यता अरबतिर खपिनसक्नु तातो बढेको छ। चालिस तल्ले भवन बनाउँदा बनाउँदै रिंगिएर भुइँमा बजारिन पुगेछु म। डाक्टरले अब केही घण्टा मात्र बाँच्न सक्ने घोषणा गरिसकेका छन्। हस्पिटलको बेडबाट मेरा अधुरा सपनाहरु अन्तिम पटक आँखाबाट बगाइरहेको छु।
छोरी बिनु यतिबेला म तिमीलाई सम्झिएर सबैभन्दा बिथोलिएको छु। मलाई अन्तिम चोटि टाटा गर्दै गर्दा भनेकी थियौ- 'बाबा मलाई डेरीमिल्क चकलेट ल्याइदिनू है?' मेरो काखमा लुटपुटिँदै भन्थ्यौ 'बाबा मलाई चिची-माम मनपर्छ नि।'
सानु भुन्टेले गालामा थपथपाउँदै भनेको थियो- 'ड्याडी, मनाई प्लेन न्याइदिनू।' तिम्रा ती स-साना रहर पूरा गर्न नसकेकोमा म विक्षिप्त भएको छु। परार घरमा आको बेला बिनु छोरी तिमीले बाबासँगै चुनु गर्ने भनेर हरदिन अंगालो हालेर सुतेकी थियौ। सानुबाबु तिमीले तातेताते गर्दै मलाई पछ्याएको, लाडिएर नाकमा म्वाईं खाएका क्षणहरु अब सबै-सबै समाप्त हुँदैछन् भन्ने कुराले बारबार मुर्छित भइरहेको छु।
यसपालि आएर बाको आँखा अपरेशन गर्ने धोको थियो। धमिलो हुँदै गएका आँखाले घाँसपात, मेलापात अनि अरुको काम सबै भ्याउन कति कठिन भको होला? मनमा सधैँ पीडा भइरहेको थियो। दिनरात कामको धपेडी र पसिनाले भिजेर फाटेका तिम्रा एकजोर कपडा पनि फेरिदिउँला भन्ने मनमा लागिरहेको थियो।
सधैँ रुखो खान्की मिठै मानेर खाइरहेको तिम्रो मुखमा दुई छाक मसिनो मिठो खुवाउँला भन्ने थियो। दमको रोगले थलिएकी आमालाई यो छुट्टीमा त जसरी नि उपचार गर्ने अठोट बनाएको थिएँ। पटपटी फुटेका आमाको खुट्टामा एकजोर जुत्ता लगाइदिन पाउँदा कति मन प्रफुल्ल भाथ्यो। बाआमाको मुहार हँसाउने इच्छा पनि अब यत्तिकै रहने भो।
प्रिय पारु, तिमीसँगै साथ बिताउने कसम खाएको भर्खरै पाँच वर्ष त पुग्दै थियो। धीत मर्ने गरी तिम्रो मायाको आलिंगनमा कहाँ रहन सकेको छु र? हिंजो राति म्यासेन्जरमा तिमीसँग अब कोरोना हटेपछि भेट हुने वाचा गरेको थिएँ। घर आएपछि हामी सबै परिवार एकचोटि पोखरा घुम्ने कुरा गरेका थियौं।
घर परिवार धान्ने पिरोलोले तीन वर्षदेखि माइती जान नसकेको गुनासो गरेकी थियौं। यो पटक आएर सपरिवार जसरी नि तिम्रो माइती जाने चाँजोपाजो मिलाउँला भनेको थिएँ। सबै जोरीपारिका अगाडि तिम्रो घाँटीमा एक तोला सुनको सिक्री लगाइदिने सोचेको थिएँ।
गाउँमा अब हाम्रो र आरानघरे साइला काकाको मात्र टकलक्क घर बाँकी रहेको बताएकी थियौं। अरुले राम्रो पैसा कमाएर कोही बजारतिर त कोही बेसीतिर झरिसकेको भन्दै थियौ। मैले पढेको प्राथामिक विद्यालयमा हाम्री बिनुसहित जम्मा ४ जना केटाकेटीले मात्र पढ्ने कुरा सुनाएकी थियौ।
विचरा, बिनुले अक्षर चिन्न पनि नसकेको कुराले असाध्यै पोलिरहेको छ। आगौं सालबाट त जसरी नि सदरमुकाम बजारमा कोठा भाडा लिएर छोराछोरीलाई बोर्डिङ स्कुल पढाउने सोचेको थिएँ। बुढा भइसकेका बाआमालाई अब सानो जमिनको टुक्रो किनेर बेसीमै छाप्रो हालिदिने विचार थियो।
मेरा साथी भाइहरुले यही परदेशमा आएर राम्रै प्रगति गरेका हुन्। सबैले बजारतिर घरघडेरी जोडेका छन्। छोराछोरीलाई राम्रा बोर्डिङ स्कुलमा पढाएका छन्। धेरै थोरै बैंक ब्यालेन्स पनि गरेका छन्। म पनि उनीहरुभन्दा बढी नै मेहनत गरेर हुर्किएको हुँ गाउँमा। पसिना बगाए नहुने के होला र भन्ठानेर अरब आएको थिएँ। साथी र शत्रुका अगाडि म पनि गरिखान सक्ने मान्छे हुँ भनेर चिनाउनु थियो।
भलिबल खेलेर चौतारीमा सुस्ताउँदा साथीहरुसँग धेरै सुखदुःखका बात मार्ने मन थियो। अझ धेरै साथीहरु जुटे लाँकुरीडाँडामा पिकनिक जाने रहर थियो। रमाइलो गर्दै पुराना संगीहरुसँग जीन्दगीको मज्जा लिने चाहना थियो। साथीभाइहरुसित रमाउने दिनहरु अब सकिँदैछन् भन्ने पीडाले आफूलाई सबैभन्दा अभागी प्राणी ठानिरहेको छु।
त्यसो त यो भौतिक शरीर हिजो विद्रोहताका पनि बालबाल जोगिएको हो। प्रिय साथीहरुले भारतमा लगेर समयमै उपचार नगराएको भए त्यही बेला नै जीवनको अध्याय समाप्त हुने थियो। मलाई पूर्णकालीन राजनीतिमा होम्ने कामरेड मन्त्री हुँदा म र मेरो वर्गप्रति गरेको उपहास खप्न नसकेर परदेश होमिएको थिएँ।
अस्ती मसँगै मार्चामा भिडेको साथीले पनि मन्त्री पद पाएको फेसबुक स्टाटस हेर्दा खुसी लागेर बधाई दिएको हुँ। तर तिमी पनि त पार्टी अध्यक्षको नातेदार नपरेको भए कहाँ त्यो पदको लायक हुन्थ्यौ र? त्यतिबेला मर्न डर नलाग्ने मलाई आफ्नै नेताहरुको हरकत हेर्दाहेर्दा आजभोलि निकै कातर हुन थालेको छु। सायद ती शहीदहरुको आत्माले पनि आफ्नो मृत्यूप्रति विलौना गर्दै होलान्।
चाहना त देशलाई न्यायपूर्ण र समृद्धशाली बनाउने भनेर तत्कालीन सत्ताविरुद्ध विद्रोहमा सामेल भएको हो। तर सोचेजस्तो कहाँ भयो र? उही पुरानो विरासत दोहोरियो। वर्गीय मुक्ति दिलाउने सपना बाँड्ने नेता कामरेडले राज्यमा कब्जा त जमाए। तर उनीहरु आफ्नो परिवारकै मुक्तितिर लागे। नातेदारको संरक्षण गर्न व्यस्त बने।
जिउहजुरी गर्ने चाकडीबाजलाई खुसी तुल्याउन थाले। कमिशन दिने दलालहरु उनीहरुका प्रिय पात्र बने। चप्पल लगाएर छिरेका कामरेडका राजधानीमा अजंगका महल ठडिए। हिजो निजी स्कुल बन्द गराउने नेताहरु आज आफ्नै लगानीमा ठूला निजी विद्यालय खोले। न समात्ने हाँगो न टेक्ने डाली भएपछि मजस्ता सोझा युवाहरु विदेशिनु नियति बन्न गयो।
यो अन्धाकारपूर्ण यात्रा कहीँ न कहीँ वियोगान्तमा टुंगिनसक्ने अन्दाज नभएको होइन। जीवनका करिब सबै बाटाहरु बन्द भएपछि परदेशतिर हेलिन पुगेँ। मलाई लागिरहेको छ- आजको यो दुर्दान्त परिस्थितिसम्म धेकेलिनुमा मेरो मात्र दोष छैन। दैनिक हजारौं युवाहरुलाई परदेशिन बाध्य बनाउने मेरो राज्यको दोष छ। अझ राज्यलाई कंगाल बनाएर आफ्नो दुनो सोझ्याउने मेरा नेताहरुको दोष छ।
यो मृत्युशय्यामा छट्पटाउँदै गर्दा महसुस भएको छ, आवेगमा आएर परदेशिनु गल्ती भएछ। आवेगले भरिएका हामी युवाजति विदेशिएपछि झन् देश लुट्नेहरुलाई छुट मिलेछ। देशमै मुठी बजार्न हामी जेनतेन अडिएको भए यति विकराल अवस्था आउने थिएन। बरु हामी एकजुट भएर कमिशनखोरहरुलाई नांगेझार पार्न सकिन्थ्यो।
अन्तिम श्वास फेर्न यतिबेला मलाई निकै सकस भइरहेको छ। धेरै चिजको अघोरै माया लागेर आएको छ। मैले आफ्नै देश सम्झिरहेको छु। आमाले देखाएको मेरो जन्मथलो आँगनी सम्झिरहेको छु। मलाई देखेर लुटपुटिने काले कुकुर, सुरीसुरी गर्दा म्याऊ गर्दै पछि लाग्ने छिम्के बिरालो, बाह्रमास दूध दिने गुनिलो भैसी सबै-सबैको औधी याद आइरहेको छ।
घरमुन्तिर चिसो पँधेरोमा अब कहिले नुहाउन पाउँला? पिपलडाँडा तीजको मेलामा अब दिदीबहिनी, फुपूसँग कहिले नाच्न पाउँला? बिन्दु, सीमा र यामुसँग अब कहिले बजार जान पाउने भएँ र? मित्र छमु र हिरासँग आउने दुई वर्षमा एउटा चिज जितिछाड्ने बाजी लगाएको थिएँ। माफ गर, म त्यो बाजी जित्न सकिनँ, तिमीले जित्यौ।
सन् १८१६ को सुगौली सन्धी आसपासबाट नै विदेशिने परम्परा जारी छ। कहिले ब्रिटिस आर्मीमा कहिले भारतीय आर्मीमा भर्ती हुने सिलसिला आज पनि कायमै छ। दश वर्षे द्वन्द्वपछि त रोजीरोटीका लागि विदेशिने लहरले सबै रेकर्ड तोडेको छ। आजको विश्वमा काम गर्न नेपाली नपुगेको देश सायदै होला।
संसारका आधाभन्दा बढी देशमा काम गर्न जाने अनुमति त सरकारले नै लिइसकेको छ। रेमिट्यान्समा टिक्ने अर्थतन्त्रवाला देशहरुको सूचिमानेपालले माथिल्लो श्रेणी भेट्टाइसकेको छ। देशका गाउँ-सहर सबैतिर रित्तो पारेर युवा जति विदेशितर ओइरिएका छन्। आजभोलि गाउँघर सुनसान र विरक्त भएको छ।
चाहे राम्रो देश होस् या कमशल देश। नहेपिकन काम नेपाली श्रमिकले गर्न पाएको कहाँ होला र? खाडी मुलुकमा यो हेपाइ र चेपाइको घनत्व झन् तीव्र छ। दैनन्दिन श्रमिकहरु फुतुफुतु आफ्नो अमूल्य प्राणपखेरु समाप्त गरिरहेका छन्। कयौं घाइते अपांग बनिरहेका छन्। तर हाम्रा दुःखकष्ट, पिरमर्का र यी अविरल झरिरहेका आँसुको मूल्य बुझ्ने को नै छ र?
त्रिभुवन विमानस्थलमा दिनदिनै लाम लाग्ने श्रमिकको कफिनले कसलाई असर गरेको छ र? कफिनको लाइनमा जाबो एउटा बाकस थपिँदा कसलाई के नै फरक पर्ला र? म त्यही अज्ञात लाइनको कुनै कफिनमा मातृभूमि पुग्नुपर्ने एक विवश नेपाली हुनुपर्दा खग्रास भएको छु।
आखिर जीवनको अन्तिम प्रहरमा छियाछिया बनाउने आफ्नो परिवार नै रैछ। भौतिक रुपमा टाढा भएपनि हाम्रो परिवारलाई खुसी राख्न कयौं सपनाहरु बुनिरहेको कुराले निकै घोचिरहेको छ पारु। तर यता आउँदा लिएको ऋणको भारी पनि तिमीहरुलाई बोकाएर जाने भएँ।
टुहुरा मुटुका टुक्राहरुलाई कसरी हुर्काउली? जीर्ण बन्दै गएका बा-आमालाई कसरी चित्त बुझाउली? अघिल्लो चोटि आउँदा नानीबाबु र तिमीसँगै खिचेको यो प्रिय तस्वीर हेरेर संसार छोड्दैछु। सक्छौ भने मलाई माफ गर ल, अलबिदा!