म फाँचामा आइपुग्न
कति प्रकृयाबाट हुँदै आएँ
मलाई राम्ररी थाहा थियो।
प्रकृतिको अनमोल क्रियाबाट
यहाँ आएर बसेको
त्यो अबोध बाछाको
पोषणका लागि हो भन्ने
मलाई राम्ररी थाहा थियो।
म लालायित थिएँ
त्यो शिुशुको भोक-तिर्खा मिटाउन
तर,
म अनजान थिएँ, बेखबर थिएँ
मलाई दैँदै दुहेर लैजानेछन्!
मलाई लगे...
म अनभिज्ञ थिएँ
अगाडि मलाई के-के गर्ने हुन्?
दन्दन् बल्दै गरेको आगोमा
कराही राखेर खललल मलाई हाले
तापबाट बाच्ने मेरो केही उपाय थिएन
जति ताप बढ्यो, मलाई पोल्दै गयो
म आत्तिदै गएँ
सकिनँ अग्निको ज्वाला सहन
म उम्लिएर बाहिर निस्किन
प्रयत्न गरें
मानिस धेरै चतुर
अग्निको राप कम गरेर
फेरि मलाई कराहीभित्र नै हाले।
म जलेरै मर्छु भन्न पनि
म स्वतन्त्र थिइनँ
केही क्षणमा
मलाई सेलाए
अब कष्ट सक्यो भन्ने आशामा
शीरमा रक्षा कवचको परत बनाएँ
कठै! यो परतको पनि पार लागेन
त्यही परतलाई छानेर लगे
मलाई नाङ्गो बनाइदिए।
मलाई फाँसी लागेको आभास भयो
जब हण्डीमा मलाई कैद पारेर
माथि झुण्डाए।
मैले थाहा पाएँ
मेरो यात्रा अझ कष्ट हुनेछ
म तरलबाट ठोस् हुन लागेँ
मैले रूप नै बद्लिएँ
आफ्नो रक्षाका लागि
स्वतन्त्रताका लागि।
यो उपाय पनि व्यर्थै गयो
ठूलो ठेकीमा हाले
मदानीको प्रहारले
मेरा अंगहरू छिया-छिया भए
आफैंलाई चिन्न
आफैंलाई कष्टमा पाएँ
मलाई कुटे, जबसम्म
मेरो रगत डल्ला नभई
माथि तरिएन
मेरो पीडाको यात्रा यहाँ कहाँ सक्यो र?
मलाई फेरि तातो कराहीमा चढाए
पुनः तापमान बढाउँदै
मेरो रंग-रूप फेरिने गरी
मेरो अस्तित्व नै गुमाइदिए
म सेतो दूधबाट
पहेँलो अमूल्य घिउ
भएर निस्किएँ।