सामान्यतया घरमा माकुरोले जालो लायो भने घरमा ऋण लाग्छ, घरमा कलह हुन्छ वा घरमा नराम्रो हुन्छ भन्ने चलन हाम्रो समाजमा चलेको पाइन्छ।
अझ कतै-कतै माकुरीले जालो लाएर झुन्डियो भने घरमा पाहुना आउँछन् भन्ने चलन पनि यस समाजमा पाइन्छ।
पहिला पहिला घरमा पाहुना आउँदा यो समाजमा खुसी हुने परिवार रमाउने चलन थियो भने आजकल समाज व्यस्त भइसक्यो घरमा पाहुना आउँदा पनि व्यस्त समयमा खानदिन झ्याउ बेकारमा पाहुना आएर भनेर झिझ्झिन थालेको पाइन्छ र त त्यही माकुरीको जालोलाई खोजी खोजी फाल्ने चलन अथवा सरसफाइ राख्नको लागि पनि होला सिलिङमा जालो लागे पनि कुर्ची राखेर हटाउने चलन छ।
म एउटा अफिसमा काम गर्थें त्यो अफिसमा पाँच जना स्टाफ थियौं भने एक जना हाकिम सर हुनुहुन्थ्यो। हामी तीन जनाले त्यो अफिसमा पालैपालो बिहानमा झाडूपोचा गर्थ्यौं र दिनमा त्यही अफिसमा काम गर्ने गर्थ्यौं।
एकदिन अफिसमा मेरो झाडूपोचा गर्ने पालो थियो। झाडू लगाई सकेर म छेउको कुर्चीमा बसेको थिएँ। घरबेटी साहु सोफामा बसेका थिए, अनि हाकिम साब पनि अफिस आउनुभयो र आफ्नो कुर्चीमा बस्नु भयो। हामी सबैले आदर भाव जनाउँदै नमस्कार गर्यौं अनि सबै बसेर गफगाफ गरेका थियौं यतिकैमा घरबेटी साहुले आज बढार्ने पालो कसको हो तेरो हो? भनि मतिर हेर्दै सोध्नुभयो।
'मैले हो हजुर' भनें।
'अनि बढार्दा यो टेबुलमुनिको माकुराको जालो देखेनस्?' भनेर सोध्नुभयो।
अनि मैले 'सरी' भनेर कुचो लगाएँ। उताबाट हाकिम सरले भनिहाल्नुभयो 'आफ्नो घर भए पो राम्रोसँग बढार्थे। जाबो भाडाको अफिसमा के काम गर्थे।राम्रोसँग काम गर्ने मन भए पो गर्थे। यसको यहाँ काम गर्ने मन भए पो? यहाँ काम गर्ने मनै छैन अचेल साह्रै मात्तिएको छ। काम पनि मन लाएर गर्न छाडेको छ। अलि बढ्ता भएको छ' भनेर कराउन लाग्नुभयो।
मैले ङिच्च दाँत देखाएर 'हैन सर भूल भएछ सरी' भने।
अनि 'के को सरी भूल हु नि हो। यो झ्यालको, यो पंखाको, यो कुनाको जालो कसले फाल्ने? कि मैले फाल्ने? कि तेरो बाउले फाल्ने?' भनेर झन् चिच्याउन लाग्नुभयो म दाँत देखाएर उभिएको थिए, सरको चर्को बोली सुनेर त्यतिबेलासम्म वरपरका मान्छे जम्मा भइसकेका थिए। त्यत्तिकैमा एक जनाले थपिहाले 'यो अलि बढ्ता भएको छ तेरो कामै यत्ति हो त राम्रोसँग सफा गर्न सक्दैनस्' भनेका के थिए हाकिम सरलाई पुगिहाल्यो। जहाँ होचो, त्यही घोचो भनेझैं झन् चिच्याउन सुरू गर्दै कोठातिर लाग्नुभयो। जम्मा भएका ठूला ठालु भनौदा पनि आ-आफ्नो बाटो लागे।
म पनि मन अमिलो बनाउँदै कोठातिर लागें। मनमनै विचार गरें। सोचें, आफ्नै गल्थी नै हो जस्तो लाग्थ्यो। फेरि एक मनले राम्रोसँग यस्तो भएछ राम्रोसँग गरेस् केटा भनेको भएदेखि पनि भोलिदेखि कति राम्रो गर्थें होला सोचिरहें।
मान्छे सानो होस् वा ठूलो मन सबैको हुन्छ, चित्त सबैको दुख्छ। आत्मा सबैको हुन्छ। हाँसो, खुसी, पीर, उमंगले सबैलाई समाएकै हुन्छ फरक यतिमात्र हो ठूला मान्छेका इच्छाहरू ठूला होलान्। साथीभाइ ठूला होलान्। सानाका सानै होलान् तर समग्रमा मन र आत्मा सबैको हुन्छ। तर के गर्नु आफ्नो मजबुरीले गर्दा जेजस्ता परिस्थितिलाई पनि सामना गर्नुपर्ने बाध्यता र विवशतालाई मनैभरि खेलाउँदै कोठामा आइपुगेछु पत्तै नपाई।
कोठामा बुढीले ग्यास सकियो भनेर कराउँदा झसंग झस्किएँ। मनमा अर्कोतिर पीर ब्यथा, बह, गल्तीको प्रायश्चित, बोली व्यवहार धम्की। समाजको कुरा अझ भनौं अर्कोथरि आगोमा तेल थप्ने समाजको बोली, मन तितो बनाएको थियो, त्यसैमाथि कोठामा ग्यास सकिएर खानै नपाकेको अनि छिटो छिटो गरी ग्यासको डल्लो बोकेर पसलमा जान लागें। जाने बेलामा छोरीले मिठाइ भनेर रोई। ल ल ल्याइदिन्छु बस भनि फकाएर पसलमा गएँ।
जब पसल पुगें। साहुजीले 'नगद छ भने ग्यास छ, पैसा छैन भने ग्यास नि छैन तेरो हाकिम राम्रोसँग नबढारेर बिहान रिसाएर आगो भएका छन्। तेरो जागिरको टुंगो बुंगो छैन। जागिर गयो भने केले तिर्छस्' भनि मुखै भरिको जवाफ दिए।
त्यहाँ पनि मरेको मुख फिस्स पारेर एकवचन पनि बोलिनँ। छन् गेडी सबै मेरी छैनन् गेडी सबै टेडी यो समस्यै समस्याको जीवन, अभावै अभावको जिन्दगी कहिलेसम्म होला। आज बिहान बिहानै वचन खान लेखेको रैछ। कर्मलाई धिकार्दै मन तितो बनाउँदै फर्किएँ घरमा।
घरमा बुढी फेरि कराउन थाली। 'तँ जड्याहा गतिलो भए पसलेले दिँदैनथे। खाली जाड खाने हिँड्ने तेरो बानीले साह्रै दु:ख पाइयो। बस त मात्रै म त छोरी बोकेर हिँडें माइततिर बरु तँ जड्याहासित बस्नुभन्दा माइतीतिरै निमेक गरी खानुपर्ला' भनि कपडा पोको पार्न लागी।
ओहो! यो के आपत आइलाग्यो विरक्त लाएर आयो। म सम्झाउने प्रयासमा लागें उसले नमान्ने अड्डी कसी। झोला तानातान भएको थियो दुबै जनाको। त्यहीबेला छोरी जोडले रून थाली।
बाहिर गएर अनि माथिल्लो कोठाकी दिदी आएर मलाई नै गाली गर्न थालिन्। सोचें हाम्रो घरको झगडा यिनलाई केको चासो होला तर केही बोलिनँ उल्टै जाऊ, जाऊ बैनी माइतमा जाऊ। योसँग तिम्रो घरबार होलाजस्तो छैन। बरु राम्रो केटो खोजेर विवाह गर बैनी' भनेर उस्काउन थालेको पनि मेरै कानले सुन्छु।
बरु पल्लो घरकी सुन्तली दिदीले आएर सम्झाउन थाल्नुभयो 'यस्तै हो बैनी लोग्ने मान्छेको जात, कहिलेकाहीँ हात हाल्छन्, कहिलेकाहीँ माया गर्छन्,कहिलेकाहीँ सहनु पर्छ सानो कुरामा उठेर माइती जानुहुन्न' भनेर सम्झाउँदा-सम्झाउँदै बिहानको ११ बजिसकेछ। १० बजे अफिस जानुपर्ने मान्छे खानु न पिनु दगुरेर अफिस गएँ।
हाकिम सर रिसले चुर हुनुभएको रहेछ। अनि हकार्दै 'तेरो जागिर गयो यो प्राइभेट जागिर हो यहाँ तेरो लापरबाही चल्दैन। अहिलेसम्म जे गरिस्, गरिस् अब आउनु पर्दैन। तेरो यहाँ रहेको यत्ति नै हो बुझिस्' भनेर पाँच सय निकालेर हातमा थमाइदिए।धेरै बेर माफ मागें। अब गल्ती गर्दिनँ। राम्रोसँग गर्छु भनेर बिन्ती बिसाएँ। अह हाकिम सरले टसमस भएनन्।
घरको समस्या बताएँ। बुढीको कहानी सुनाएँ। पसलको वृत्तान्त कहें। अझै पनि मन पगाल्न सकिएन। अन्तिममा आँखाबाट तुरुक्कै आँसु झारेर जुरुक्कै उठेर खुट्टैमा पाउ परें। अब त मान्लान् भनेको अझ झन् कड्किए।
'तेरो बाउको घर होइन मन लाए आउनी, मन नलाए नआउनी तेरो राम्रो व्यवहार हुन्थ्यो भने बुढी माइत जान्थी!' उल्टै मैमाथि आरोप लगाए। सँगै काम गर्ने स्टाफले पनि त्यसैमाथि थपे 'यसको सर यहाँ काम गर्ने मन अस्तिदेखि नै थिएन। नत्र राम्रोसँग काम गर्थ्यो नि सर' भनेर थप्यो।
सहकर्मीले त यसरी खुट्टा तान्न थाल्छन् भने हाकिमले कमीकमजोरी भेटे के बाँकी राख्लान् त!
कत्ति पटक हाकिमले हपारे, सहें। पिट्न कस्सिए, त्यो पनि सहें। कतिपटक चोटिला र पेचिला बचन रूपी वाण प्रहार गरे होलान्।
धेरै पटक सहें। कैयौं पटक ज्यान भाको बुद्धि नभाको भने, त्यो पनि सहें। भन्न त मलाई नि आउथ्यो नि, 'सर तपाईंसँग बुद्धि नाप्ने यन्त्र छ र कि कसैको केही कमजोरी भयो भन्दैमा बुद्धि नै नभाको हुन्छ र? यो संसारमा सबै-सबै कुरामा दख्खल भएको कमै होलान्। कोही न कोही को कुनै न कुनैमा कमीकमजोरी पक्कै छ' तर सबै सहें।
किनकि गरिबी, अभाव र कमजोरीले नै पक्कै पनि सहेको हुँला। कुनै पनि मान्छेले हरेक चोट, व्यथा, हेपाहा, पीर सबै सहेको हुन्छ भने कुनै न कुनै डर र कमजोरीले सहेको हुँदोरैछ। यो मेरो जीवनको भोगाइबाट मैले सिकेका अनुभव र अनुभूति हुन्।
यस्तै समयको पर्खाइमा बस्दा रहेछन् सारा संसार। छन् गेडी सबै मेरी छैनन् गेडी सबै टेडी, पीर मान्दै कोठामा आएँ। आउँदा त कोठामा ठूलो ताल्चा पो मारेको र छ। बुढी त हिँडिछन् माइततिर।
एकैछिन कोठाको बाहिर टाउकोमा हात राखी बसें। सोचें मलाई यस्तो आपत परेको बेलामा मैमाथि जाइलाग्ने बुढीलाई ज्यान गए लिन जान्नँ। फेरि सोचें कहिले कसको दिमागले काम गर्दैन कहिले कसको दिमागले काम गर्दैन। यसरी जीवनको गुजार चल्दैन, कहिले ऊ आगो म पानी, कहिले म आगो ऊ पानी भन्ने सोचेर बुढी लिनलाई लुखुरलुखुर ससुरालीतिर हिँडें।