धुलोले तिमीलाई त दम हुन्छ
हिलोले तिमीलाई गिज्याउँछ
अनि अनेकौं रोगको ढोका खोलिदिन्छ
तर मलाई केही हुँदै हुँदैन
मलाई त कुनै रोगले छुँदै छुँदैन!
धुलो त मेरो आहार नै हो
यसैले मलाई जीवन दिएको छ
अनि प्राण पनि,
हिलोले मलाई अमृत दिएको छ
सँगै उपचार पनि
किनकि म त यो देशको आम-नागरिक...
तिमीलाई चाहिएको छ ठूला अस्पताल
तिमीलाई चाहिएको छ ठूला डक्टर
अनि तिमीलाई चाहिएको छ
घरमै अकस्मिक कक्ष
अझै तिम्रो लागि त एम्बुलेन्स
हमेसा तयारी अवस्थामै रहन्छ
तिमीलाई टाउको दुख्न हुन्न
तिमीलाई गाला तात्न हुन्न
तिमीलाई पेट दुख्न हुन्न
तिमीलाई त अलिकति
चिसो पनि लाग्न हुन्न
अनि तिमीलाई घाँटी खस्खसाउन झन् हुँदै हुन्न
अस्पताल घरमै आइहाल्छ
आफ्नै निजी डक्टर नियुक्ति गरेका छौ
जो २४ सै घण्टा तिम्रो स्वास्थको ख्याल राख्छ
यति मात्र कहाँ होर
विदेशका ठूला अस्पताल
तिम्रै उपचारको प्रतीक्षा गरिरहेका हुन्छन्
तर मलाई त केही हुँदैन,
मेरो स्वास्थ्यले त अजम्बरी बुटी पाएको छ
कुनै उपचारको जरुरत नै छैन
मलाई त टाइफाइड पानी पट्टीले ठिक हुन्छ
टाउको दुखाइ एउटा सिटामोलले ठिक हुन्छ
चिसो लाग्दा बेसार पानी पिउने गर्छु
मेरा अन्य असाधारण रोग तातो पानी,
गुर्जो र जडिबुटीले नै निमेट पारिदिन्छ
हुँदै भएन भने
मृत्यु शय्या त मेरो पर्खाइमा छँदै छ नि
आखिर सबैभन्दा ठूलो उपचार
मेरो लागि मृत्यु न हो
अन्य पहलको लागि मसँग सामर्थ्य नै कहाँ छ र
किनकि मत यो देशको आम-नागरिक।
तिमीलाई हिँड्न चिल्ला सडक चाहिन्छ अनि
तिमीलाई हिँड्न समथर भूभाग पनि चाहिन्छ
किनकि तिमी त प्राडो पजेरोमा ह्विकिने मान्छे
तर मलाई त केही चाहिँदैन
जता जान्छु बाटो बनाउन सक्छु
जता जान्छु पाइला चाल्न सक्छु
कान्ला कान्ला मेरा बलेनी भैसके
आँखा छोपेरै गन्तब्य पहिल्याउन सक्छु
किनकि म त यो देशको आम-नागरिक।
तिमीलाई उच्छ शिक्षाको अवसर चाहिन्छ
तिमीलाई उच्च तहको शिक्षक चाहिन्छ
अनि तिमीलाई त घरमै शिक्षक पनि चाहिन्छ
तर मलाई त केही चाहिँदैन
म कखरा घरमै सिक्छु
मलाई पाठशाला मेरै घर अनि
मेरो गुरु मेरा बाबाआमा
मैले त हरेक तहको शिक्षा
आँसुसँगै लिएको हुन्छु
व्यवहारिक अनुभवबाटै सिकेको हुन्छु
अनि तिम्ले खोक्ने गरेका कृषि क्रान्ती
जन्मजात नै साकार पार्ने सामर्थ्य बोकेको हुन्छु
अनि माटोमै सुन पनि फलाउन सक्छु
किनकि म यो देशको आम-नागरिक।
तिमीलाई चिल्ला काला सिसा वाला
पजेरो चाहिन्छ
तिमीलाई त प्लेन नै पो चाहिन्छ
एक डाँडोबाट अर्को डाँडोमा जान
तर मलाई त एउटा डोरी नै काफी छ
जहाँ झुण्डिएरै म
स्कुल-कलेज धाउन सक्छु अनि
त्यसरी नै मेला पर्म पनि लाउन सक्छु
किनकि म त यो देशको आम-नागरिक।
तिमी धेरै धनी छौ
त्यसैले जति सक्छौँ देशमै कमाउछौँ
तिमीलाई सबैले पत्याउछ त्यसैले
जति सक्छौ देशमै रमाउछौ
अनि सन्तानाई पढ्न चाहिँ विदेश पठाउछौ
त्यो पनि उच्च कोटीको विश्वविद्यालयमा
तर मत एक गरिब किसान
मत आफ्ना सन्तानलाई सरकारी पाठशालामा पठाउछु
त्यो पनि एउटा प्लास्टिकको झोलामा
गाता उप्किएको कपि र किताब
अनि दाँतले टोकेर कुच्चिएका एउटा कलमको साथमा
तिमीलाई त देशमै हरेक प्रकारको अवसर छ
यही लाखौं करोडौंको चलखेल गर्न सक्छौ
हरेक तह र तप्कामा आफ्ना साखा सन्ततिलाई स्थापित गराउन सक्छौ
तिमीलाई कुनै प्रकृयाको जरुरत नै छैन
जहाँ पनि तिम्रो बोली बिक्छ,
तिम्रो झोली बिक्छ
अनि तिम्रो आडम्बरी मात बिक्छ,
किनकि तिमीसँग सान छ, मान छ,
शक्ति छ अनि सामर्थ्य पनि।
तर म त एउटा जमिनको धुलो
मलाई यहाँ सबै ढोकाहरु बन्द छन्
सबै अबसरहरु निस्तेज छन्
मसँग उर्जा छ, सामर्थ्य छ, साहस छ
अनि योग्यता पनि
फेरि पनि म केही गर्न सक्दिनँ
लाचारीपन देखाउन बाहेक
किनकि मसँग प्रशासन किन्ने पैसा छैन
मसँग नैतिकता बेच्ने साहस छैन
अनि मेरो मन भित्र कुनियतको कुनै तप्का छैन
त्यसैले
म बाध्य छु पलायन रोज्न
म जान्छु अर्काको देश बनाउन
त्यहाँको तातो बालुवामा सुन फलाउन
आफ्नो उर्जाशील समय ५० डिग्रीको तापसङँग पौठेजोरी खेलाउन
अनि पसिनाको मूल्य कौडीमा बेच्न
तिमी पो त्यही सुनलाई भारी
पैसा खन्याएर ल्याउन सक्छौ
५० डिग्रीको घामलाई
पैसाकै खातले छेक्न सक्छौ
मत त्यो कहाँ सक्छु र
आखिर म त यो देशको आम-नागरिक।
तिम्रा ती आवाज भगवानको पहुँचमा पुग्दैन होला
त्यसैले चिच्याहटमा हामीलाई सुनाउछौ
पूरा नहुने झुटा सपना हामीलाई बुनाउछौ
तिम्रो त आवाजकै दबदबा न छ
त्यसैले त जता-जता जान्छौ त्यतै भुनभुनाउछौ
तर मेरो आवाज त भगवानले सुन्छन्
तिमीसँग त सुन्ने फुर्सद भए पो
त्यसैले त आत्माले नै मलाई निर्देश गर्छ
सत्कर्मको लागि
अनि मलाई निर्देश गर्छ
आमाको राक्षाको लागि
अनि मलाई निर्देश गर्छ
मातृत्वको सम्मनको लागि
किनकि म त यो देशको आम-नागरिक।