चिसो हावासँगै डुब्दै गरेको घाम अनि आकाशमा नाँचिरहेका ती काला बादलले कता-कता विगत स्मरण गरायो। बिहान खेलिरहेका घाम क्रमशः साँझमा डुब्दै-डुब्दै गएको देख्दा त्यो बेलाको मिठो बाल्यकाल पनि साँझका घाम जस्तैः डुबेको आभाष भइरह्यो।
ती बालापन त साँच्चै निर्दोष लाग्यो जब बालापनको आनन्द स्कुलका झोलाले थिचेको पल मस्तिष्कले ताजा गरायो। बिहानको घामको किरणसँगै ब्युँझिने ती बालापनका दिनलाई स्कुलका एक्स्ट्रा क्लासका लागि राखिएको घडीको अलार्मले ब्युँझाएको बिहानीको स्मरणले त झन् समय बद्लिने त्यो नियमलाई सायद मनका कुनै कुनाबाट नमिठो गाली पस्किए झैँ लाग्यो।
बालापनमा धुलोमाटोमा मडारिरहँदा लुगामा लागेको दागले नपिरोलेको त्यो मन स्कुलको सर्ट आइरन नगरेर थोरै खुम्चिँदा पिरोल्थ्यो। स्कुलमा सिकाइएको डिसिप्लेनको छाप त यति धेरै बसेछ कि घरका सबैबाट लगेको नुनखुर्सानीसँग आफ्नै बगैँचाका आँप झटारो हानेर खाने हिम्मत समेत आउँदैनथ्यो।
फेरिएका पानासँगै जसरी पुराना पानाका अंकहरु क्रमशः मेटिँदै जान्छन्, त्यसैगरी स्कुल पछिका दिनमा स्कुले जीवनका पाना पनि हराउँदै-हराउँदै गए। स्कुलमा बिहानदेखि साँझसम्मका कक्षाहरु कलेजमा आइपुग्दा एक समयमा मात्रै सीमित हुँदा कता-कता त्यो बेलाका कक्षाले गिज्याए झैँ लाग्थ्यो।
उमेरकै हिसाबले हेर्दा भर्खर तेस्रो/चौथो चरणमै रहिरहँदा त अघिल्ला दिनले यति धेरै पिरोलेको महसुस हुन्छ भने कुप्रिएको ज्यानलाई केबल एउटा लौरोको सहायताले बाँच्नुपर्ने भोलिको त्यो दिनले झन् कति झकझकाउँदो हो, अनि खडा गरिदिँदो हो प्रश्नै प्रश्नको भन्डार!
तर त्यतिबेला पनि आज जस्तैः मन मात्रै पिरोल्ला किनकि मसँग उक्त प्रश्नका उत्तर नहुन सक्छन्, हुन्छ त केबल धमिलिएको साँझ, रुमल्लिएका जीवनका अधुरा सपना अनि अन्धकार आकाश, जीवन जस्तैः दुरुस्तै!
बाल्यकालका खुसी समेट्न नपाउँदै स्कुलमा किताब समेट्न पुगेको थिएँ भन्दा भोलिको त्यो दिनले मेरो विश्वास नगर्न सक्छ। सायद फेरि प्रश्न गर्ला, जीवनका लागि किताबबाट के समेटिस्? म फेरि निशब्द हुनेछु, जुन किताबका अक्षर र धर्सा जीवन बाँच्नका लागि उपयोग भएनन्, विज्ञानका ती 'न्युटनका ल', गणितका ती ज्यामितिका रेखाहरु जुन आजसम्म जीवनमा खुसी हुनका लागि उपयोग गर्न सकेको छैन।
स्कुलपछि धेरै पढ्न सहर धकेलिएको म ठूला घर अनि धेरै मान्छेको भिडमा पनि एक्लो रहन सिकेँ, सहरिया सोच र समाजका डरले आफ्ना इच्छा र रहर कुल्चिएर बाँचेँ। व्यस्त र आफ्नै दुनियाँमा मस्त सहरमा एकोहोरो माया गरेर बाँचेँ अनि सायद कसैका सपना पूरा गर्ने आश भएर बाँचेँ, आफूले आँफैसँग झुट बोलेर/अन्याय गरेर बाँचेँ। सहारा दिने भनेका आफ्नैबाट बेसाहारा झैँ बनेर बाँचेँ, अरुलाई बुझ्न खोज्दाखोज्दै आफू हुन नै बिर्सिएर बाँचेँ, बाँच्ने आश र रहरमा नै रुमल्लिएको जीवनले उल्टो थिचेर मार्छ भन्ने डरमा पनि बाँचेभन्दा फेरि त्यो भोलिले विश्वास नगर्न सक्छ।
एक्लो हुनु नौलो र अप्ठ्यारो कुरा होइन तर सबै भएर पनि एक्लोपन महसुस हुनु नराम्रो हो, यो किन? भोलिको दिनमा सायद यही प्रश्नले दोधार खडा गरिदिँदो हो।
चाउरिएका अनुहारमा, धमिला देखिने ती गाडिएका आँखा र बाँकी रहेका एक मुठी सासको त्यो भोलिले फेरि प्रश्न गर्दो हो अनि मेरा विगतलाई गिज्याउँदो हो- आखिर ज्युँदै बाँचिस् कि ज्युँदै भए जस्तैगरी मात्रै बाँचिस्।