मनको कुनामा त्यो आशा अनि
धेरै दिन निराशा
हिँड्दै अबोध यो हृदयमा सपना रोपेर,
हिँडदै छु, कहिले कहाँ सपना बोकेर सपनाको भूमरीमा
काठमाडौँ एउटा बिरानो सहर।
कहिल्यै नसकिने पढाइको यात्रा
अनि पौडेर यो सपनाको सागर
तिमीभन्दा लाखौं गुणा अझ धनी मानिस छन्
मनले र सुख सयलले यहाँ
दौडेर चन्द्र छुन खोजे
अझै पनि मेरा लागि
काठमाडौँ, एउटा बिरानो सहर।
सपनाको सागर बोकेर हिँडेको म
कहिले त्यो गल्ली या ठूला-ठूला निर्माण गरिएका सडक
उक्लँदो जीवनको जोस-जाँगर
अझै पनि मेरा लागि
काठमाडौँ, एउटा बिरानो सहर।
चारैतिरको बन्द विचार
यो मेरो प्रतिबिम्ब हिँडेको म?
कसैले यो गर, त्यो गर भन्छन्
उनीहरुको सुझाव भनुँ या डर र त्रास
वरपर हेरी देख्न नसक्ने
केबल मेरा लागि
काठमाडौँ, एउटा बिरानो सहर।
सत्य नचिन्ने यहाँ झुठ अंगाल्ने
वातावरण नै दुषित पार्ने
उकालो-ओराली उदाउँदै
यी साँघुरा गल्लीमा वर्ष दिन बितिसकेछ
मान्छे हो तर आत्माहीन यहाँ
केबल मेरा लागि
काठमाडौँ, एउटा बिरानो सहर।
दुई मुठी चामल कमाइ
एक मुठी सास किन्न
लाखौँ थोपा पसिना बगाई
भोलिका लागि खुसी बटुल्न यहाँ
केबल मेरा लागि
काठमाडौँ, एउटा बिरानो सहर।
आँसुको तालमा बगिरहेछु
क्षणिक रमाइलोमा रम्ने ठाउँमा
भोलिको भविष्य कसरी खोजुँ
यो ठूलो सहरको, मैदानमा खै!
यति सुन्दर कान्तिपुरी मेरा लागि धिक्कार
काठमाडौँ, एउटा बिरानो सहर।