ठिक तिम्रो पछाडि
मैले हरेक पटक राखेको छु आफूलाई सबैका सबै खोलेर
खुला टुटेको रहन्छु
कहिले तिम्रो घुँडामा
कहिले तिम्रो आँखामा
र कहिले ठिक तिम्रो पछाडि
टुटेपछि फेरि जोडिएको म
थिएँदेखि हुँसम्म
पूराका पूरा जिउँछु फेरि अर्को पटक
म गएपछि सायद तिमी पढ्छेऊ होला मलाई
कहिले आफ्नो घुँडामा
कहिले आफ्नो आँखामा
तर जो ठिक तिम्रो पछाडि टुटेको थिएँ ऊ?
ऊ अझै पनि त्यो आशामा
आफूलाई समेटेर फेरि आउँछु तिम्रो पछाडि
पटक-पटक र हरेक पटक
छोड्छु आफूलाई केही.. थोरै.. ठिक तिम्रो पछाडि।
बाल्टी
समय जाँदाजाँदै आफूलाई निचोर्दै पर... पुग्छ
एक बाल्टी तिमीलाई...
बाहिर आँगनमा सुक्दै गरेका, मेरा पुराना कपडाहरु
तिम्रो यादको पानी छोड्न तयार छैनन्
रिसाएर म नयाँ लुगा लगाउँछु
नयाँ लुगामा आफूलाई एक अपरिचित झैँ महसुस गर्छु
फेरि उही पुराना नै लगाउँछु
उनीहरु मसँग केही गुनासो गर्दैनन्
मेरो शरीरमा यसरी टाँसिन्छ्न्
लाग्छ कयौँ दिनपछि तिमीले मलाई अङ्गालेकी हौ।
आजकल म एक बाल्टी पानीमा
पुराना र नयाँ दुवै कपडा भिजाइदिन्छु
यो आशामा कि...
दुवैका आ-आफ्ना रंगहरु एकअर्कामा मिसिउन्
ताकि परायाहरु केही आफ्ना लागून्
र आफ्नाहरु केही पराया।