कविता भावनाको कलात्मक अभिव्यक्ति मात्र होइन, होइन फगत कोरा शब्दहरूको सङ्गालो मात्रै। यो त आफैँमा जागरण पनि हो। चेत पहिल्याउने बाटो पनि हो। कविता आफैँमा नदी हो, निरन्तर चेतना प्रवाहित हुने नदी। अर्को नदी अर्थात् कालीगण्डकी। यी दुई नदीलाई जोड्ने प्रयत्न कालीगण्डकी बचाऔं अभियानले गरेको छ।
नेपालका मात्रै होइन, विश्वकै नदीहरूमाझ छुट्टै विरासत बोकेको नदी हो कालीगण्डकी। ऋषिहरूले सिद्धि र मुक्ति प्राप्तिका लागि र विज्ञहरुले पर्यावरणका लागि कालीगण्डकी बहाव क्षेत्रलाई अति उत्तम मानेका छन्। पारिस्थितिक प्रणालीको उपयोगिताले पनि कालीगण्डकी आफैंमा विशिष्ट नदी हो। यससँग लाखौं मानिसहरुको जीवन जोडिएको छ। स्थानीयका निम्ति जीवन मात्र होइन, जन्मदेखि मृत्युसम्मको जीविका र संस्कार जोडिएको छ।
दुर्भाग्य, अहिले कालीगण्डकीमाथि विभत्स अवैध दोहन चलिरहेको छ। कालीगण्डकीको पवित्र जल प्रतिदिन प्रदुषित बन्दै गएको छ भने नदीमा जलमात्रा पनि पनि घट्दो छ। नदीको सभ्यता, पर्यावरण र जिविकामाथि गम्भीर संकट पैदा हुने गरि गरिने दोहनका कारण घाटहरू विस्थापित बनेका छन्।
दामोदरकुण्ड–मुक्तिनाथदेखि कालीगण्डकीसँगै बगी आउने प्रशिद्ध शालिग्राम शिला डोजरले उत्खनन गरी गिट्टीमा परिणत हुँदैछ। नदीलाई नदीकै बाटो हिँड्न नदिँदाको परिणाम हामीले भोगिरहेका छौँ। यस्तै हस्तक्षेप कालीमाथि भइरहने हो भने त्यसले निम्त्याउने सङ्कट कल्पना बाहिरको छ।
त्यसैले, कालीगण्डकी नदीको वैविध्य (धार्मिक, साँस्कृतिक, भौगर्भिक, जैविक, प्राकृतिक, जनजिविका) लाई आममानिसका बीच परिचित गराउन र यसले बेहोर्दै आएको भयावह सङ्कटलाई विभिन्न विधामार्फत चेतना फैल्याउने अभियान आरम्भ भएको छ।
त्यसलाई कविता मार्फत मुखरित गर्न “कालीगण्डकी नदी सप्तक श्रृङखला” (आन्दोलन कविता) का रुपमा आयोजना गर्ने निश्चय ’कालीगण्डकी बचाऔँ अभियान’ ले थालेको छ।
यस अन्तर्गत पहिलो कविताका रूपमा प्रस्तुत छ मन्दक्रान्ता छन्दमा कविवर माधव घिमिरेको कविता– ‘कालीगण्डकी’।
कालीगण्डकी
माधवप्रसाद घिमिरे
माछापुच्छ्रे गिरिशिखरको पारमा मुक्तिक्षेत्र
बल्छन् बत्ती झलमल जहाँ भुलभुले मूलभित्र
तिम्रो जन्मस्थल छ पहिलो ज्योतिको दिव्य धाम
काली गङ्गा ! भनन कसरी कुँद्दछ्यौ शालिग्राम।
बेँसीदेखिन् बगरबगरै हाँसले लेक पुग्ने
छाया बग्लासरि लहरामा तीरका वृक्ष झुक्ने
घुम्छन् मैरै यस हृदयमा स्रोत तिम्रा पवित्र
गङ्गाजस्तै शिखर तपसी जह्नुका कोखभित्र।
‘यै कोल्टामा जडभरतले हो तपस्या गरेको
पानी भर्दा सुरयुवतिको स्वर्ण–पुष्पी झरेको
छोएजस्तै अभय भगवान् विष्णुका पाइलाले
बाँधेका छन् अमरपुरका शिल्प मेरा शिलाले।
फोरी अग्ला शिखर यसरी दूरसम्मन् घुमेथेँ
खस्रोमस्रो पनि सरसतासाथ मैले चुमेथेँ’
लेख्छौ क्यारे यति भनि तिमी चिन्ह के के शिलामा
‘मैलाई नै प्रकट कसरी गर्नु मैले कलामा।’
‘मान्छे तेरै हृदयमनि छन् गुप्त अज्ञात तन्त्री
ब्यूँझन्छन् रे विविध रँगका मूर्ति तैँबाट मन्त्री
सारा शोभा, सकल सुखको एउटै मूल तैँ होस्
मूर्छा तेरै हृदय छ भने सृष्टिको भूल तैँ होस्।’
यो मट्टीमा अकुशल कलाकारको मूर्ति रुन्छ
हाँसी हिँड्छन् पथिक, अरुको दर्द को आज सुन्छ
मेरो शिल्पी ! यस सकलमा स्वस्थ आकार देऊ
यौटै सानो सरल कृतिमा पूर्ण संसार देऊ।
छाया होओस् हरित वनमा फैलिने धूप होओस्
कैलेकाहीँ यस नगरमा डोलिने रूप होओस्
रूपैलाई अमरपुरमा साँचिने सीप होओस्
साक्षी मेरो विजन कुटिमा तैलको दीप होओस्।
मेरो सच्चा सुख छ दिनहूँ क्यै नयाँ सृजनामा
आफैँलाई पनि सृजनको सोखमा बिर्सनामा
आफ्नै छातीमनि स्वरसको मूल भेट्दैन जस्ले
तिर्खा कैल्यै पनि हृदयको हेर मेट्दैन त्यस्ले।
गर्दागर्दै परिश्रम जसै देश यो लस्त होला
हेर्दाहेर्दै चरम गिरिमा सूर्य जो अस्त होला
त्यै लालिकासित पलक यो ढालुँला शान्तिसाथ
काली तिम्रा बगरबगरै आउँला मुक्तिनाथ।
झूमा मेरी अमरवयसी शैलकी देवदासी
लोटेका छन् विपुल जसका पीठका केशराशि
यै सन्ध्यामा चमरि घिउमा दिव्य बत्ती जलाई
लैजाने छन् चरम गिरिको कन्दरामा मलाई।
बस्लान् बासा हिमशिखरको सूर्यका शेष रश्मि
छिप्लान् छाया मनि दिवसका रङ्गरेखा तिलस्मी
बस्लान् खाली अचल गिरिझैँ ध्यानमा मुक्तिनाथ
बाँधी दामोदर शिखरमा शुभ्र नक्षत्र सात।।
* (छन्द : मन्दाक्रान्ता, रचनाकाल : २०१५)