'आँखाको नानीभित्र कसैलाई राख्ने कुरा कतिको साँचो हो?'
उसको प्रश्नले म अलमलिएँ।
'साँच्चीकै त्यति सानो नानीभित्र मान्छे नै त अटाउँदैन होला!'
उसका प्रश्नहरु यस्तै हुन्छन्। म कहिले अलमलिन्छु त कहिले आफूले जानेको बताउँछु।
ऊ सानी। मान्छे पनि सानै छे। घरकी कान्छी छोरी हो। सबैले सानी भन्दाभन्दै स्यानी भन्न लागिसके। ऊ बिस वर्षकी हुँदा पनि स्यानी नै भई। सायद बुढेसकालमा पनि स्यानी नै हुन्छे।
तर उसका सपनाहरु ठूला छन्। घरी चन्द्रमा देखाउँदै भन्छे, 'म त्यहाँ गएँ भने पहिला तँलाई नै लैजान्छु।'
म हाँसेर उसका कुराहरुलाई विश्राम दिन्छु।
घरी तारालाई हेर्दै भन्छे, 'म त्यहाँ गएँ भने तँलाई देख्न सक्छु कि सक्दिनँ?'
म के भन्नु? उसको मनभित्र प्रश्नको थुप्रो छ। मभित्र जवाफको पित्को पनि छैन।
घरी बिल गेट्स बन्ने सपना देख्छे। विचरा!
अहिले स्कुलको लागि नयाँ झोला किन्ने पैसा छैन ऊसँग।
बाको फोटो देखाउँदै भन्छे, 'उहाँ भएको भए कति माया गर्नुहुन्थ्यो होला!'
उसकी आमा नजिकै स्कुलमा पियनको काम गर्छिन्। जेनतेन उसलाई सरकारी स्कुलमा पढाएकी छन्।
बेलाबेला भन्छे, 'मैले सपना देख्ने ठाउँ पनि रहेजस्तो लाग्दैन। समयको परिबन्ध र अवस्थाले बाँध बनाएको छ म र मेरा सपनाहरुको बिचमा।'
सायद मसँग त्यो सामर्थ्य हुँदो हो त उसका सपनाहरुलाई बाटो देखाउँथेँ, उसलाई चढाउँथेँ त्यो विमान जसले उसका उच्च कोटीका सपनाहरुलाई पूरा गर्न सकोस्। खैर, नभएको कुराको बारेमा सोच्नु पनि व्यर्थ हुन्छ।
'सबैले शून्यबाट सुरु गर्छन्, म पनि त्यस्तै यात्री हुँ,' ऊ आफै चित्त बुझाउँछे।
'चित्त पनि बुझाउनु पर्ने!
को होला त्यो जसले चित्त लिन्छ?
कसलाई बुझाउछौ हामीले चित्त?'
फेरि उसको मुखारबिन्दुबाट प्रश्नहरु निस्किन्छन्। कुनै झरनाबाट झरिरहेको निर्मल जल जस्तै। न रोक्न सक्छु न बाटो देखाउन। आखिर म गर्न के सक्छु? बल्ल आफूलाई प्रश्न गर्न मन लाग्यो।
जवाफ फेरि कहाँ भेटिने हो?
ग्यारेजको काम सकेर घर जाँदै थिएँ। ऊ दौडिँदै आई। ठुलै कुरा प्राप्त गरेपछिको खुसी उसको अनुहारमा झल्किरहेको थियो। मैले सोध्ने मौका नपाउँदै आफ्ना मनभित्रको खुसी बाहिर निकाल्न लागि।
'आठ कक्षामा जिल्लामै दोस्रो भएँ। स्कुलमा प्रथम! यो खुसी मैले कसरी व्यक्त गरुँ?'
अङ्गालोमा कस्दै भनेँ, 'तेरा सपनाहरुले बाटो बनाउँदै छन्। तैले त्यो बाटोको संरक्षण गर्नुपर्छ।'
ऊ धेरै खुसी थिई। उसले मेरो कुरा नबुझेजस्तै आभाष हुँदै थियो। 'मलाई के दिन्छस्?'
'मसँग के छ? के दिउँ?' यी प्रश्नहरु उसलाई गर्ने ठाउँ छैन। आफैलाई गरेँ।
जवाफ त कुन्नी के हो।
'मसँग भएको मेरो तन र मन हो। जुन पहिल्यै तेरो नाममा सुम्पिसकेको छु।'
'ह्या! लोभी।'
उसको यस्तो जवाफले मेरो मन पिरोलियो।
'पहिल्यै दिएको कुरा फेरि दोहोर्याएर दिन मिल्छ र?'
उसको प्रश्नमा सत्यता थियो। मेरो जवाफमा वास्तविकता।
केही दिनपछि ऊ पुन: ग्यारेजमा आई। उसको अनुहारमा दोधारता छाएको थियो।
'के भयो?'
मेरो प्रश्नमा ऊ अनुत्तरित थिई। केही समयको शून्यतापश्चात् सुनाउन लागि।
मामाघर बसेर पढ्ने कुरा भएछ। उसको मामाघर टाढा छ। ऊ त्यहाँ रहुन्जेल म एक्लै रहनुपर्ने भयो। उसको भविष्य राम्रो हुने भएपछि मैले के भन्ने? सायद उसका सपनाहरु पूरा हुन्छन् कि!
ऊ निराश थिई, मैले मुस्कुराउँदै भनेँ, 'केही पाउन केही गुमाउन सक्नुपर्यो नि।'
तर उसलाई मामाघर जाने मन पटक्कै थिएन। अङ्गालोमा कस्दै सहानुभूति देखाएँ। ऊ पनि मुस्कुराई। चौपारीमा बसेर धेरैबेर गफियौँ।
अब धेरै दिनको सम्झना एकैपटक मेट्नु थियो। आत्मियता सङ्गालेर राख्नु थियो। माया बाँधेर राख्नु थियो।
निराश भाव लिएर ऊ बिदा भई। मुटुमाथि ढुंगा राखी बिदाइका हात हल्लाएँ।
विस्तारै दिनहरु बित्दै थिए। मेरो सबैथोक भन्नु नै ऊ थिई। मेरो सपना, आशा, भरोषा सबै ऊ थिई। सबैलाई चटक्कै पर राखेर एक्लै बस्नु साँच्चीकै गाह्रो हुँदोरहेछ। चौपारीमा शून्यता छायो। बर्खामा पनि वातावरण उजाड जस्तै लाग्थ्यो। साँच्चीकै आज म एकान्तको पीडादायी अनुभव भोगिरहेको थिए। प्रतिक्षामा थिए उसको, जसले मेरा सपना चाहना लिएर फरार भएकी थिई एक अपरिचित ठाउँमा।
दसैँ बिदाको प्रतिक्षामा थिएँ। ऊ आउँछे र मनमा दबेर बसेको प्रेम अभिव्यक्त गरौँला भन्ने ठूलो सपना साँचेको थिएँ।
दसैँ बिदा आयो, गाउँघरमा रमाइलो आयो। ऊ आइन। म उसको घरमै जाने निर्णय गरेँ। गाउँघर सबैतिर रमाइलो थियो, थिएन केबल उसको घरमा। थियो केबल शून्यता, उजाडता।
उसको घरभित्र पस्ने आँट आएन। बाहिरबाट उसकी आमालाई बोलाएँ। आइन्। अनुहार निराश थियो। मलाई देख्नेबित्तिकै मुस्कुराउँदै सोधिन्, 'बाबु के-कति कामले आयौ नि?'
अचानक उसको परिवर्तित अनुहारले मलाई प्रश्नको भूमरीमा धकेल्यो।
'स्यानी खै त?'
'ऊ त मामाघरतिरै छे। उनको जवाफमा झुट प्रस्टै देखिन्थ्यो। स्यानीका पुस्तकहरु खाटमा छरिएका थिए।'
मैले धेरैबेर कचकच गरेपछि स्यानी बाहिर आई।
ऊ पहिलाजस्तो खुसी थिइन। उसका सपनाहरुले उसको मन-मस्तिष्कबाट बाहिर निस्किने फैसला गरिसकेका थिए। जस्तो आभाष हुन्थ्यो।
ऊ केही बोल्न चहान्नथी।
मैले हजार पटक बिन्ती बिसाएँ।
मेरो मायाले हो कि विश्वासले, उसले आफ्नो वेदना मेरो अङ्गालो भित्र कसिएर सुनाई।
ऊ आफ्नै मामाको छोरा दाजुबाट शोषित भई। उसको इज्जत दाउमा लाग्यो। समाजमा नाम खराब हुने डरले ऊ चुप थिई।
म चाहेर पनि के गर्न सक्थेँ र? आखिर मजस्तै पुरुषबाट ऊ शोषित भई। आखिर म किन पुरुष भएँ? जवाफ त मसँग कहिल्यै भएन। सायद एक महिला भएको भए उसलाई नजिकबाट बुझ्न सक्थेँ!
उसको निर्णय 'आत्महत्या'।
मैले कसरी विश्वास गर्ने?
म पनि शोषित भएँ। आफू पुरुष भएकोमा घृणा जाग्यो। लाग्यो म नारी भएको भए! म तेस्रो लिङ्गी हुँदो हुँ सायद।
'सानी मलाई माफ गर। मैले तिम्रो रक्षा गर्न सकिनँ। नारी हुनु नै तिम्रो गल्ती भयो कि! मलाई धिक्कार छ एक पुरुष हुनुमा।'
घरभित्रको कुरा बाहिर आउन दिएनन्। यहाँ नारीको चरित्र झुण्डिएको छ पासो लिएर पिपलको रुखमा। साना कुराले पनि उसको हत्या भइहाल्छ। कति सजिलो?
चरित्र बनायो कसले? अधिकार मसँग हुँदो हो त यो चरित्रलाई समाप्त पारिदिन्थेँ सदाका निम्ति।
कानुनी सहयोगको सल्लाह दिएँ। आखिर म को हुँ उनीहरुलाई सल्लाह दिने?
जोशमा थिएँ। लाग्यो त्यो लामखुट्टेलाई बाच्ने अधिकार छैन। आज स्यानीमाथि हमला गर्यो भोलि अर्कोलाई गर्न सक्छ। मेरो अघिपछि कोही छैन। एक पाप गर्न मन लाग्यो। पापीलाई विलय गराउन कस्तो पाप?
महाभारत पनि भएकै हो त। पाप नगर्नेहरु पनि पापको भागिदार भए। पापलाई समर्थन गर्ने सबै पापी हुन्।
त्यो परिवार पनि त पापी भयो नि! कुरा दबाउन खोज्दै छन्। उसकी आमा। माताले कसरी सहन गर्न सक्छिन्?
ऊ आफै कसरी सहन गरिरहेकी छे?
ऊ आफै ठूलो पाप गर्न जाँदैछे। उसलाई थाहा छ?
मेरो सपना थिई ऊ। कसैले आफ्नो सपनामाथि प्रहार गरिरहँदा म कसरी चुप बस्न सक्छु?
कम्मरमा खुकुरी भिरेर निस्किएँ। एक पापीको अन्त्य गर्नको लागि। शब्दको सहारामा मैले कुनै पापीको अन्त्य गरेँ।
यो शब्दको मैदान हो। के साँच्चीकै दुनियाँमा यस्ता पापीहरुको अन्त्य भएको छ?
के थाहा म आफैले कसैलाई पापी ठहर गर्दा अर्को पाप गरिरहेको छु कि!
यति सजिलै कसरी पाप गर्छन् यी राक्षसहरु।
आफ्नै द्वारा असुरक्षित छन यहाँ कयौँ नारीहरु। अझै नारीबाटै असुरक्षित छन्। कहिले पोख्छन् आफ्नो मनभित्रको ज्वाला, न्यायको मैदानमा। आँखा नदेख्ने कानुनले कहिले खोल्छ आफ्नो आँखामा बाँधेको पट्टि?
आँखा हुँदाहुँदै पनि किन चिम्म गरिरहेको छ यहाँ कानुन? कसले नदेख्ने बनायो? दुई/चार प्रतिनिधिले होइन र?
सबैतिर पाप मात्र घुमिरहँदा म आफूले न्याय गर्न मन लाग्यो। स्यानीलाई न्याय दिन मन लाग्यो। त्यो पापीको अन्त्य सँगै अन्त्य भए मेरा आवाजविहीन शब्दहरु। कैद भए निर्जीव पानाहरुमा। बल्ल होस आयो, मैले आफ्नो स्वार्थको निम्ति 'स्यानी' एक पात्रलाई शोषित हुन बाध्य बनाएँ। मलाई साँच्चै लोभी बन्न मन लाग्यो। दबाएँ ती असीमित शब्दहरुलाई। रोकिदिएँ उनीहरुको आवातजावत गर्ने माध्यम। रोकिए औँलाहरु, खस्यो औँलाको सहारामा चलिरहेको कलम।
अँध्यारो दुनियाँमा प्रकाशको आशामा बन्द गरिदिएँ त्यो डायरी सदाको निम्ति। ताकि अन्य स्यानीहरु शोषित हुन नपरोस् आफ्नैबाट, अरु कसैबाट।
स्यानी पनि खुसी भई। उसले स्वतन्त्रताका प्वाँख अङ्गाल्दै निस्किइ उसका सपनाहरुले देखाएको मार्गमा। साँच्चै ऊ खुसी थिई। उसको खुसीमा म पनि खुसी हुँदै शुभकामना दिएँ।
वाचा गरेँ अब सबै पात्रहरुलाई न्याय दिनेछु। म पनि न्यायाधीश बन्ने छु।