'बुवा चेकको पछाडिपट्टि पनि ल्याप्चे लगाउनुस् न है' क्यास काउन्टरको अघिल्तिर उभिएका सेवाग्राहीलाई आवश्यक प्रकृया पूरा गर्न अनुरोध गरेँ।
चाउरी परिसकेका दुवै हात इंक प्याडमा दबाउँदा काप्न लागेको देखेर, हात समातेर चेकमा औंठाछाप लगाइदिँए।
थाहा छैन उनमा त्यो सानो सहयोगले कस्तो भावनाको संचार भयो। उनका आँखा भरिएर आए।
पछाडि सेवाग्राहीको लामो लाइन भएपनि एउटा प्रश्न गरिहाल्न मन लाग्यो, 'सञ्चो छैन हो बुवा?'
'बिहानसम्म ठिकै थिएँ। दिनभर घाममा उभिएर होला अलि टाउको दुखेजस्तो छ।'
'तपाईंको बैंक खातामा आएको पैसा हराउँदैन नि बुवा। अझ, यो खातामा सामान्य बचत खातामा भन्दा केही बढी ब्याज आउँछ। अलि पछि, आफूलाई आवश्यक परेको समयमा निकाल्दा पनि हुन्छ। खातामा पैसा आएको थाहा पाउनेबित्तिकै सबैजना हतारिएर लाइन बस्न आउनुहुन्छ, अनि यति धेरै सास्ती हुन्छ।'
व्यस्तताकै बिच उहाँलाई वास्तविकता बुझाउने सानो कोसिस थियो मेरो।
उहाँजस्तै सेवाग्राहीको यो ठूलो समस्या हो। नगरपालिकाबाट वृद्धभत्ता बैंक खातामा राखिएको थाहा पाउनेबित्तिकै सबैजना हामी कर्मचारीभन्दा पहिल्यै आएर बैंकमा लाइन लागिसक्नु भएको हुन्छ। कोरोना भाइरसको जोखिमका कारण सामाजिक दूरी कायम गरेर लाइनमा राख्नुपर्दा, सेवाग्राहीको लाइन बैंकको ढोकाबाट बाहिर बजारसम्मै पुगेको हुन्छ।
'बिहान खाना मात्रै पाकेको थियो, तरकारी पाक्न ढिलो होला भनेर दूधसँग दुई गाँस खाएर आएकी' कोही आमाहरु यसो भन्दै आउनुहुन्छ।
'गोडा करकर खान्छन, लाइनमा धेरैबेर उभिन पनि सक्दिनँ, दम बढेर स्याँ स्याँ हुन थालिहाल्छ' कसैको समस्या यस्तो हुन्छ।
सधैँको भन्दा एउटा टेलर थपेर छिटो सेवा दिन खोजे पनि सबै सेवाग्राही एकै उमेर समूहका हुने हुनाले प्राथमिकताका आधारमा सेवाप्रवाह गर्न नसक्दा दुःख लाग्छ। हाम्रो एउटै उपाय भनेको, उहाँहरुलाई बैंक खातामा राखेको पैसा सुरक्षित रहन्छ भनेर कुरा बुझाउनु मात्रै हो।
'होइन नानी, खाँचै थियो' जति पटक यसरी सम्झाए पनि, सबैको एउटै जवाफ यही हुन्छ। जुन अपेक्षित जवाफ अहिले अगाडि रहेका सेवाग्राहीबाट पनि मिल्यो।
उहाँको चेकमा भएको खाता नम्बर कम्प्युटर सिस्टममा राखेँ, खातामा नाम थियो- 'बेदनिधि सापकोटा।'
चेक डेबिट गरेर, चेकमा लेखिए बमोजिमको रकम भुक्तानी दिएँ जुन मेरो सधैंको जिम्मेवारी हो।
'मेरी नातिनीजस्तै रैछ्यौ, छिटै हाकिम हुनू नानी' आफ्नो सामाजिक सुरक्षा भत्ता वापतको रकम पाएपछि पैसालाई ढोगेर मलाई आफ्नो बुझाइअनुसारको राम्रो आशीर्वाद दिनुभयो।
हामी आफ्नो कार्यालयले खटाएको जिम्मेवारी पूरा गर्ने सामान्य कर्मचारी, जसबापत हरेक महिनाको अन्त्यमा आफ्नो तलब लिन्छौँ। तर, त्यसै कामको शिलशिलामा प्राप्त हुने यस्ता आशीर्वादहरु अमूल्य लाग्छन्।
साँझ घर फर्किने बेलामा नजिकैको औषधि पसल छिर्नुपर्ने काम थियो। दिउँसोका ती वृद्ध सेवाग्राहीसँग औषधि पसलमा पुन: भेट भयो।
'घाममा उभिएर धेरै गाह्रो भयो कि के हो बुवा? के औषधि किन्न आउनुभयो?' हतारमै भएपनि सोधेँ।
'के गर्नु नानी, बुढेसकाल लागेपछि नदुख्ने कतै हुन्न रैछ, सधैं खानुपर्ने दबाइ छन् मेरा। अस्तिकै दिन सकिएको थियो। आज मात्रै भत्ता आएर किन्न आएको।'
उहाँको दिउँसो 'पैसा खाँचै छ' भन्ने शब्दको औचित्यता बल्ल स्पष्ट भयो।
मनमा केही प्रश्न उब्जिए। 'खाँचै परेको औषधि किन्न समेत पैसा नहुने? उहाँका छोराछोरी के गर्दा होलान्? उनीहरुसँग आफ्ना बुवाको औषधि किनिदिने दुई/चार सयपनि नहोला त?'
सोध्न खोज्दा आफ्ना बुवाको एउटा वचन याद आयो, 'जोसँग जुन कुराको अभाव छ, त्यो विषयमा ऊसँग कहिल्यै कुरा नगर्नू।'
कपाल नभएकालाई काइँयो बेच्नुपर्छ भन्ने दुनियाँमा कपाल नहुनेसँग काइँयोको कुरै गर्नु हुँदैन भन्ने मेरा पिताको आदर्श मेरा लागि जीवन जिउने मार्गदर्शन बनेको थियो।
मैले उनका सन्तानको बारेमा प्रश्न गर्दा, उनीबाट आउने सम्भावित प्रतिकृयाको कल्पनाले ती प्रश्न गर्न दिएन। आफ्ना जिज्ञासालाई अनुत्तरित नै राखेर उनीसँग बिदा मागेँ।
केही दिनपछि वृद्धभत्ता लिन आउने सेवाग्राहीको भिड पातलियो। सामान्य सेवाग्राहीहरुको बिचमा एकदिन एउटा चेक हात पर्यो। लाखौं रुपैयाँको उक्त चेक डेबिट गर्नुअघि सेवाग्राहीको वैयक्तिक विवरण इन्ट्री गर्नु मेरो जिम्मेवारी थियो।
सेवाग्राहीले भौचरमा राम्रोसँग नलेखेकाले, आफ्नै जिम्मेवारी पूरा गर्न प्रश्न गरे, 'हजुरको बुवा र हजुरबुवाको नाम भन्नुस् न है।'
'बुवा बेदनिधि सापकोटा, हजुरबुवा...।'
बैंक खाताबाट रकम निकाल्नु पर्ने प्रयोजन सोध्दा ठेक्कापट्टाको काम गर्नको लागि हो भनेर बताउने ती सेवाग्राहीको बुवाको नाम, औषधि किन्न वृद्धभत्ता पर्खने वृद्ध सेवाग्राहीसँग मिल्नु संयोग मात्रै होला त? मनको एउटा कुनामा यो प्रश्न पनि अनुत्तरित नै बनेर रह्यो।