थाप्लोमा
नाम्लोको डाम स्थायी भैसक्यो,
भारी बोक्दा-बोक्दा
तालुमा कपालको रौसम्म छैन।
अझ दिनहुँ निधारबाट फुट्ने
पसिनाको बाढीले पूरै अनुहारलाई
निचोरेको कागतीजस्तो बनाइदिएको छ।
तै पनि म मेरा बाको मुहारमा थकान देख्न सक्दिनँ
तै पनि म उनका बेदनाहरुको कविता लेख्न सक्दिनँ।
हुन त मलाई
मेरा बाको हातका नङ बढेर
काट्नुपर्ने भएको दिन आजसम्म थाहा छैन
म सदाबहार देख्छु बाको अनुहार,
मलाई उनी साँच्चीकै खुसी रहेको दिन आजसम्म थाहा छैन।
आँगन मुनिको
सुन्तलाको बोटमा रहेको
जुरेलीको गुँडमा हुर्कँदै गरेका बचेराहरुलाई
चारो खुवाइरहेको त्यो चरोको संघर्ष देख्दा
म मेरा बालाई सम्झन्छु।
त्यो चरोले जस्तै म विचरोलाई हुर्काउन
मेरा बा दिनरात नभनी लागिरहन्छन्।
त्यो चरोले जस्तै म विचरोलाई खुसी बनाउन
मेरा बा दिनरात नभनी लागिरहन्छन्।
एकजोर पाखुराको भरमा
सिङ्गो परिवारको भार उठाउँदा-उठाउँदा
थिचिएर आफू जिउनै बिर्सिएका मेरा बा
अझै पनि
ती खोपिल्टा भित्र गडेका आँखा,
अनि त्यो चर्किएको मनले मेरा लागि सपना देखिरहन्छन्।
घरको छानोले घामपानी छेक्ने क्षमता गुमाइसक्यो,
अझै पनि मेरा बा
मेरा लागि हत्केलाले सूर्य छेकिरहन्छन्।
मलाई आफ्ना आँसु देखाउँदैनन् मेरा बा
मेरा अघिल्तिर त उनी मेरो घर अगाडिको
त्यो घाम अस्ताउने डाँडोजस्तै गरी
अटल बनेर उभिइरहन्छन्।
म यति बुझ्न सक्छु
मेरा बा आफू खिइरहन्छन्
अनि मलाई भरिरहन्छन्।
मलाई मेरा बाको एउटा कुरा कत्ति मन पर्दैन
उनी सधैँ भनिरहन्छन्: बाबु, तँ मजस्तो बन्नु हुँदैन।
तर मलाई,
मलाई उनको यो कुराले कत्ति छुँदैन।
किनकि मलाई त एकदिन
यो दुनियाँले सुन्नेगरी भन्नु छ-
हो, मलाई त मेरा बाजस्तै बन्नु छ।