मानौं कुनै अलौकिक अट्टालिका हो यो
अग्ला-अग्ला पर्खालहरूले घेरिएको
सीमान्त हाताभित्रको शेष भूखण्डभन्दा
नितान्त पृथक
राजधानीको मुटुमा अवस्थित
देशको केन्द्रीय सचिवालय, सिंहदरबार हो यो।
देख्दा त छ अत्यन्त राम्रो!
चारैतिर बनाइएको कलात्मक कौसी, सिसिटिभीले सुसज्जित
विस्तृत परिसर, फराकिला र चिल्ला सडक
गज्जबको तडकभडक।
अशोका, गुलमहर र शिरीषको सघन छहारी
किन्तु अग्ला पर्खालले परिवेष्टित यो दरबार
बडो रहस्यमय छ, अथाह छ, र अगम्य छ।
रुकुम, रोल्पा र जुम्लाको कुरै छाडौँ
मुगु, कालीकोट र हुम्लाको कुरै छाडौँ
त्यही परको जीतपुर फेदी पनि
सिंहदरबारभित्र पस्नै डराउँछ
कदाचित् पसिहाले पनि
गन्तव्यमा नपुगी, बीचमै हराउँछ।
बेलायती बैठकको भुलभलैया!
दुब्लो मान्छे घ्याम्पे देखिन्छ
पुड्को मान्छेले दलिन छुन्छ
बहुरूपी ऐनाको कमाल!
नपत्याउनु वास्तविकता अर्कै हुन्छ।
तोडिनुपर्छ बहुरूपी सिसाका ऐनाहरू
अब साँच्चीकै दर्पणहरू राख
वास्तविक र पारदर्शी
जसमा देखियोस् वर्तमानको छर्लङ्ग स्वरूप
भत्काइदेऊ सिंहदरबारका अग्ला पर्खालहरू
जीर्ण अति जीर्ण भैसकेका छन्
हिजोअस्तिका चारखालहरू।
हरेक नेपालिका हत्केलामा चुलिनुपर्छ अब
आस्थाका अग्ला सगरमाथाहरु
पारदर्शी प्रशासन मात्र बन्न सक्छन् अब
सुशासनका आधारहरु
त्यसैले आऊ अलौकिक अट्टालिका होइन
यसलाई जनताको सिंहदरबार बनाऊ
सहज, सरल र सुगम
जनताको वास्तविक सिंहदरबार बनाऊ।