सुत्दै बिउँझिँदै छन् सुदूरका सपना
समृद्धिको लालसामा बुकुर्सी मार्दै
कहिले चार हात अगाडि
कहिलै छ हात पछाडि धकेलिन विवश उनीहरु
कहिले राति, कहिलै दिउँसै
देखिन नछोडे पनि
उत्साहले ठिक चाल चल्न पाएको छैन
एकसरो लुगाले आङ ढाक्दै
फुटेका खुट्टामा चप्प्ल लाउने लालसा
मोटो चामलको भातको तृष्णा
जीवन धकल्नै मात्र मुग्लान भासिएर
बाँच्नका लागि जवानी बन्धक राख्नु नपर्ने
कल्पनामै बिते चार दशक
सत्तासिनहरु फेरिए भाषण फेरिएनन्
फरक-फरक वादले ढाट्न छोडेनन्
कति सप्रे होलान् यसैको खेती लगाई
गुमनाम भए पनि यसैको नाम बेचेर
सिंहदरबारको गन्तव्य नाप्नेको संख्या यकिन छैन
चरेसको थालमा ज्यूनारी गर्ने हकदार कति बने कति
हिसाबकिताब राखिएको छैन
सुरु सुन्नेले नातिलाई अर्ति दिँदैछन्
गरिबलाई आश देखाउनु
समृद्धिको सपना निशुल्क बाँड्नु
बदलामा भोटको रास एकत्रित पारी
रजगज चलाउनु राजनीति हो यो देशमा
बाजेको यो अर्ति सुनेको नाति
सूर्य पनि अस्ताउन मात्र आउने ठाउँमा
चालिस वर्षपछि
फेरि चर्चा सुन्दैछ
पश्चिम सेती बन्ने रे।