कालीगण्डकी बचाऔँ अभियानले कविता शृङ्खला ‘नदी सप्तक’ सुरुआत गरेको छ। अभियानले कालीगण्डकीमाथि रचिएका कवितालाई ‘पोस्टर कविता’का रुपमा शृङ्खलाबद्धरुपमा सम्प्रेषण गर्न थालेको हो।
कालीगण्डकी नदीको वैविध्य (धार्मिक, साँस्कृतिक, भौगर्भिक, जैविक, प्राकृतिक, जनजिविका) लाई आममानिसका बीच परिचित गराउन र यसले बेहोर्दै आएको भयावह सङ्कटलाई विभिन्न विधामार्फत चेतना फैल्याउने अभियान आरम्भ भएको छ ।
त्यसलाई कविता मार्फत मुखरित गर्न “कालीगण्डकी नदी सप्तक श्रृङखला” (आन्दोलन कविता) का रुपमा आयोजना गर्ने निश्चय ’कालीगण्डकी बचाऔँ अभियान’ ले थालेको छ । यस अन्तर्गत प्रस्तुत छ कवि श्रवण मुकारुङको कविता– ‘ हे कालीगण्डकी’।
ए कालीगण्डकी
......... .........
ए कालीगण्डकी...!
हे आमा गण्डकी...!
माकुरोको माउ भयो
तिम्रो जिन्दगी
तिम्रो अमृतधारा पिई
हुर्किएका सन्तान
तिम्रै मुटु कलेजा पो
कुटुकुटु खान्छन्
ए कालीगण्डकी...
तिम्रो नाम कैलाशदेखि
काशी गंगासम्म
तर तिम्रै काख रित्तो
लुटे शालिग्राम
ए कालीगण्डकी...
तिम्रो निश्चल बगाइमा
हिमाल ऐना हेर्थ्यो
कौडा नाच्थे डाँफे मुनाल
घामले भाका फेर्थ्यो
ए कालीगण्डकी...
यता गैह्रो उता पैह्रो
त्चँ ! त्चँ ! कठैबरा
कुन विरह बोकी बसाइँ
सर्यो पानीचरा
ए कालीगण्डकी...
पुर्खा थिए माहुरीझैं
तिमी तिनको रानी
तर तिम्रो सन्तान चैं
तिम्रै मलाम जानी
ए कालीगण्डकी...
लाज, घिन, पाप, धर्म
छैन कुनै डर
आफ्नै आमा बेची मान्छे
बनाउँदैछन् घर
ए कालीगण्डकी...
श्रवण मुकारुङ - भोजपुर