रात कट्दै छ सुनसान अनि अन्धकारमा,
छेउमा चुरोट छ, अनि तिम्रो एक पत्र,
मौन छु म, तर भित्र चिच्याइरहेछन् मेरा भावनाहरु,
आँखामा भाव शून्य नै छन्, कतै विगतमा हराए जस्तै,
शून्यमा बिलाउला जस्तै अन्धकारले ढाक्दैछ मलाई भित्र आत्मादेखि नै,
उज्यालोको खोजी गर्न सक्ने हालतमा छैन म,
तर अन्धकारसँग डर भने उत्तिनै लाग्दै छ,
निल्छ कि झैँ गर्छ यो अन्धकार, भित्र मनको अन्धकार,
भावशून्य झैँ भएर मौन छ यो मस्तिष्क
जसरि झगडापछि मुख फुलाएर बसेको कोही आफ्नो जस्तै,
छेउमा च्यातिएका केही पत्रहरुले विष घोल्दैछ यो कमजोर मनमा,
एक्कासी भक्कानिन्छ एक्कासी सिथिल हुने गर्छ,
बेहोसीमा मात्तिए जस्तै, मातौ झैँ नि लाग्छ,
या त मन शान्त गर्न कतै गैदिउँ पनि लाग्छ,
तर एकछिन लाग्ने मस्तिष्कको सोचभन्दा,
विद्रोह गर्ने मुटु, भत्किँदै छ,
भुइँचालोले भत्काए जस्तै विस्तारै विस्तारै,
तर भग्नावशेष हेर्दै फेरि विद्रोह गर्न खोज्दै छ,
जसरी समुन्द्रमा विद्रोह गर्ने सुनामी जस्तै,
आँखाबाट बर्सिरहेका छन् केही बादल बिनाका वर्षातहरु,
तर रुझ्दैछ यो वर्तमान, विगतका बादल मडारिएर बर्सदैछन्,
अब केही दिन यसरी नै झरी पर्नेछ,
केही दिन यसरी नै भुइँचालो जाने छन्,
केही दिन यसरी नै रात ननिदाइ बित्नेछन्,
तर भत्किएका हरेक भग्नावशेषलाई फेरि नयाँ तरिकाले बनाउनु छ,
फेरि नया सुरुआत गर्नुपर्ने छ,
तर यो मुटु अझै विद्रोह गर्दैछ,
छेउको तिम्रो चिठी र चुरोट मलाई नै हेर्दै छन्,
अनि म लुक्न सकिरहेको छैन,
यसरी नै बित्दैछन् आजकाल मेरा रातहरु।