हिजो धेरैपछि बाटोमा तिमीलाई देखेर मनमा खुसीका कैयौँ ज्वारभाटा उठेझैँ महसुस भयो। म त बन्द आँखाले पनि तिमी मेरो आसपास भएको महसुस गर्न सक्छु। फेरि पनि एकछिनको लागि मलाई मेरा आँखामाथि विश्वास लागेन। फेरि फर्केर हेरे, हो रैछ। त्यो तिमी नै थियौ।
म आफ्नो खुसी सम्हाल्नै नसक्ने भएको थिएँ। आखिर के नै चाहिन्छ मलाई खुसी हुनलाई? कसैले तिम्रो नाम लिइदिए हुन्छ कि तिम्रो एक झलक पाइदिए हुन्छ। धेरैपछि मेरो मनमा ती खुसीको वर्षा भएको थियो। तिम्रो एक मुस्कान नै काफी छ मेरो मनमा सुनामी ल्याउनलाई।
मलाई त तिम्रो नाम नै कति मिठो लाग्दो हो, कति प्यारो लाग्दो हो। झन् तिमी त कति न कति। कति महिनापछि शितल भएका थिए यी मेरा अनिदोँ आँखाहरु। हजारौंको भिडमा तिमी भएको आभासले मलाई त्यो भिडमा रमाउने बनाई अतिविघ्न खुसी तुल्याएको थियो। मानौँ हराइसकेको प्यारो कुरा पाएजस्तो। अनुहार त मेरा आँखाअगाडि कति थिए कति तर ती हजारौंको भिडमा तिमी नै खास थियौँ।
महिनौँपछि आज फेरि साह्रै राम्रा लागे ती सडक, र ती सडक किनारमा फुलेका लालुपातेका फूल। साथै फूलेका थिए कति फूल त मेरो अन्तरमनमा पनि। तिम्रो आभास मात्रैले म मगमग भएकी थिएँ। अनेकौँ गीत गुन्जिएका थिए हावामा। म पागल अथाह, मनलाई सम्हाल्नै नसक्नेगरी खुसी भएकी थिएँ।
महिनौँपछि आफ्नो लागि हाँसेकी थिएँ। नत्र त प्रायः हाँसिदिने गर्थे। महिनौँपछि मुटुमा रक्तसञ्चार भएझैँ लाग्यो र ढुकढुकी चलेझैँ महसुस भयो। जिन्दगी राम्रो लाग्यो। खै के महसुस हुँदै थियो थाहा भएन तर जे थियो म रमाउँदै थिएँ। आज न त ओठको मुस्कान झुट थियो न त आँखाको चमक। खै किन सब सही लाग्दैथियो।
तर ती खुसीलाई समेट्न नपाउँदै, तिम्रो आभासमा रमाउनै नपाउँदै, लालुपातेको फूल ओइलाउनै नपाउँदै, हावामा तिम्रो बास्ना महशुस गर्नै नपाउँदै, र आफ्नो खुसीको सीमा नाप्नै नपाउँदै, आफ्नो ढुकढुकी छाम्नै नपाउँदै एक्कासी मेरो मनले मलाई अन्तै डोर्यायो। अझै अन्योलमा थिएँ म कि मनले मलाई सोच्न विवश तुल्याएको कुराको दोष तिमीलाई दिऊँ कि नदिऊँ?
नानाथरीका कुराले मनलाई अस्थिर बनायो। मनमा अझै सुनामी थियो तर अचानक त्यो सुनामी खुसीभन्दा पीडामा परिणत भएको थियो र त्यसको छालले अनेकौँ चोट पुर्याइराखेको थियो यो मनमा। अनि के यो चोटको दोष तिमीलाई दिऊँ? एकैछिनमा छियाछिया भएर दुख्यो मुटु। अघिको ढुकढुकी अनेकौँ प्रहारका रूपमा दिलमाथि घाउ थिए र म त्यो पीडा सहने कोसिसमा लागिपरेकी थिएँ। के त्यो घाउको दोष तिमीलाई दिऊँ?
सोचेँ, तिमीले पनि त मलाई हेरेका रैछौ। अनि के उठेनन् त तिम्रा मनमा खुसीका ज्वारभाटा? के खुल्दुली भएन तिम्रो मनमा मलाई छेउबाट जाँदै गरेको हेरेर? के मन लागेन तिमीलाई एकछिन त मलाई रोकेर मेरो खबर सोधिहाल्न? के भएन तिम्रो मन मलाई अँगालोमा बाधिहाल्न?
म जवाफ थाहा भएकै प्रश्नहरूको माला खै किन फेरि उन्दै थिएँ। खै किन जानीजानी उपचारै नभएका घाउ आफै खोतल्दै थिएँ। आखिर जवाफ त थाहा नै थियो मलाई सुरूदेखि नै। ती जवाफ जुन मलाई फिटिक्कै मन पर्दैनथे। ती जवाफ जुन कि मलाई मेरो प्रश्नहरूको लागि कहिल्यै उपयुक्त लागेनन्। ती जवाफ जसले आफूभित्र अनेकन पीडा बोकेका थिए। या फिर ती जवाफ जुन सायद सही थिए। अनि के यो जवाफ न स्वीकारेर दुःख अंगाल्नुको दोष आफूलाई दिऊँ?
मलाई थाहा थियो। हो! अवश्यै उठेनन् होला ज्वारभाटा। हो! पक्कै भएन होला खुल्दुली। हो! नभएकै होला मन मेरो खबर सोधिहाल्न। आखिर किन हुन्थ्यो र? हेरि त हाल्यौ नि कि म बाँचेको छु। त्यही त काफी छ नि तिमीलाई। जसरी बाँचे नि तिमीलाई फरक कहाँ पर्छ र? तिमीले थोडि न मेरो मनभित्रको पीडा हेर्न चाहन्छौँ।
भन्छौँ कि तिमी आँखा पढ्न सक्छौँ अरे! अनि किन देखिँदैनन् मेरा आँखामा प्रष्ट भाषामा लेखिएका तिम्रो लागि मायाको कथा। तिमीलाई त थाहा छ नि कति माया छ यो मनमा तिम्रो लागि। अनि किन बुझ्दैनौ त यी मनका कुरा? हो, मेरो दिलको दोषी हो तिमी। तिमीलाई दोष लगाएर आफ्नो मनको चोटमा मल्हम लगाउने प्रयास गर्न चाहेको थिएँ मैले सायद।
तर सकिनँ। तिम्रो गल्ती पनि त होइन नि। तिमीलाई दोष दिन यो मनले मान्दैन। हुन त दोष दिन बडा सजिलो छ तर मेरो मनले सकेन। चकलेट हैन नि देखेर पाउनलाई, माया हो लेखेर पाइन्छ। एकतर्फी माया मेरो हो। पीडा पनि मेरो एकतर्फी नै हुन्छ। राम्रो लाग्नु, मन पराउनु र माया गर्नु बिचको अन्तर मलाई एकदम राम्ररी थाहा छ। फेरि पनि दिल कमजोर हुन्छ। माया आफैमा बलियो भए पनि यसले मान्छेलाई कमजोर बनाउँछ। हो! म कमजोर भएको थिएँ।
मनमा अनेकौँ कुरा खेलाउँदै म घर फर्कें। मानौँ समय रूकिसकेको थियो। घडीमा सुईका खुट्टा टुटेझैँ र समय अनसनमा बसेझैँ बित्नै मानिरहेको थिएन। रात भारी हुँदै थियो। साथसाथै अँध्यारो पनि। रातभरि बिछ्यौनामा कोल्टो फेरि बसेँ। मनमा अनेकौँ हलचल हुँदै थियो। आँखामा आँसु पनि थिए, अतीतका झझल्को पनि, तिमी पनि थियौँ, र तिम्रो त्यो मन्द मुस्कानको तस्बिर पनि।
थिएन त बस् निन्द्रा। मनमा तिम्रो याद त थियो थिएन त बस चैन। आज न त आकाशमा चन्द्रमा थियो न त मेरो मनमा शान्ति। मानौँ दुइटै हराएका थिए। सुनसान थियो आकाश चन्द्रमाको विरहमा र बेचैन थिएँ म तिमीलाई सोचेर। बर्सिँदै थिए आकाश र मेरा आँखा पनि। आकाश कसको सम्झनामा रूँदै थियो थाहा छैन तर मेरा आँखाको आँसुको कारण मलाई थाहा थियो। सोच्दै बसेँ रातभरि कि आखिर के पाएँ त मैले यो मायामा? वर्षौं बिताएँ र अझै कति वर्ष तिम्रै यादमा बिताउँछु थाहा छैन।
अनेकौँ कुरा मनमा छन् जुन भन्नु छ तिमीलाई। अनेक भावनासँग ज्ञात गराउनु छ तिमीलाई। मायाको भावना, तिमीप्रतिको चिन्ताको भावना, आफ्नोपनको भावना, मेरो पीडाको भावना, ईर्ष्याको भावना। बताउनु छ तिमीलाई कि मेरा सब बाङ्गोटिङ्गो मुक्तक र नमिलेका गजलमाथि मात्रै तिम्रो अधिकार छ।
मैंले साउनमा लगाउने मेहेन्दी र मेरो तीजको पूजामा पनि मात्रै तिम्रो जिकिर छ। मैले आँखामा लगाउने गाजलको पछाडि मैले आज पनि तिम्रै तस्बिर लुकाएकी छु। आज पनि तिम्रो नामसँग आफ्नै नाम जोडेको प्यारो लाग्छ, अरूको हैन।
हो! जल्छु म ती हरेक आँखाबाट जसले तिमीलाई सधैँ हेर्न पाउँछन्, जल्छु म ती हरेक बाटोबाट, जुनमाथि हिँडेर तिमी गुज्रिने गर्छौँ, जल्छु म ती हरेक घरबाट, जुन तिम्रा घरका अगाडि अडिक भएर उभिएका छन्, जल्छु म हरेक ती फोन नम्बरसँग जसलाई तिमीलाई फोन गर्ने छुट छ, जल्छु म ति हरेक हावाको झोकाबाट जो तिमीलाई स्पर्श गरेर बहने गर्दछन्।
सोच्छु जब मिल्ने नै नभए किन भेटेँ म तिमीसँग, किन बसाएँ तिमीलाई आफ्नो मनमा? भनिन्छ जे हुन्छ राम्रैको लागि हुन्छ। के राम्रो भयो र मैले तिमीलाई भेटेपछि? मलाई थाहा छ, मेरो मायाको टुंगो कहिल्यै लाग्ने छैन। यो पीडादायी बाटोमा म जहिले एक्लै हिँड्नु पर्छ। अनि यो मायाको रोगले मलाई सधैं सताइरहनेछ। फेरि पनि म किन यो रोग पाल्न खोज्दैछु त? किन आफ्नो मनलाई छियाछिया हुनमा विवश तुल्याएको छु?
मनभित्रका कति पर्खाल भत्किसकेका छन् र जुन सलामत छन् त्यसमा तिम्रै तस्बिर झुन्डिएको छ। किन सकिरहेको छैन मैले तिमीलाई आफ्नो मनबाट निकालेर फ्याक्न? किन सकिराखेको छैन मैले मुटुमा डोजर चलाएर तिम्रा सब याद माटो बनाइदिन र त्यही माटोमा नयाँ मायाको घर बनाउन? किन आफ्ना वरिपरिको मान्छेलाई तिमीसँग तुलना गर्छु? किन माया गर्छु तिमीलाई कारण थाहा छैन् र पो कमजोर छु म। कारण थाहा भएको भए मेटाइसक्थेँ ती कारण तर म त अकारणै यो डोरीले अल्झिएको छु।
मन मूर्ख हुन्छ, जिद्दी हुन्छ। बारम्बार एउटै गल्ती दोहोर्याइ राख्न खोज्छ। जति बुझाउँदा नि बुझ्न खोज्दैन। दुख्छ, मुटु साह्रै दुख्छ, सहन नसक्नेगरी दुख्छ। तर यो दिलमाथि मेरो केही जोर चल्दैनन्।
सोच्दा-सोच्दा मेरा आँखाले मेरो मनको भावनाहरूको भार सहन सक्दैनन् र आँसुको रूपमा बाहिर आउँछ। त्यतिबेला सिरानी बाहेक सच्चा साथी कोही लाग्दैन। एकछिन रून्छु र दिमागको आवाज आउँछ- कि हैन! अब तिमी बलियो हुनुपर्छ। अगाडि बढ्नुपर्छ। सोच्नु हुन्न उसको बारेमा जसलाई सम्झेर मन दुखोस्। बिर्सिदेऊ, भुलाइदेऊ उसका याद।
के सक्छु त म भुलाउन? के त्यति सहज रूपमा तिमीलाई म बिर्सीदिन सक्छु त? के मान्ला र मेरो दिलले? मनबाट आएका प्रश्नहरूले दिमागका सल्लाहलाई कमजोर पार्दै थिए।
फेरि दिमागको आवाजले गिजगिज्यायो- हो, मान्छेले चाहे के गर्न सक्दैन र? अवश्य भुल्न सक्छौ। के भो त केही दिन आँसु खस्ला, एकदिन आँसुले पनि दिक्क मानेर खस्न छोड्नेछ र तिमी बलियो हुनेछौँ। पहिले पनि आएकै हुन् कतिपय यस्ता परिस्थिति जहाँ मन सम्हालिँदैन जस्तो लागेको थियो तर अन्ततः सम्हालियो। पीडाको पनि खासियत हुन्छ, यो नि एकदिन सकिन्छ। रात्रीपछि बिहानीसरी पीडाको पछि पनि खुसी लुकेको हुन्छ।
म रोएँ, साह्रै रोएँ, अति रोएँ, रातभरि रोएँ, थेग्नै नसक्नेगरी रोएँ। सम्झिन्नँ अब तिमीलाई भनेर रोएँ, तिम्रो मायामा अन्तिम पटक रूँदैछु भनेर रोएँ। मेरो बेचैनिको कारणको दोष कसको हो भनेर सोचेर रोएँ। दिललाई दोष दिउँ कि तिमीलाई भनी सोचेर रोएँ। तर सकिनँ। दोष कसको भनेर ठम्याउनै सकिनँ।
फेरि बिहान उठेँ। ओठमा मुस्कान थियो। आँखामा चमक पनि। खै! सच्चा थिए थिएनन् थाहा भएन। तर मनमा रहेका कुरा र प्रश्न सच्चा थिए भन्नेप्रति म आश्वस्त थिएँ। त्यही दुई कुरा।
सम्झेको कुरा- 'मेरो दिल, दिलमा तिम्रै याद र तिमी प्रतिको मेरो अथाह माया' र सम्झिनै नसकेको कुरा- 'दोष कसको?'