चाँडै सुतौँ या ढिला, उठ्ने समय बिहानको नौ बज्ने गर्थ्यो। तर त्यो दिन बिहानको पाँच बजे नै निन्द्राले छोडेको देख्दा आफै अचम्ममा थिएँ। मर्निङ वाक जान ज्वरो आउने मलाई त्यो दिन किन-किन मर्निङ वाक जाने रहर जाग्यो।
हत्तपत्त उठी फ्रेश भएर मर्निङ वाकलाई तयार भएँ र निस्किएँ पशुपतिनाथको एक चक्कर लगाउन। यो चुलबुले मन बाटोभरि तर्क बितर्क गर्दै हिँड्न थाल्यो। सायद आज पशुपतिनाथले उठाएका थिएँ मलाई दर्शन गर्न आइज भनेर। अनि पो म चाँडै उठेँ नत्र यति चाँडै कसरी पो उठ्न सक्थेँ!
तीन/चार पटकको अलार्म राख्दा त बन्द गरेर सुत्ने मान्छे म आज एकाएक यस्तो हुँदा कसरी मन शान्त हुन सक्छ भन्दै हिँडिरहेँ। जब पशुपति पुगेँ, थाहा भयो कि कोरोनाको कारण मन्दिर बन्द छ तर खैर म यत्तिकैमा त्यहाँबाट मोडिएर गुहेश्वरी मन्दिर परिसरबाट उकालो लागेर पशुपतिनाथलाई एक चक्कर लगाएर आएँ।
कोठामा आइपुग्दा सात बजेछ। चाँडै उठे नि नउठे नि खाना त खानै पार्यो भन्दै खाना बनाउन थालियो। केटा मान्छेको भान्सा उही त छिटो छरितो गुन्द्रुक र भात।
अझै थाहा छैन किन? आज बिहान उठेदेखि मन चुलबुल चुलबुल थियो, सोच्दै थिएँ। यत्तिकैमा एकजना मित्रको कल आयो र कल रिसिभ गरेँ।
'हेलो!'
साथीले प्रश्न गर्यो, 'तँ कहाँ छस्?'
मैले भनेँ, 'रुममा छु, म बेरोजगार कता नै जान्छु जस्तो लाग्यो तँलाई?'
साथीको अर्को प्रश्न, 'ल ल, पुतलिसडक आइज त्यतै चिया खाँदै गफ गरौँला।'
मैले नि छोटो उत्तर दिँदै 'ओके' भनेर कल काटिदिएँ।
हामी दुवै केटाकेटीदेखिको साथी र अहिलेसम्म हामी बेरोजगार नै थियौँ। सायद यसै कारण यति धेरै कुरा मिल्थ्यो हाम्रो। करिब एक घण्टापछि करिब मध्याह्न एक बजे हामी जहाँ भेट्ने भनेका थियौँ। त्यही भेट भयौं र शंकरदेव क्याम्पस गेटबाट चिया पसल तिर लाग्यौं।
चिया पसले साउजी चिनेका थिए र हामी बेरोजगार जतिबेर बसे नि खासै मतलब गर्दैन थिए। हामीलाई पनि सहज हुन्थ्यो बस्न। जे होस त्यहाँ गैसकेसी चिया र चुरोट नखाई फर्कदैन थियौँ। यसैलाई निरन्तरता दिन साहुजीलाई भन्यौँ र हामी आफ्नो वार्तामा बस्यौँ।
म: किन आज अपर्झट बोलाइस्?
साथी: यार एक्लै बोर भएर नि!
म: तेरो बोर हटाउन म आइदिनु पर्ने? त्यही नि म बेलुका तिर निस्की हाल्थेँ नि।
साथी: होइन के बेरोजगारी जिन्दगी तनाव भो के?
म: मलाई चाहिँ आनन्द छ र?
साथी: केही उपाय लगान बिजोग भैसक्यो?
म: आफै त महादेव के उपाय लगाउनु?
साथी: सँगैका साथीहरु हेर्त फलानो विदेश गएर पैसा छाप्या छ, अर्कोले लोकसेवामा नाम निकालेर जिन्दगी बनायो अनि त्यो हामीसँग पढ्दा तेरो कपि सारेर पास हुने फलानो खुङ्खार राजनीति गर्छ। त्यो हाम्रो एन्टी थियो नि, त्यो नामी व्यापारी छ। मलाई केही गर्न नसकेर तनाव भाछ।
म: मलाई चाहिँ हाइसन्चो छ र? खुब आफैलाई मात्र तनाव भाको जस्तो। अरुको के मतलब आफ्नो सोच् के।
साउजी: लाऊ भाइ चिया।
हामी: धन्यवाद दाइ।
साउजी: कति वटा चुरोट दिउँ?
साथी: अहिले एउटा दिराख्नुस्।
म: तँ नि जा न त विदेश।
साथी: जान्नँ।
म: त्यसो भए लोकसेवा पढ् या व्यापार गर्।
साथी: व्यापार गर्न पैसा छैन के अनि लोकसेवामा कहिले नाम निस्किन्छ कसले भन्न सक्छ त्यसमाथि लोकसेवाको अदालती तनाबको तँलाई जानकारी नै छ।
म: छोड्दे यस्ता कुरा, चुरोट सल्का चिया सेलायो बरु।
साथी: अब प्राइभेट जब भए नि गर्छु म।
म: कसले? तेरो बाले लगाइदिने भए मेरो लागि नि सिफारिस गराइदे।
साथी: खोज्ने नि, पाइहालिएला नि।
म: हराको थिइस् र पाउन? भन्ने बेत्तिकै कसले दिन्छ?
साथी: यो पनौती जिन्दगी कहिले सकिन्छ?
म: जागिर खाको दिन
साथी : कहिले खाने जागिर?
म: हाम्रो नि दिन आउला नि।
साथी: कहिले आउँछ? मरेपछि?
म: त्यो त मलाई के थाहा?
साथी: राज्यले खालि बेरोजगार युवालाई राहत प्याकेज, राहत प्याकेज भन्छ सब आफ्नै कार्यकतालाई रैछ।
म: थाहा रैछ त अनि के हाम्रो पार्टीको सरकारले यस्तो गर्छ र उस्तो गर्छ भनेर हिँड्या?
साथी: कतै खर्चको जोहो भैहाल्छ कि भनेर।
म: खुब! अहिलेसम्म त्यो जोहोले कति महिनाको कोठा भाडा तिरिस्?
साथी: त्यो त छैन।
म: अनि?
साथी: अब यसरी भएन, केही उपाय लाउनुपर्यो?
म: के उपाय लगाउने? खुरुक्क पढ्! लोकसेवा पास गर् अर्को विकल्प छैन।
साथी: त के गर्छस्?
म: म जसो-जसो डम्फु उसो-उसो नाच।
साथी: बुझिनँ मैले।
म: लोकसेवा पास गर्न नसके विदेश अर्को के हुनु? घर जाउँ बाउको जग्गा छैन हलो जोत्न।
साथी: ल ल लोकसेवामै कस्सिउँ, बरु किताब किन्ने पो कसरी?
म: एउटा किताब तँ किन, एउटा म किन्छु अनि मिलेर पढौँला है?
साथी: ओके डन।
म: खुरुक्क चिया चुरोटको पैसा तिर् तैँले बोलाको त होस् नि।
साथी: अबदेखि चुरोट छोड्दिम है?
म: ओके डन।
साथी: ल जाउँ कोठा।
म: ल बाई।
साथी: बाई।
कोठामा पुगेर मनन गर्न थाल्छु, वास्तविक बेरोजगारी समस्या राज्यले सुन्दैन किनकि ती बेरोजगार राजनीतिक दललाई खाँचो छ, जसले उनीहरुको मुद्दामा टाउको थाप्ने छ्न्। खै! राज्यले बर्सेनि बेरोजगारी दर निकाल्छ, मलाई कुनै कोणबाट सोधपुछ गर्या छ र? आखिर मेरो लागि राज्य कहाँ छ? मैले राज्यबाट के आशा गरौँ? मैले स्नातक सकेर के गरेँ? स्नातक पनि जसोतसो सक्या हो, स्नातकोत्तर गर्न मसँग पैसा खै?
आखिरमा जीवन नै ठूलो त हो। पैसा कमाउँ पढ्न सकिन्न! पढौँ पैसा बिना भोकै मरिन्छ। अबको उत्तम विकल्प भन्या वैदेशिक रोजगारी नै हो। आखिर समाजले नि ज्ञानी र शिक्षितको योग्यता र मर्यादा बुझ्दैन बरु धन-सम्पत्ति र पैसालाई सफलताको सबैभन्दा उच्च सूचक मान्छ। अनि त समाजमा जो दलाल छन्, जो फट्याइँ राजनीति गर्न जान्दछन्, जो वैदेशिक रोजगारीमा छन्, जसरी होस पैसा कमाउन जान्दछन्, उसैलाई उच्च सम्मान सहित समाजले पूज्छ।
हामी जस्तो व्यक्तिबाट न फट्याइँ हुन्छ न अख्तियारको दुरुपयोग। अनि यही कुराको मध्यनजर गर्दै सबभन्दा उत्कृष्ट रोजाइ वैदेशिक रोजगार बन्न पुगेको छ। यसको शिकार अबको युवा पुस्तामा झन् देखिँदै जानेछ। राज्यले समस्या नकेलाई रेमिट्यान्स देख्नु दुःखद् कुरा हो।