सबैको अभिभावक हो भनेर सामाजिक शिक्षा पढाउने सरले भन्नुहुन्छ तर कसरी? न मैले चाहेजसरी अनलाइन कक्षा लिन सकेको छु, न मेरा बुबाआमाले यस्तो संकटमा राज्यबाट केही सहयोग नै पाउनु भएको छ। पढ्ने एउटा, गर्ने व्यवहार अर्कै।
सुन्दैछु, काठमाडौं उपत्यकामा असोज १ गतेदेखि विद्यालय खुल्दैछन् रे! के मेरो विद्यालय पनि अब सरमिसहरु र विद्यार्थीहरुको भौतिक उपस्थिति हुने गरी खुल्दैछ? म त्यसकै व्यग्र प्रतीक्षामा छु। अहिले कोरोना सङ्क्रमण केही घटेको छ भन्ने तथ्याङ्कले देखाएको छ रे!
विद्यालय खुलेपछि पनि म तोकिएका स्वास्थ्य मापदण्ड पालना गर्न त कहाँ भुल्छु र। नाकमुख राम्रोसँग छोपिने गरी मास्क लगाउन, सामाजिक दूरी कायम गर्न अनि पटक-पटक हात धुन वा आफैँसँग सेनिटाइजर बोकेर पानी नहुँदा हात सफा गर्न त जानिसकेको छु नि।