एउटा अन्तयहीन युद्ध लड्दै थिएँ
मौनतासँग
केवल भावनाको हतियार लिएर
सुख, शान्ति, तन, मन, धन
सर्वश्व लुटाएँ
तर पनि म युद्ध हारेँ
मेरी प्राणप्रिय सङ्गिनी गुमाएँ
यमराजसामु झुकेँ र विवश भएँ म
कटुसत्य मृत्युलाई स्वीकार्न
पानी बिनाको माछा
सुगन्ध बिनाको फूल
र चमक बिनाको ताराजस्तै
निर्जीव भएछु
अर्धमृत भएछु
म त तिमीबिना जोगी भएछु
खै किन अहिले पनि
म जीवित नै छु
मभित्र आत्मा छ
र एकमुठ्ठी सास बाहिरभित्र
लुकामारी खेल्दै छ
जबकि म पनि तिमीसँगै
यो देह परित्याग गरिसकेँ
जुन दिन मौनतासँगको त्यो युद्ध हारेँ
र तिमीलाई गुमाएँ
उ हेर मलाई देखेर ऐना पनि अट्टहाँस हाँस्दै छ
मेरै छाया मलाई हेर्दै गिज्याउँदै छ
अब त यो सारा दुनियाँ
मलाई बिरानाो लाग्न थालेछ
शून्यतामा एउटा काँडा बिझ्न थालेछ
तिमी बिनाको जीवन के जीवन
तिमी बिनाको प्रेम के प्रेम
अझै मेरो मनमन्दिरमा तिमी नै छौ
तिमी मलाई छोडी गयौ त के भयो
मैले फेर्ने हर सासमा
तिमी नै तिमी छौ
हो, तिमी मसामु छैनौ
तर तिम्रो मुस्कान मेरो ओठमा मुस्कुराइरह्नेछ
तिम्रो हात मसँग छैन
तर तिम्रो साथ मेरो साथ सधैं-सधैं रह्नेछ
अब तिमी र म जुनेली रातमा
सँगसँगै तारा गन्नेछैनौँ
सिमसिमे पानीमा रुझ्दै
प्रेमिल गीत पनि गाउँदैनौँ
तर तिम्रो स्पर्शले मलाई
सधैं तिम्रो आभास गराइरहनेछ
मेरो तिमीसँगको अस्तित्व सम्झाइरहनेछ
तिम्रा सुन्दर मुस्कानहरु
तिम्रा कोमल स्पर्शहरु
त्यो प्रेमिल शब्दहरू नै काफी छ
यो शेष जीवन कटाउन
तिमीसँग बिताएका
ती मिठा पलहरु
र ती अविस्मरणीय यादहरु नै काफी छ
अर्को जुनीसम्म तिम्रो प्रतीक्षा गर्न!