सिमकोटमा एक पाथी नुन लिन आइपुगेका बुढा बालाई सोधेँ,
दार्चुलामा चुँडेको तुइनपारि टोलाइबसेका एक बन्धुलाई सोधेँ,
रुकुमको चौरजहारीमा भेरीको माछा भन्दै बेच्ने एक भाइलाई सोधेँ,
नेपालगन्ज जान लागेकी होलियाकी एउटी काकीलाई सोधेँ,
चिमखोलाबाट सदरमुकाम बेनी बिहानै पुग्नु छ भन्दै कस्सिएका पुन दाजुलाई सोधेँ,
त्रिचन्द्र क्याम्पस अगाडि के जाति पार्टीको झण्डा हल्लाउँदै हिँडेका सहपाठीलाई सोधेँ
नयाँ दिल्लीमा म:मको ठेला पसल खोलेका दाजुलाई सोधेँ,
बेइजिङमा चिनियाँ भाषा पढिरहेकी एक बहिनीलाई सोधेँ,
बुसेल्समा सरकारी कोटामा विश्वविद्यालय पढिरहेका एक कर्मचारीलाई पनि सोधेँ,
वासिङटन डिसीमा उबर चलाउने एक कर्मठ मित्रलाई सोधेँ,
तर
म निराश अनि अनुत्तरित भएँ
मजस्तै,
सब बेखबर थिए, त्यो साँचोको ठेगाना बारे
त्यसको गुण, दोष अनि अस्तित्व बारे
मनमनै लख काटेँ
कत्रो बडेमानको होला त्यो साँचो?
कहाँ कसले लुकाइ राख्छ होला?
कसले पहरा दिन्छ होला?
कुन धातुले बनेको होला?
त्यो सिंहदरबारको साँचो।