पर क्षितिजसँगै फैलिएको खुला रेगिस्तानको त्यो उजाड मरुभूमि। त्यही मरुभूमिभित्र सुनौलो भविष्यको कल्पनामा मनभित्र अनेकन पीडा गुम्साएर मुस्कुराइरहेका परदेशी जीवनहरू हरेक साँझ सामुद्रिक तटमा रहेको त्यो अञ्जान बस्तीमा भेला भई छुट्टै मेहफिल जमाउने प्रयत्न गर्दथे।
सुरूआती मौनताहरू कथा, कविता, गीत र गजलहरूसँगै भङ्ग हुँदै जान्थे। जिन्दगीका अधुरा सपना र ती सपनाको गन्तव्यतिर निष्प्राण भएर भौंतारिँदै हिँड्ने मजस्तै अनगिन्ती परदेशी जीवनहरू आफ्ना रंगीविरंगी कल्पनाहरूलाई कल्पनामै सीमित राखेर अन्धकार रातहरूसँगै सुस्ताउने गर्दथे। मानौं सूर्य र त्यसभित्रको असह्य ताप सदाको लागि अस्ताएर विलिन होस्।
खाडीको चर्को घाँम र दिनभरिको कामको बोझले लखतरान परेर होला हरेकको मुहारमा पीडा झल्कन्थ्यो। पीडासँगै घृणाहरू झल्कन्थे। मदिराको मादकतासँगै केही युवाहरू विरहको आँसुमा डुब्न थाल्छन्, केही बेहोसीमै चिच्याउन थाल्छन्। प्राय: युवा तथा अधबैंशेहरू हरेक साँझ अतीतमा डुबेर विगतका पीडा आँखाबाट बर्साइरहेका हुन्थे।
परदेशी जीवन अनौठो उल्झनमा अल्झिएको हुन्थ्यो। तत्क्षण एकदिन मुदिरले भनेको कुरा सम्झन्छु। ‘मरुभूमिमा पनि वर्षात हुन्छ भाइ बस् फरक यत्ति हो। तेरो जन्मभूमि मेघहरूसँगै बर्सिन्छ अनि यो रेगिस्तान भूमि पीडाहरूसँगै, घृणाहरूसँगै र अधुरा सपनाहरूसँगै बर्सिदिन्छ। चुपचाप जहाँ रोदनको कुनै गुञ्जायस नहोस्।’
हरेक साँझमा झैं आज पनि म त्यो मेहफिल भित्र हराउँदै गएँ। त्यहाँ उपस्थित सबै जना आ-आफ्नो पीडासँगै रौनकताको खोजीमा हराइरहेका थिए। त्यो सन्ध्याकालीन साँझ सदाझैं उस्तै उदास र उराठलाग्दो थियो।
रेगिस्तानबाट बहने तातो वायु पर क्षितिजमा उड्दै गर्दा मभित्र अचानक भ्रम उत्पन्न भयो। त्यो अपरिचितहरूको माझमा कुनै चिरपरिचित आकृति देखा परेको भान भयो। म झसंग भएँ। मैले जे देख्दैछु त्यो केवल दृष्टिभ्रम थियो वा यथार्थ ? मैले केही कुराको मेसो पाउन सकिरहेको थिइनँ। म नशामा बेहोसी हुँदै गइरहेको थिएँ। सोच्न थालें। सायद म भ्रममा थिएँ होला।
नशासँगै बौरिएर म आफ्नो गन्तव्यतर्फ अघि बढ्ने क्रममा निकै बेरसम्म त्यो भिडमा फर्केर हेरिरहें। केही भेउ पाउन सकिनँ। सायद जिन्दगी पनि त रहस्य नै हो। मनभित्रको भ्रम पनि कहिलेकाहीँ यथार्थजस्तो लाग्दो रहेछ। म विश्वस्त हुन खोजें।
सोच्छु जिन्दगी एक सपना हो अनि हरेक दिन जस्तै आज पनि ओभरटाइम सपनाहरूसँगै म झिसमिसेमा ब्युँझिन पुग्छु।
टाउको अनायासै रूपमा भारी भइरहेको थियो। त्यत्तिकैमा हिजोको त्यो रातलाई एकपटक पुनः सम्झिने कोसिस गर्छु। तर म ती मधुशालामा रित्तिएका बोतलहरूजस्तै आफूलाई पनि रित्तो पाउँछु। अघिल्लो रातको बारेमा मलाई केही याद रहँदैन।
आफैंसँग प्रश्न गर्न थाल्छु। के मैले कुनै परिचितलाई देखेको थिएँ? को थियो त्यो? वा म कसैको मिल्दोजुल्दो अनुहारमा भ्रमित भएँ? अक्सर यस्तो हुन्छ पनि। सायद नशामा कुनै विभत्स सपना पो देखें कि! थाहा छैन। म शून्य थिएँ। मरुभूमिजस्तै।
जहाँ चारैतिर बालुवाका मैदानहरू होस् अनि तुफानी लहरसँगै ती गोरेटाहरू मेटिएर शून्यतामा विलिन भएकोजस्तो म अनन्तमा हराएको पो हो कि! बिना निष्कर्ष म आफ्नो गन्तव्यतर्फ अघि बढें।
××
दिन ढल्दै गयो। सदाझैं त्यो मेहफिलभित्र जमघट बाक्लिँदै गयो। धेरै अनुहारहरू आ-आफ्नै दुनियाँमा मस्त थिएँ। म खाली रहेको बेञ्चमा चुपचाप आड लागेर बसें। केही पर हस्याङफस्याङ कुदिरहेको एउटा अल्लारे ठिटोलाई इशारा गर्दै रक्सी अर्डर गरे।
ऊ बङ्गाली थियो र यहाँ वेटरको काम गर्ने गर्दथ्यो। कहिलेकाहीँ फुर्सदको समयमा ऊ मसँग अतितका कुराहरू सुनाउने गर्थ्यो। आमाले सानैमा छोडेर गएपश्चात उसको बाबुले दोश्रो श्रीमती भित्र्याएका थिए रे।
तत्पश्चात बाउको घृणा र सौतेनी आमाको कचकचैसँगै ऊ विक्षिप्त हुँदै गएछ र अन्त्यमा उसको पढेर पाइलट बन्ने सपना आकाशमा उड्ने जहाजहरूसँगै उडेर गएछ। त्यस पछिका दिनमा दिमागी सन्तुलन गुमाएर ६ महिना मानसिक अस्पतालमा भर्ना भएपछि ऊ त्यही जहाजमा चढेर आज मरुभूमिको यात्रा गरिरहेछ।
ऊ रक्सीको बोतल र ग्लाससँगै मेरो अगाडि उपस्थित भयो। म फिस्स हाँसें।
केही समयपश्चात छेवैको टेबलमा बसेर पिउँदै गरेको एक युवा चिरपरिचित लाग्न थाल्यो। एकाएक मुटु बेस्सरी धड्किएको अनुभव हुन्छ। हिजोको दृष्टिभ्रम आज यथार्थमा परिवर्तित भएको चाल पाएँ। त्यस युवा आकृतितर्फ एकटकले हेर्न थालें।
सायद मेरो हेराइप्रति उसलाई अप्ठ्यारो महसुस भयो कि! ऊ पनि बेलाबेलामा मलाई शंकास्पद दृष्टिले हेर्ने गर्थ्यो। जब हाम्रो दृष्टि एकापसमा जुध्थ्यो तब हामी दुवै अन्तै कतै नियालिरहेको जस्तो बहाना गर्न थाल्थ्यौं।
म बिस्तारै भयभीत हुँदै गएँ र आफ्नो ध्यानलाई अन्तै केन्द्रित गर्न खोजें।
केहीबेर म विगतका दर्पणहरूतर्फ घोत्लिँदै जिन्दगीका पुराना स्मृतिहरूलाई उजागर गर्ने प्रयास गर्न थालें।
मैले केही भेउ पाउन सकिरहेको थिइनँ। को थियो ऊ? के थियो ऊ? के ऊ मेरो लागि कुनै परिचित थियो वा ऊ केबल एउटा भ्रम मात्र हो? मेरो मानसपटलमा यादहरूका वृत्तचित्रहरू फनफनी घुम्न थाल्यो र अन्त्यमा तिम्रो लोग्ने मेरो अगाडि यथार्थ बनेर उभिरहेको चाल पाएँ।
हो, ऊ तिम्रो लोग्ने थियो। म विश्वस्त भएँ। हो त्यो त्यही विभत्स आकृति थियो। बारम्बार मैले उसलाई चिहाउने प्रयास गरें। निश्चय पनि उसको लागि म एक अपरिचित थिएँ। यहाँ वर्षौसम्म सँगै जिउने वाचाहरू त क्षणभरमै मेटिएर जान्छन् भने ऊ त केबल वर्षौ पहिले देखिएको एउटा मानव आकृति। परिचित भएर पनि अपरिचितजस्तो लाग्ने एउटा कल्पित भ्रम। ऊ अर्थात् तिम्रो लोग्ने नशामा थियो। उसको अनुहार चम्किलो हुँदै गइरहेको भान भयो। यस्तो लाग्थ्यो ऊ नशा होइन पीडा पिइरहेको छ, निख्खर घृणा पिइरहेको छ।
म बिस्तारै निस्तेज हुँदै गएँ। तिम्रो लोग्नेको सम्मुखबाट फर्किएर म पर रेगिस्तान माथिको आकाश नियाल्न थालें। छेवैमा बसिरहेको एउटा युवा स्टेजमा उक्लिएर बडो रवाफिलो पाराले गजल सुनाउँदै थियो।
माया प्रेमका कुरा, सँगै बाँच्ने सँगै मर्ने सपना, मरुभूमिका पीडाहरू, गाउँघरका मेलापात, सुनका चुरा, साहुको ऋण… यस्तै यस्तै केही भनिरहेको थियो जसलाई मैले ध्यान दिन सकिरहेको थिइनँ।
वास्तवमा मभित्र भय उत्पन्न भइरहेको थियो। शनिबारको त्यो रात, रातसँगै रौनकता पनि छिप्पिँदै गइरहेको थियो।
केहीबेरपश्चात उक्त व्यक्ति अचानक मेरो सम्मुखमा आएर परिचयको लागि हात अघि बढायो। म आश्चर्यमा परें तत्क्षण उसले आफ्नो परिचय दिँदै भन्यो 'तपाईं नेपाली हो?'
म स्वीकृतिको साथ टाउको हल्लाउँदै मुसुक्क मुस्कुराए 'हजुर'।
टेबलको ग्लास र मोबाइल साथमा लिएर ऊ मेरो आडैको कुर्सीमा आएर बस्यो। गहुँ गोरो वर्णको मंगोलियन आकृति, खाइलाग्दो शरीर अनि मादक मुस्कान सहितको तिम्रो लोग्ने मप्रति उत्सुक देखिन थाल्यो। 'के गर्नुहुन्छ?'
म निकैबेर मौन रहें। उसको प्रश्नको प्रतिप्रश्न मनभित्र खेल्न थाल्यो। के गर्नुहुन्छ? हा…हा…हा… म प्रेम गर्छु।
तिम्रो स्वास्नीसँग। म उनी बिना एकपल पनि बाँच्न सक्दिनँ। हो तिमीलाई लाग्ला तिम्रो स्वास्नीबिना पनि त म बाँचेकै रहेछु। यो मात्र भ्रम हो। तिमीले बाँचेको देख्नु र म बाँचेजस्तो गर्नु दुवै भ्रम हो। म काल्पनिक दुनियाँबाट बाहिर निस्कँदै भन्न थाल्छु।
'बस् जसोतसो जिन्दगी गुजारा गर्दैछु। बाँच्ने प्रयासमा छु यो दुनियासँगै, अनि यो मेहफिल सँगै। अनि सुनाउनुस् तपाईं के गर्नुहुन्छ?'
ऊ पनि निकैबेर घोत्लियो। केही बेरपश्चात ऊ बोल्न थाल्यो।
'ड्राइभिङ गर्छु। रेगिस्तानको झिलिमिली देखिने यी उजाड बस्तीमा। के छ यो सहरमा? हुनेखानेलाई त सबथोक होला तर हामीलाई केबल रेगिस्तानको बालुवामात्र छ जहाँ निष्फिक्री आँसु समेत बगेर जान दिँदैन। यो लासहरूको सहर अनि अनन्त र अट्टहासपूर्ण यात्रा। जहाँ फर्केर आउने कुनै गुञ्जायस नरहोस्। यात्रा धेरै गरियो। अब म थकित भइसके जिन्दगीका ती यात्रादेखि र ती यात्रासँगै गुज्रिने यात्रीहरूदेखि। कसैले भनेको थियो जिन्दगी यात्रा हो हा.. हा.. हा..त्यसैले एक्लै हिँड्दैछु। बस् एक्लै…।'
तिमीजस्तै रहेछ तिम्रो लोग्ने। बुझेर पनि बुझ्न नसकिने।म अनिच्छापूर्वक बोल्न थाले।
'लोग्ने मान्छेको जिन्दगी भाग्य होइन कर्म हो। रेगिस्तान भूमिको बालुवाभित्र सपना खन्दाखन्दै सपना नै बनेर भासियौ भने त अलग कुरा। नत्र जिम्मेवारीहरू जिम्मेवार रहँदासम्म वहन गर्नुपर्छ। घरपरिवारको सपना साकार पार्नलाई नै त विदेश भासिएका हौं हामीहरू…।'
ऊ पुनः हाँस्न थाल्यो।
एक भयानक हाँसो।
'घरपरिवार….. हा.. हा.. हा.. जसको परिवार नै छैन उसको घर कसरी हुन्छ? घर हुनको लागि परिवार हुनुपर्छ। परिवार हुनको लागि समाज हुनुपर्छ। मेरो कुनै समाज छैन। म लावारिस हुँ। एक बेवारिसे शवजस्तो म हरेक क्षण मृत्यु बाँचिरहेको छु। हरेक शिशिरसँगै म पलभरमै उजाडिएर जान्छु। तपाईं बुझ्नुहुन्न यी कुरा। वास्तवमा म समुद्री किनारमा प्यासले छटपटाइरहेको एउटा व्याकुल प्राणी हुँ। सायद त्यही प्यास नै मेरो मृत्यु हो र म छिट्टै मृत्यु चाहन्छु।'
यति भन्दै उसले फेरि अर्को बोतल अर्डर गर्दै २ पेग भर्न थाल्यो। म आश्चर्यमा परें। जसलाई म आफ्नो आँखा अगाडि देख्दैछु के ऊ तिम्रो लोग्ने थिएन र? मभित्र कौतुहलता बढ्दै गयो।
निकैबेर हामी निःशब्द रह्यौं। ग्लास रित्तिएसँगै मनभित्रको जिज्ञासा मेटाउने प्रयास गरें।
'तपाईं विवाहित वा अविवाहित?' मेरो प्रश्नसँगै उसका अतृप्त आँखाहरू कुनै स्वप्निल दुनियाँभित्र हराउन थाल्छ।
उसले मेरो प्रश्न सुन्यो वा सुनेन ता पनि म मूर्तिवत रूपमा जवाफको प्रतीक्षामा बसिरहें। उसको अनुहार बिस्तारै मलिन हुँदै गयो र भन्यो।
'बिहेअघि हामी कहिल्यै नटुट्ने, कहिल्यै नछुट्ने बाचा, प्रतिबद्धताको साथ जिन्दगीका पाइलाहरू अगाडि बढाउने कसम खाएका थियौं। नियतिको अटल र रहस्यमयी खेलसँगै हामीहरू अन्ततः एक हुन पुग्यौं। सँगै जीवन बिताउने हाम्रो सपना साकार भएर आयो। ती दिनमा म आफूलाई संसारकै सबभन्दा भाग्यमानी पुरूष ठान्ने गर्थें। समय बित्दै गयो। देशभित्रको अस्थिर राजनीतिले चरम सीमा नाघिसकेको थियो। ड्राइभिङ पेशा। स्वदेशमा गाडी चलाएर परिवारको पेट पाल्न लगभग मुस्किलप्राय: थियो। जताततै जनयुद्धको तयारी चलिरहेको थियो त्यसबेला। चक्का जाम र नेपाल बन्दको लहरसँगै असुरक्षा बढ्दै गयो।
हरेक दिन कयौं सवारी साधन तोडफोड भइरहेको समाचार बारम्बार मिडियामा आउने गर्थ्यो। देशको अस्थिर राजनीतिबाट म र मजस्ता लाखौं नेपालीहरू दिक्क भइसकेका थियौं।
एकदिन उनले मलाई स्वदेशमा बसेर गफगाफमै दिन बिताउनुभन्दा बरु विदेश गए राम्रो भन्दै सल्लाह दिन थाली। यहाँको जस्तो जागिरको अनिश्चितता पनि नहुने र कमाइ पनि राम्रो हुने भन्दै ऊ मलाई बारम्बार सम्झाउने कोसिस गर्थी। नाबालक छोरो र उसलाई छोडेर खाडी मुलुकमा होमिन त मलाई पटक्कै मन थिएन तर उसको जिद्दी र हाम्रो सुनौलो भविष्यको लागि अन्ततः म परदेशी जीवन व्यतीत गर्न राजी भएँ।
हो, म त्यतिबेला खाडीमा धसिन पुगे सिर्फ त्यो स्त्रीको लागि जो अहिले मतिर फर्केर समेत हेर्दिनँ।'
उसले एकै घुट्कोमा ग्लास रित्तो पार्यो। म अधैर्यपूर्वक उसको कुरा सुनिरहेको हुन्छु।
'दिन, हप्ता, महिना हुँदै वर्षौ बित्यो, यिनै पसिना बगाउँदै। हामी भौतिक रूपमा एक अर्कादेखि टाढा भएको पनि लगभग २ वर्ष पुग्न आँटिसकेको थियो। समय न हो कसरी बित्यो पत्तै भएन। अब घर फर्किने दिनहरू गन्दै औंला भाँच्न थालिसकेको थिएँ।
ती दिनमा म प्राय: उसलाई दैनिक फोन सम्पर्क गर्ने गर्थें तर दिनप्रतिदिन उसको बोल्ने शैली तथा मप्रतिको बदलिँदो व्यवहारले मलाई कताकता शंका लाग्न थाल्यो। ऊ अनावश्यक कुरामा पनि झर्कने गर्थी। नभन्दै हाम्रो सम्बन्ध बिस्तारै चिसिँदै जान थाल्यो।
ती दिनहरूमा हामी हरेक संवादमा झगडा गर्ने गर्थ्यौं। तपाईं सुन्दै हुनुहुन्छ नि मेरो कुरा ?' मेरो एकाग्रता भंग भयो।
'जरुर……अनि त्यसपछि…..?'
ऊ बोल्यो 'यस्तै हो म जस्ता जड्याहाहरूको जिन्दगी। पिएपछि बोल्नै पर्ने।पीडाहरू पोख्नै पर्ने। आखिर होसमा भएपछि त यी कुराहरूले कुनै अर्थ राख्दैनन् ममाथि। त्यसैले पिएपछि बोल्नुको मजा नै बेग्लै छ। तपाईं झर्को मानिरहनु भएको त छैन नि?'
'हा..हा.. त्यस्तो केही छैन।' नयाँ सिलप्याक टेवलमा आइपुग्यो।
उसका हातहरू नशासँगै हल्लिरहेको थियो ता पनि उसले होसियारीपूर्वक दुवै ग्लास भर्यो र फेरि भन्न सुरू गर्यो।
'लगभग २ वर्ष खाडीमा बिताइसकेपछि म नेपाल फर्किएँ। अन्त्यमा जे नहुनु थियो, त्यही भैदियो। मसँगको दूरीसँगै उसको पराइसँग हिमचिम बढ्दै गएको कुरा चाल पाएँ। ऊ अब अर्कै दुनियाँको कल्पनामा रमाउन थालिसकेकी थिई। हामी बीचको सम्बन्धमा बिस्तारै खटपट सुरू भयो। धेरैको मुखबाट मैले उसको चरित्रबारे थाहा पाउने सौभाग्य पाएँ।
हुन त त्यो मेरो लागि दुर्भाग्य नै थियो। ता पनि म त्यसलाई सौभाग्य नै ठान्दछु। बिस्तारै मलाई उसले धोका दिँदै छे भन्ने कुरा प्रष्ट हुँदै गयो। उसको कोमल हाँसोभित्र पनि मैले डरलाग्दो छलकपटको आँधिबेहरी देख्न थालिसकेको थिएँ।
पराई पुरूषसँगको सामिप्यता कसलाई पो सह्य हुन्छ र? त्यस्तै भयो मेरो कथित जिन्दगीमा पनि। ऊ मबाट र मेरो जिन्दगीबाट सदाको लागि पराई बन्न खोज्दै थिई।
ऊ वास्तविकतालाई लुकाएर हरेक कुरामा झूट बोल्ने प्रयास गर्थी। मेरो सहनशीलता टुट्दै गयो। जबदेखि उसको वास्तविकता चाल पाउँदै गएँ तबदेखि ऊ मलाई विभिन्न बहानामा कमजोर बनाउने कोसिस गर्न थाली।
अब उसलाई ममा कुनै रुची थिएन। त्यसैले हरेक दिन घट्ने सानातिना पारिवारिक झमेला वा घटनालाई निहुँको पहाड बनाएर ऊ मसँग झगडा गर्न तम्सिने गर्थी।
हामी बीचको सम्बन्ध बिस्तारै आगोबिना नै सल्कन थाल्यो र समयसँगै त्यसले एउटा विशाल विष्फोटको रूप लिन सुरू गर्यो। दैनिकको कलह र तमासा जिन्दगी। हाम्रो दूरी दिनप्रतिदिन अरु धेरै बढेर गएको थियो…।'
उसले आफ्नो सर्टको खल्तीबाट चुरोट निकाल्दै सल्काउन थाल्यो। धुँवाको सर्कोसँगै ऊ पुनः बोल्न थाल्यो। '…अन्ततः एकदिन उसले मसँग डिभोर्स मागी। म अवाक् रहें। धर्ती नै भासिएझैं भयो। ता पनि छुट्टिनु अगावै मैले धेरै सम्झाएँ उसलाई तर ऊ टसको मस भइन। अरुको बहकाउमा लागेर उसले मेरो केही कुरा सुन्न नै चाहेकी थिइन। उसले मेरो जिन्दगी बर्बाद गरिदिई।
लगत्तै हामीले ८ वर्षको त्यो लामो वैवाहिक सम्बन्धलाई पूर्णविराम दिने निर्णय गर्यौं। समय मेरो वशमा थिएन। हामी एकअर्कासँगै छुट्टियौं अनि हाम्रो संसार पनि त्यो पर रहेको मरुभूमिको साम्राज्यजस्तै पलभरमै उजाडिन पुग्यो…।'
केहीबेर सन्नाटा छायो। ऊ नशामा चुर भइसकेको थियो। केहीबेरको मौनतालाई चिर्दै ऊ बोल्न थाल्यो 'ती दिनमा कहिलेकाहीँ मेरो मनमा उसको हत्या गरेर बदला लिने विचार समेत आउने गर्थ्यो।
जब मध्यरातमा म सपनाहरूबाट भयभीत हुँदै ब्युँझिने गर्थें तब मेरो मनमा थुप्रै पटक हत्या गर्ने मनसाय नआएको पनि होइन। तर जब चिरनिद्रामा रहेको उसको कोमल अनुहारमा हेर्ने प्रयास गर्थें तब मभित्र ऊ निर्दोष भएको भ्रम पैदा हुन्थ्यो। सोच्थें ऊ निर्दोष छे। तर अनुहारको निर्दोषपना जिन्दगीसँग कहिल्यै मेल खाँदैनथ्यो।
म भित्रको उत्कण्ठा केबल भ्रम थियो। ऊ हरेक बिहान फेरि उस्तै कठोर र रुखो बचनसँगै उपस्थित हुन्थी। अनि अन्त्यमा उसलाई र ऊप्रतिको मेरो अधिकारलाई सदाको निम्ति छाडिदिने कठोर निर्णय गरेको थिएँ मैले।'
ऊ पुनः व्यथित कल्पनामा हराउन थाल्यो।
केहीबेरको सन्नाटापछि ऊ अचानक चिच्याउन थाल्यो।
'राम्रै भयो। म समयमै सम्हालिएँ। नत्र आश नै कहाँ थियो र उसको प्रतिघात सहेर बाँच्ने।'
औंसीको रात निष्पट अँध्यारो थियो। ऊ नशासँगै बग्न थाल्यो। मैले पुनः वार्तालाप गर्ने कोसिस गरें।
'कसैको बहकाउमा लागेर निर्णय लिनु अवश्य पनि राम्रो होइन। के थाहा तपाईंको सोचाइ नै गलत थियो कि वा तपाईं स्वयम भ्रममा पर्नुभयो। सायद अरुको कुरा सुन्नु तपाईंको भूल थियो। थाहा छैन दुनियाँमा कति निर्दोषहरू भ्रमको आवेगमा दोषी बन्न पुग्छन्। दुनियाँ स्वार्थी छ र स्वार्थको लागि जो जे पनि गर्न तयार हुन्छन्। समाजको नियति नै यस्तै हुन्छ।
अरुलाई उजाडेर रमिता हेर्नेहरू प्रशस्तै हुन्छन् यहाँ। आवेशमा निर्णय लिनु सदा घातक हुन्छ। हुनसक्छ तपाईं आफैंप्रति अन्तर्घात गरिरहनु भएको छ कि?'
ऊ मन्द मुस्कुरायो र भन्न थाल्यो 'अब ती कहालीलाग्दा अतीतका दिनलाई म अवश्य पनि सम्झन चाहन्नँ। छोडिदिनुस् ती स्वार्थीको कुरा, जो हरेकको अंगालोमा बाँधिएर सँगै जिउने सँगै मर्ने बाचाकसम खान्छन् हा.. हा.. हा.. हरेकको अंगालोमा बाँधिएर हा.. हा.. हा..। मलाई अब आफैंप्रति कुनै सहानुभूति छैन।
गुमाउनको लागि केही रहेन र पाउने केही आशा छैन। म रित्तो भइसकें अब के फरक पर्छ र म पोखिनु र नपोखिनुमा। यो बोतलजस्तै म पनि रित्तो छु। लडे पनि खाली, नलडे पनि खाली।'
××
घडीमा रातको १२:०० बजिसकेको थियो। पुनः भेट्ने बाचाका साथ तिम्रो लोग्ने र म छुट्टिने तर्खरमा लाग्यौं। लगत्तै म आफ्नो कोठातर्फ लागें। हिँडाइको तेज गतिसँगै निस्केको पसिनाले सारा शरीर र कपडा निथ्रुक्क भिजिसकेको थियो।
ओछ्यानमा पल्टिँदै गर्दा तिमी बिनाको ती क्षण कल्पना गर्दै केहीबेर अतीतका छायासँगै छटपटाउन पुग्छु। आज अचानक उसको अभाव महसुस हुन थाल्छ जसलाई म वर्षौं पहिलेदेखि भुल्ने कोसिस गर्दै थिएँ।
××
भर्खरै प्लस टु पास गरी काठमाडौं छिरेको म ती दिनमा सहरको अँध्यारो गल्लीहरूमा उज्वल भविष्यको परिकल्पना गर्दै हातमा बायोडाटा र सर्टिफिकेटका ठेली बोकेर जागिरको खोजीमा भौंतारिरहेको हुन्थें।
एकदिन ट्राभल एजेन्सीमा दरखास्त आह्वान गरिएको सूचना पाएपछि आवश्यक कागजात बोकेर फर्म भर्न जाँदै गर्दा टेम्पुबाट ओर्लने क्रममा उनीसँग जीवनमा पहिलो पटक भेट भएको थियो।
संयोगवशः हामी दुबै जना एउटै कामको लागि आएका रहेछौं। आवश्यक डकुमेन्ट र फर्म भरेर बुझाएपछि हामी त्यहाँबाट निस्कियौं। दुवैबीच सामान्य परिचय र मोबाइल नं आदानप्रदान हुँदै गर्दा सुनौलो केशहरूसँगै मन्द मुस्कुराएको उनको ओठमाथिको कालो कोठीले मलाई रहस्यमयी ढङ्गले मोहित तुल्यायो। त्यसपछिका दिनमा हाम्रो भेटघाट र संवाद बिस्तारै बाक्लिँदै गयो।
मध्यरातसम्म घण्टौं कुराकारी गर्नु अनि ख्याल ठट्टा गर्नु हाम्रा लागि सामान्य कुरा थियो। साँच्चै ती दिनमा उनीसँगको एकतर्फी प्रेममा म बिस्तारै पागलजस्तै बनिसकेको थिएँ।
जीवन रहस्यमय ढंगले अघि बढिरहेको थियो। ऊ मेरो जीवनको एक अभिन्न अंग बनिसकेकी थिई। हरेक दिनको कुराकानी अनि त्यो आत्मीय भेटले हाम्रो मित्रता थप प्रगाढ बन्न पुग्यो।
हरेक पल हरेक क्षण ऊ मेरो कल्पनामा सिंहासन गर्न थालिसकेकी थिई। म उसलाई प्रेम प्रस्ताव राख्न चाहन्थें। धेरैपटक प्रयास पनि गरें तर सकिनँ। मेरो प्रेम प्रस्ताव अस्वीकार भएको खण्डमा हाम्रो मित्रता समेत सदाको लागि टुट्न सक्थ्यो। म उसलाई गुमाउन चाहदिनँ थिएँ। यही भयभीत कल्पनाले मेरो मनभित्रका सबै भावना धेरै समयसम्म गुमनाम रहिरह्यो।
उसको जन्मदिन याद रहनु अब सामान्य कुरा थियो। जन्मदिनको अघिल्लो साँझ गुलाबको फूल र कयौं रात अनिँदो बसी कोरिएको प्रेमपत्र जतनसाथ प्याकिङ गरी उसको हातमा थमाइदिएँ।
छुट्ने बेलामा उसको हात समाउँदै भनेको थिएँ। 'रातको १२ बजेपछि मात्र खोलेर हेर्नु है?' उनले मुसुक्क मुस्कुराउँदै 'हस्' भनिन्।
त्यो रात म उसको जवाफको प्रतीक्षामा घडी हेर्दै बसिरहें। हेर्दाहेर्दै प्रतीक्षाको घडी सकियो। रातको १ बजेसम्म पनि कुनै जवाफ आएन। उनको त्यो हर्कतले मेरो मनमा अनौठो तरंग फैलाइदियो। आँखामा समुद्र छचल्किन थाल्यो। म विक्षिप्त भएँ र औंसीको त्यो निष्पट अँध्यारोमा भक्कानिएर रोएँ। त्यो कहालीलाग्दो रात जसलाई म अब कल्पना समेत गर्न चाहन्नँ।
भोलिपल्ट झिसमिसेमा अतृप्त र आँसुमिश्रित आँखा सँगै ब्युँझिएँ। मनमा नियास्रो र उदास अनुभूति हुँदै थियो। धैर्य गर्ने क्षमता अब ममा रहेन। कल गरें। मोबाइल स्विच अफ थियो। ती दिनपछि उसको मोबाइल सदाको लागि अफ भयो।
उनको प्रतीक्षामा कयौं दिन अनि कयौं रात बिते। हरेकपल्ट जब कसैको ढोका ढक्ढकाएको आवाज आउथ्यो म हस्याङफस्याङ ढोका खोल्ने गर्थें। तर बाहिर अरु नै कोही हुन्थ्यो। समय बित्दै गयो। दुर्भाग्य समयको गतिलाई चाहेर पनि मैले रोक्न सकिनँ।
मन भित्रको घाउ बेलाबखत बल्झिरहन्थ्यो। प्रेमको कलिलो कोपिला नफक्रिँदै सदा सदाको निम्ति चुडिइसकेको थियो। ती आँधिबेहरीसँगै जहाँ क्षणभरमै म नामेट भएर गएँ।
कयौं भित्ताका क्यालेन्डरहरू फेरिए। कयौं बसन्त शिशिर ऋतुहरू आए, गए। कुनै एक दिन कसैले ढोका ढक्ढकाएको अनुभूति हुन्छ। सोचे हावाले हल्लाएको पो हो कि! म आफ्नो काममा तल्लीन थिएँ। फेरि उही आवाज दोहोरियो। ढोका खोलें।
कुनै परिचित युवती सिउँदोमा सिन्दुर सजाएर मेरो अगाडि उपस्थित भैरहेको कुरामा अझै पनि मलाई सहमत हुन मन लाग्दैन। तर जे थियो त्यो यथार्थ थियो। म अवाक् रहे। उसले हतारहतार हातमा एउटा कागजको टुक्रा थमाई र मेरो आँखामा आँखा समेत नजुधाई तल सडक किनारामा पर्खिरहेको उसको लोग्नेसँगै विलिन भएर गई। पर घुम्तीमा नपुगुन्जेल म उनीहरूलाई नियालिरहें।
मनमा हुरिबतास चल्यो। बग्नलाई आँसु बाँकी थिएन सायद। म निष्प्राण उभिएको छु। आँखा चिम्म गर्छु र अघिका घटनालाई बारम्बार सम्झिने प्रयास गर्छु। नीलो पेन्ट सँगै सेतो टिर्सट अनि सिउँदोमा अरु कसैको नाउँको सिन्दुर सजाएर मेरोसामु आइपुगेकी थिई ।
त्यही सिन्दुरको नदीले छुट्याएका हामी दुई किनारा थियौं। नदीका दुई किनाराजस्तै जो दोभानमा कहिल्यै भेट हुन नपाउने गरी पलपल मरेर पनि बाची रहनुपर्ने। उसले हातमा थमाएर गएको पत्र हेरें।
लेखेकी थिई 'पत्र पठाउन ढिला भएकोमा माफ गर्नु है। अझै केही भएको छैन। तिमीले नयाँ जिन्दगीको सुरूआत गर्नुपर्छ। बितेका अतीत बिर्सिदिनु। म जो सँग प्रेममा थिएँ उसैको भैसेको छु। हाम्रो सम्बन्ध केवल मित्रताको थियो जसलाई तिमीले बुझ्न सकेनौ। र अन्त्यमा लेखेकी थिई 'मलाई बिर्सनू है।'
पत्रमा गुलाब थिएन। गुलाबको चित्र थियो।
××
समयको पाबन्दीसँगै रेगिस्तानको त्यो विरानो सहरमा हाम्रो भेट संयोग मात्र नभई आवश्यकता हुन पुग्यो। जीवन भोगाइका सारा व्यथाहरू भुलेर हामी निरन्तर पिइरहेका हुन्थ्यौं तर नितान्त फरक थियो हाम्रो पिउने उद्धेश्य। सायद ऊ अर्थात तिम्रो लोग्ने पिएपछि तिमीलाई भुल्ने गर्थ्यो अनि म। म चाहिँ तिमीलाई भुल्नको निम्ति पिउने गर्थे। मलाई थाहा छैन ऊ भ्रममा थियो वा म। तर म उसको कुरामा कदापि पनि विश्वास गर्न चाहदिनँ। थाहा छैन तिमीहरू बीचको सम्बन्ध टुक्रिनुमा गल्ती कसको थियो? सायद थाहा पाउन पनि चाहदिनँ।
आखिर तिमीले वा तिम्रा यादहरूले दिने केबल चोटहरू मात्र हो। त्यही चोट पाएर ऊ मुर्छित थियो। अनि त्यही चोटहरू गुमाएर म घायल थिएँ।
समय गतिशील थियो। तर त्यो रेगिस्तान भूमि, हाम्रो भेट, त्यो मेहफिल, हामी बाँचेको युग, ऊ भित्रको भ्रम, हाँसो तथा रोदनका सिलसिलाहरू अनवरत रूपमा उस्तै थिए। उसले एकदिन मलाई सोधेको थियो।
'के तपाईंले कसैलाई प्रेम गर्नुभएको थियो?' मैले मुस्कुराउँदै उसलाई भनेको थिए।
'जरुर तर त्यो केबल एकतर्फी प्रेममात्र थियो। उसले कहिल्यै पनि बुझ्न सकिन अनि मैले कहिल्यै पनि बुझाउन सकिनँ।'
ऊ पहिलो पटक दिल खोलेर हाँसेको थियो मेरोसामु। म पनि हाँसिदिएँ मनभित्र गुम्सिएका अनेकन रहस्यहरूलाई गुमनाम बनाएर। अनि हररात त्यो मेहफिलमा आँसुसँगै पीडाहरू बगाएर जिन्दगी जिउने भ्रममा पलपल मरिरहेका हुन्थ्यौं हामी। हामी अर्थात् तिम्रो लोग्ने र म।
××