बिहान सूर्यको सुनौला किरणसँगै पृथ्वीमा लाली छाइसकेको थियो। शिशिर ऋतु अस्ताउँदै थियो। किरणहरु बाक्ला र तेज हुँदै थिए। दुबोको टुप्पोमा झुन्डिरहेका शीतहरु पार तापिरहेका थिए।
म प्रकृतिको मनोरम दृश्यको आनन्द लिइरहेको थिएँ। डाँडाबाट तल लामो नदी देखिन्थ्यो। कञ्चन, निलो। पर पाहाडहरु थिए। सुन्दर, हरियाली। धेरै टाढा अग्ला हिमालहरु देखिन्थे। अनुपम, सेता, टल्किएको। डाँडाबाट तल मुखियाको दरबार देखिन्थ्यो र मेरो घर पनि। अनौठो लाग्दो।
अलि पर चौतारी पुगेँ। ढाकाको भोटो लगाएको रेडियो झुन्डिरहेको थियो। रेडियोमा भने 'धानकै बाला झुलाउला मायालाई भुलाउला...' भन्ने गीत घन्किरहको थियो। मुखियाको छोरो हरि र उसको साथी राम बहादुर गुनगुनाउँदै, रमाउँदै थिए।
अलि पर पुगेपछि मुखियासँग जम्काभेट भयो। मुखियाको अनुहार खुसी नै देखिन्थ्यो। मैले मुखियालाई हेरिरहेँ। उनको आँखाले केही भन्न मलाई आमन्त्रित गरेको पूर्वाभास भयो। म विस्तारै हिँडिरहेको अलि जोडले हिँडेर उनको नजिक पुगेँ।
मैले उनलाई साधेँ, 'सञ्चै हुनुहुन्छ मुखिया बा?'
जवाफ आयो, 'शरीर सन्चो छ, मन भने अलि बेचैन। सुनिरहेको छु, गाँउ-सहरमा विद्रोहको आवाजहरु गुन्जिन थालेको छ अरे बाबू।'
म उत्तर सुनेर अचम्मित भइनँ। प्रतिप्रश्न गर्न पनि मन लागेन। हामी डाँडामा हिँड्दै नै थियौं। किन आज दरबारको चमक हराएको झैं देखिन्छ? मनमनै आफैलाई सोधेँ। मुखियालाई सोधुँ नरमाइलो मान्लान्। भो नसोधुँ होला? आकाशमा हेरेँ धेरै कालो र केही सेतो बादलले बेरिएको रहेछ। लाग्यो सायद, बादलको छाया प्रत्यावर्तित भएर होला कि?
यत्तिकैमा आकाश गड्गडाउन थाल्यो। प्रकाश चम्कियो। बादलको बिचबाट चट्याङको धर्साले पृथ्वीलाई थर्काउन थाल्यो। चट्याङ दरबारकै तल बज्रियो। हामी हेरेको हेर्यै भयौँ। दरबार आधा लडिसकेको थियो। आगोको ज्वाला दरबारको बिचबाट दन्किन थाल्यो।
हामी दौडिँदै हस्याङफस्याङ तल झर्यौं। मुखियाको जेठो छारो र अर्धाङ्गिनीको देहान्त भइसकेको थियो। हरि पनि तल आइपुग्यो। दरबार शोकाकुल हुन पुग्यो। मुखिया चिच्याउँदै कराउछन्, 'कसको आँखा लाग्यो यो दरबारमा? किन यति ठूलो बज्रपात भगवान?'
पर बाजागाजाहरुको आवाज सुनिन थाल्यो। हुल मानिसहरुको ठूलो आवाज पनि। भत्केको दरबार वरपर जुलुस आइपुगे। मानिसहरु रंगीबिरंगी थिए। कोही रातोले पोतिएका, कोही हरियोले। कोहीको हातमा राँकिएको मसाल थियो, कोहीको हातमा विभिन्न पर्चाहरु थिए। लाग्थ्यो, मुखियाको दुःखमा कसैलाई अपसोच थिएन।
जुलुसको एक मानिस मुखियाको कठालो समात्यो र मुर्छा परेर आँखामा आँखा जुधाई हाँस्न थाल्यो। राम बहादुर पनि त्यही भिडमा रहेछ। जोडले ती मानिसलाई तान्दै राम बहादुर भन्यो, 'बुबा, मुखियालाई छोड्नुस।'
राम बहादुरको बुबा अझै जोडले समाते र भने, 'मुखिया साब! तिमीले हामीलाई धेरै दुःख दियौ।'
जुलुसको अघिअघि एक टोली मानिसहरु उफ्रिँदै थिए। तिनीहरु भिन्न-भिन्न देखिन्थे। सबैले मुकुट लगाएका थिए। मलाई यिनीहरु को होलान् भन्ने खुल्दुली लागिरहेको थियो। लाखेहरु एकपछि अर्को गर्दै नाच्दै उफ्रिँदै थिए। गाउँलेहरु पनि उनीहरूको पछाडि-पछाडि जाँदै थिए।
मलाई भने लाखेहरु को होलान् भन्नेमा जिज्ञासा तीव्र हुँदै गइरहेको थियो। केही समयमा नै गाउँलेहरु अलिकति पर ठूलो चौरमा जम्मा भए। लाखेहरुले मुकुट खोले। लाखेहरु सबै भिन्नभिन्न देखिन्थे। कोही अलि गोरा थिए। कोही अलि कम। कोही कपाल पालेका थिए। कोही छोटो कपाल माथि तिर ठड्याइएका थिए। मुकुट खोलेपछि सबैजना गाउँलेहरुलाई आफ्नो आफ्नो कुराहरु सुनाउँदै थिए। मानिसहरु भने ताली पिट्दै।
हेर्दा लाग्थ्यो, सबैको आफ्नो-आफ्नो तर्कहरु छन्। गाउँलेहरू अलमलमा थिए। कसले भनेको ठिक हो बुझ्न धेरैलाई गाह्रो भइरहेको अनुमान गर्न सकिन्थ्यो। त्यहीबेला कुनै समूहले ताली पिट्यो। बाँकी सबै त्यस्तै गर्न लागे। तर अरु लाखे निन्याउरा देखिन्थे।
अनुहार हेर्दा कोही रिसाएको जस्तो पनि देखिन्थ्यो। विद्रोह मथ्थर हुँदै गइरहेको थियो। राज्यसत्तामा एकपछि अर्को तिनै लाखेहरु छन् भन्ने सुनिँदै थियो। मुखिया उदास र अलमलमा थिए। उनको घरमा काम गर्नेहरुलाई बोलाउन छोडिसकेका थिए। राम बहादुर र उनको परिवार भने आफ्नो ज्याला गर्ने ठाँउ खोज्दै थिए।
समय धेरै बितिसकेको थियो। पन्ध्र वसन्त कटिसकेका थिए। नदी, पहाड, हिमालहरुले रंग फेरिसकेका थिए। निलो नदीहरु धमिलो देखिन्थ्यो। हरिया पहाडहरु भत्किँदै गरेको पहेँलो उजाड। सेतो हिमाल कालो, नांगिँदै गरेको। सूर्य पनि तेजिलो थियो। पृथ्वीले पनि आफूलाई अस्थिर बनाइरहेको थियो।
भत्केका घरहरुको भग्नावशेष पनि बाढी-पहिरोले बगाइसकेका थिए। हेर्दा लाग्थ्यो प्रकृतिले करुणालाई बिट मारिसकेको छ। रंगी बिरंगी मानिसहरु पनि एकै रंगमा एकाकार भइसकेका थिए। मानिसहरु पनि आक्रोशित स्वभावका देखिन्थे। सबै मेरै गोरुको बाह्र टक्का भने झैं आफ्नो कुरा मात्रै ठिक भनिरहेका हुन्थे।
राम बहादुर खोज्न गाँउ पसेँ। चौतारोमा रेडियो झुन्डिरहेको थियो। रेडियामा ढाकाको भोटो हराइसकेको थियो। रेडियोमा प्रदेशीको गीत घन्किरहेको थियो। एकजना वृद्ध महिला चौतारोमा बसेर टोलाइरहेकी थिइन्। नजिक पुगेँ। राम बहादुरकी आमा थिइन्।
राम बहादुरका बुबा महामारीमा बितिसकेका थिए। अवस्था भने झन् विषम् र निराश। भनिन्छ, दुःखमा जब निराशा थपिन्छ पीडा दोब्बर हुन्छ। मुखियाको बारे जान्न मन लाग्यो। उनलाई खोज्न तर्फ लागेँ। मुखिया सहर पसेको धेरै भइसकेछ। उनी समानुपातिकमा सांसद रहेछन्। लाग्यो 'समयले यो पन्ध्र वर्षमा दुई पटक कोल्टो फेरिसकेको रहेछ।'