निलो आकाश
पारिलो घामको साथमा
आँगनमा छु अहिले
उत्तर दिशामा देखिन्छन्
टलक्क टल्किएका धारिला हिम श्रृङ्खला
त्यहींबाट निरन्तर बहँदै
मसम्म आइपुगेको छ
शरदको चिसो बतास।
यो चिसो बतास
फगत्, बतास मात्र होइन
आफूसँगै बोकेर ल्याउने
पर्व, मिलन र खुसीहरुको
संवाहक हो, मिठो आभाष हो
नयाँ नाना र मिठो खाना हो
उज्यालो र आत्मियता हो
जन्मस्थल र बालापनको
प्रिय यादहरू हो।
त्यसैले,
प्रिय बतास, तिमी
सन्तानको प्रतिक्षामा पिँढीमा बसिरहने
बुवा-आमाको आँगनमा बहनू
आमा-बुवा टाढा रहेको
सन्तानको आँगनमा बहनू
छिमेकी, साथीभाइ, आफन्त
सबै-सबैको आँगनमा बहनू
गाउँमा, शहरमा, देशको हरेक घरमा
अथाह खुसी लिएर बहनू
मिठा पलहरु भएर बहनू।
हामी तिम्रो आगमनमा कृतज्ञ छौँ
हामी तिम्रो स्वागतमा प्रसन्न छौँ।