म पहिलो पटक कुनै पोखरीको निरीक्षण गर्न निस्केको थिएँ। खनेको पोखरी हैन, पुरेको पोखरी।
म एक कृषि प्राविधिक हुँ, पोखरी निरीक्षण मेरो कार्यक्षेत्रभित्र पर्दैन। माटोको गुणस्तर जाँच्ने, पानीको गुणस्तर जाँच्ने, कुन माटोमा कस्तो बाली लगाउँदा राम्रो हुन्छ भनेर कृषकहरूलाई सल्लाह दिने, माटोको गुणस्तर बिग्रन नदिन र सुधार्न के गर्नुपर्छ भनेर कृषकहरूलाई तालिम दिने मेरो मुख्य काम हो।
तर एक पटक ती नियमित कामहरूभन्दा नितान्त फरक र आफ्नो कामसँग सिधैँ सम्बन्ध नभएको अचम्मको कामको निरीक्षणमा पुगेको थिएँ। त्यहाँ न त माटोको गुणस्तर जाँच्नु थियो न त पानीको। हामीलाई त्यहाँ पोखरी पुरिएको छ कि छैन भनेर हेर्नु मात्रै थियो।
जिल्ला सदरमुकामदेखि सात किलोमिटरको दूरीमा रहेको ३० जति घरधुरी भएको मध्यपश्चिम तराईको एउटा सामान्य गाउँ। मोटरसाइकल गुडाउन मिल्ने राम्रै बाटोले सदरमुकाम जोडिएको थियो। निरीक्षणको लागि जिल्ला कृषि कार्यालयका हामी दुई जना प्रविधिक मोटर साइकलमा गएका थियौं। एकजना मभन्दा अलि ‘सिनियर’ प्राविधिक मोहन गौतम र म।
मैले उनलाई मोहन सर भन्थेँ, हाम्रो राम्रै घुलमिल थियो। जानी-जानी मोहन सर दिउँसो अलि ढिलो गरेर निस्केका थिए। गाउँ पुगेर वडा अध्यक्ष राजेन्द्र थापाको घर सोध्दै उनको घर पुग्यौं। उनी हाम्रै प्रतिक्षामा थिए।
ढलान गरेको, सेतो चुनले लिपेको डेढ तले घर। हामीलाई उनले बरण्डामा बसाले र चियाको व्यवस्था गरे। म त त्यही दिन नै निरीक्षण गरेर तुरुन्तै फर्कने विचारमा थिएँ तर मोहन सरले नभने पनि उनको योजना मैले बुझिसकेको थिएँ। तैपनि मैले ‘फर्कौं’ भन्दा वडा अध्यक्षले ‘के हतार भयो र? आज अलि ढिलो पनि भैसक्यो, यतै बसौँ, भोलि बिहानतिर निरीक्षणमा जाऔंला’ भने।
मोहनले मलाई नसोधी स्वीकृति दिए। उनी त्यस्तो काममा पूर्ण अनुभवी भैसकेका थिए। खासमा ढिलो भएको थिएन। त्यही दिन निरीक्षण सकेर फर्कन कुनै समस्या थिएन। मलाई त्यसरी अर्काको घरमा बस्न मन थिएन तर आफ्नो ‘सिनियर’ले बस्ने भनेपछि मलाई पनि बस्न कर लाग्यो।
साँझ पर्न थालेपछि ‘लोकल’ भाले भुत्लिए। अलि अँध्यारो भएपछि बोतल पनि खुले। पोलेको मासु, भुटेको मासु पस्किन थालियो। म धेरै पिउने मान्छे हैन तर साथ दिएँ। कति भाले काटिए, कति बोतल रित्तिए मलाई थाहा भएन। मेरो लागि त्यो नितान्त नौलो अनुभव थियो। रमाइलो पनि। त्यसपछि मलाई पनि त्यहाँ रात बसेर राम्रै गरिएछ भन्ने लाग्यो।
अर्को दिन बिहान उठ्दा साढे आठ बजेको थियो। निकै गहिरो निद्रा सुतिएछ। ११ बजेतिर खाना खाएर हामी पोखरी निरीक्षण गर्न गयौं। निरीक्षण भयो। प्रतिवेदन कस्तो लेख्ने भनेर मोहन सरले मलाई सिकाए। दिउँसो हामी आफ्नो पारिश्रमिक लिएर फर्क्यौं। मोहन सरले प्रतिवेदनमा लेख्न लगाएको कुरामा म पूर्ण सहमत थिइनँ। त्यहाँ पोखरी पुरिएको थिएन। मैले ‘नपुरिएको पोखरी पुरिएको भनेर कसरी प्रतिवेदनमा लेख्ने?’ भनेर उनलाई प्रश्न गरें।
त्यपछि उनले मलाई त्यो पोखरीको नालीबेली सुनाए।
पोखरीको कहानी तीन वर्ष अगाडि सुरु हुन्छ। अघिल्लो वर्ष खडेरी लागेर धानखेतहरू बाँझो रहेपछि वडा अध्यक्ष राजेन्द्र खड्काको दिमागमा एउटा गजबको विचार फुरेको थियो। कहिलेकाहीँ समस्या पनि अवसरको रुपमा आउने रहेछ भन्ने थाहा पाएर उनी झन् उत्साहित भए र तुरुन्त आफ्नो विचारलाई कार्यान्वयन गरिहाल्ने निधोमा पुगे।
उनको गाउँमा असारमा बग्न सुरु गरेर माघमा सुकिसक्ने खहरे खोलाको पानीको भरमा खेती हुने गर्थ्यो, तर जंगल फडानी, जथाभावी खनेका डीप बोरिङ र विश्वव्यापी रुपमा बिग्रँदो वातावरण सन्तुलनका कारणले गर्दा खहरे खोलाले धोका दिन थालेको धेरै वर्ष भैसकेको थियो। वर्षाका केही दिन भेलको पानी बग्नु बाहेक अरु बेला त्यो खहरे खोलो बगरमा परिणत भैसकेको थियो। खोलाले धोका दिएपछि आकाशे पानीकै भरमा खेती गर्नुपर्ने बाध्यता आइलागेको थियो।
वडा अध्यक्ष भएको नाताले पानीको समस्या समाधान गर्नु राजेन्द्र थापाको कर्तव्य पनि थियो। उनको चुनावी नारामा पानीको समस्या समाधान गर्नु पनि एक थियो।
'हाम्ले पनि डीप बोरिङ खनौं न त' वडा सदस्य विमल घर्तीले राजेन्द्रलाई सुझाएका थिए। तर विमलको त्यो प्रस्ताव राजेन्द्रले अस्वीकार गरेका थिए। राजेन्द्रले डीप बोरिङभन्दा अलि ठूलो परियोजनाको बारेमा सोचिरहेका थिए।
'एउटा डीप बोरिङले कतिसम्म पुग्छ र? फेरि डीप बोरिङले जमिन मुनिको पानीको मुहान नै बिगार्छ भन्छन्, अलिकति वातावरणलाई पनि त ध्यान दिनुपर्यो' राजेन्द्रले आफ्नो तर्क त्यसरी राखेका थिए।
उनको मनमा जुरेको उपाय थियो- गाउँको सिरानीमा विशाल पोखरीको निर्माण। वर्षाको समयमा परेको पानीलाई त्यो पोखरीमा संकलन गरेर चाहिएको बेलामा उपयोग गर्ने। आफ्नो आवश्यकता पनि पूरा हुने, वातावरण मैत्री पनि।
'हो त मैले त सोचेको थिइनँ। अँझ त्यसमा माछा पालन गर्ने अनि डुंगा चलाएर पर्यटकहरू आकर्षण गर्दा आर्थिक फाइदा पनि हुन्छ' विमललाई पनि त्यो विचार निकै राम्रो लागेको थियो। त्यसपछि राजेन्द्रले विमललाई आफ्नो योजना विस्तृत रुपमा सुनाए। त्यति राम्रो योजना सुन्दा विमलको मुहारमा चमक आयो। गाउँका अरु दुई/चार जनालाई पनि सम्मिलित गराएर संयुक्तरुपमा परियोजनालाई मूर्तरुप दिने निर्णय भयो।
राजेन्द्रको पहुँच सिधैँ कृषि मन्त्रीसम्म थियो। उनीहरूको सम्बन्ध दाजुभाइको जस्तै थियो। उनले तुरुन्तै फोन निकालेर कृषि मन्त्रीलाई अनुरोध गरे 'अब आउने बजेटमा केन्द्रबाटै मलाई २ करोड छुट्याउन लगाइदिनु पर्यो। हामीले नेपालकै सबभन्दा ठूलो नमुना पोखरी बनाउने योजना बनाएका छौं।'
त्यो उनको अनुरोधभन्दा पनि आदेश जस्तै थियो। मन्त्रीले राजेन्द्रको माग कहिले पनि नकार्न सक्दैनथे। मन्त्री जे थिए, त्यसमा सबै राजेन्द्रकै देन थियो।
एक महिनापछि आएको बजेट भाषणमा पोखरी निर्माणको बजेट केन्द्रकै बजेटमा पर्यो। राजेन्द्रले मागेको रकममा २५ लाख थपेर २ करोड २५ लाख रकम छुट्याइयो।
'२ भनेको त २५ लाख बढी पो आएछ त' राजेन्द्रले फोन गरेर मन्त्रीलाई खुसी हुँदै धन्यवाद दिए।
'थपेको २५ मेरो हो, त्यसमा आँखा लगाउने हैन। अनि मलाई नगद नै चाहिन्छ नि' मन्त्रीले कुनै धक नमानी भने। आफ्नै भाइ जस्तै राजेन्द्रसँग उनले धक मान्ने कुरा पनि थिएन।
'अनि मेरो भाग नि?' राजेन्द्रले पनि कुनै अप्ठ्यारो बिना सोधे।
'तिम्रो भाग त्यही दुईबाट निकाल्नू, मलाई २५ चोखो चाहिन्छ। २ करोडको बजेट माग गर्दा तिम्ले आफ्नो लागि छुट्याएकै त होला नि' मन्त्रीले आफ्नो २५ लाखमा आँखा नलगाउन चेतावनी दिए।
वास्तवमा राजेन्द्रले दुई करोडमा आफ्नो भाग मात्र हैन मन्त्रीको भाग पनि जोडेका थिए। मन्त्रीले आफ्नो भागको व्यवस्था आफै गरेपछि उनको लागि भनेर छुट्याएको भाग पनि आफूले झ्वाम पार्न पाएपछि राजेन्द्र किन पो बोल्थे र? 'ल ल। जतिसक्यो छिटो निकासा गर्ने व्यवस्था मिलाउनु होला' भनेर राजेन्द्रले फोन राखे।
दुई करोड २५ लाखको परियोजना। सबै प्रकृया पूरा गरेर मात्र ठेक्का दिनु पर्ने कानुनी प्रावधान थियो। बोलपत्र आह्वान गर्नुपर्यो, कागतपत्र सबै तयार हुनुपर्यो। तर त्यो सबै मिलाउने विमल घर्ती थिए। विमल घर्तीको मामाको छोरो सानोतिनो ठेकदार थियो। अरु दुई जना उसैका साथीहरूलाई नक्कली ठेकेदार बनाएर विमल घर्तीले कानुनले मागे अनुसारका सबै प्रकृया र कागतपत्र पुर्याएर आफ्नो मामाको छोरोलाई ठेक्का दिलाए।
समयमै काम सुरु हुने भयो। पैसा पनि समयमै निकासा भयो। भुक्तानी दिनुपर्नेलाई भुक्तानी पनि गरियो। मन्त्रीको भागको २५ लाख नगद बोकेर राजेन्द्र आफै बुझाउन राजधानी गए। राजेन्द्र र विमलले पनि आ-आफ्नो भाग पाए। ठेकेदारले पनि आफ्नो नाफाको अंश पायो। नक्कली ठेकेदारहरूले चुप लाग्नको लागि पनि अलिअलि दक्षिणा पाए। परियोजनाको बारेमा जानकार गाउँलेहरूलाई पनि सबैलाई थोरैतिनो प्रसाद चढाइयो।
पहिलो वर्षको पुसमा सुरु गरेको परियोजना छ महिना लगाएर अर्को वर्षको वर्षा याम सुरु हुनै लाग्दा पूरा गरियो। परियोजना सम्पन्न भएका सबै कागजातहरू तयार गरेर मन्त्रालयमा पठाइयो। परियोजनाको लागत ठ्याक्कै दुई करोड २५ लाख नै भयो। कम पनि भएन बढी पनि भएन।
काम पूरा भए नभएको हेर्न मन्त्रालयबाट मन्त्रीले खटाएको निरीक्षण टोली आयो। निरीक्षण गर्यो। कागजातहरूमा सही गर्यो। आफ्नो पारिश्रमिक लियो अनि फर्कियो। त्यति छोटो समयमा त्यति ठूलो योजना सफलतापूर्वक समाप्त भएकोमा मन्त्री र सचिवले ठेकेदार र राजेन्द्रको खुला दिलले प्रशंसा गरे। सचिवले पनि आफ्नो भाग प्राप्त गरे।
'तर अन्तिम एउटा काम अँझै बाँकी छ' राजेन्द्रले केही दिनपछि मन्त्रीलाई फोन गरेर भने।
'अझैँ के बाँकी छ?' सकियो भन्ने लागेको काममा अँझै बाँकी छ भन्दा मन्त्रीले झस्किँदै सोधे।
'किन डराएको? पोखरीमा पानी जम्मा गरेपछि प्रयोग गर्नु अगाडि पानीको गुणस्तर जाँच गर्नुपर्छ' राजेन्द्रले मन्त्रीलाई शान्त पार्दै भने।
'ए! त्यो त कति ठूलो कुरा भयो र? कस्ले हो त्यो जाँच्ने? सबै कुरा मिलाएको छ?' मन्त्रीले सोधे।
'त्यो त मलाई पनि थाहा छैन। कृषि मन्त्रालयकै प्राविधिक अथवा भूगर्भ विभागको प्राविधिक मध्ये एउटा होला' राजेन्द्रले अनभिज्ञता प्रकट गरे।
'ल ल ठिकै छ। जो भए पनि भयो, म पत्ता लगाउँला। अनि जाँच्न गएकालाई अलि राम्रो खातिरदारी गर्नू। अन्तिममा समस्या नआओस् नि' मन्त्रीले अह्रयाए।
केही दिन मै वर्षा याम पनि सुरु भयो। असारको पहिलो हप्तामै घनघोर पानी पर्यो। खोलानाला सुसाए। पोखरीको पानीको गुणस्तर जाँच्न कृषि मन्त्रालयको अनुरोधमा जिल्ला कृषि कार्यालयले दुई जना प्राविधिकको टोली पठायो। दुई दिन गाउँमा नै बसेर प्रावधिकको टोलीले पानीको गुणस्तर जाँच गर्यो अनि त्यसको प्रतिवेदन तयार गर्यो। त्यो दुई दिन राजेन्द्रले आफ्नै घरमा राखेर ती दुई प्राविधिकहरूको आतिथ्यमा कुनै कमी हुन दिएनन्।
पानीको गुणस्तरको सबै विस्तारित प्रतिवेदन बनाएर प्राविधिकहरू आफ्नो पारिश्रमिक लिएर फर्के।
तर प्रतिवेदनमा पानीको गुणस्तर राम्रो नभएको निष्कर्ष थियो। पोखरीमा जम्मा भएको पानीमा अत्याधिक मात्रामा आर्सेनिक र सिसाका यौगिकहरू पाइएकोले त्यो पानी न त पिउनको लागि, न त खेतीको लागि, न त अन्य घरायसी प्रयोजनको लागि नै उपयुक्त थियो। त्यति मात्र हैन, माछा पालन र पर्यटकीय तालको रुपमा प्रयोग गर्न पनि त्यो पोखरीको पानी अनुपयुक्त भएको निष्कर्ष प्रतिवेदनमा प्रष्टसँग लेखिएको थियो।
'यो समस्या तुरुन्त समाधान गर' मन्त्रीले पानी जाँचको नतिजा थाहा पाएपछि राजेन्द्रलाई आफै फोन गरेर आदेश दिए।
'हुन्छ म मिलाउँदैछु' राजेन्द्रले भने।
'त्यत्रो पोखरी छ, पानी पुरै भरियो भने जनताको जीउ-ज्यानकै खतरा हुने भएकाले त्यसैले तुरुन्त त्यो पोखरीलाई जतिसक्यो छिटो पुर्नुपर्छ भन्ने एउटा प्रतिवेदन लेखेर मलाई पठाऊ' मन्त्रीले राजेन्द्रलाई सुझाव दिए।
'पुर्नको लागि पनि त पैसा चाहियो नि अलिकति त' राजेन्द्रले माग राखे।
'कति जति अड्कल गरेका छौ?'
'कम्तीमा पनि ५ लाख त लागि हाल्ला नि।'
'ल ठिकै छ, म व्यवस्था मिलाउँछु। बरु तिम्रो प्रतिवेदनमा जनताको जीउ-ज्यानको सुरक्षालाई ध्याना राखेर बजेट निकासा नहुँदै पोखरी पुर्ने काम सुरु गरिसकेको भनेर लेख। त्यति भएपछि छिटो बजेट निकासा होला' भनेर मन्त्रीले फोन राखे।
जनताको जीउ-ज्यान जोखिममा पर्नसक्ने भएकोले तुरुन्तै पोखरी पुर्न भनेर ५ लाख आकस्मिक बजेट निकासा गरियो।
राजेन्द्रले सन्तोषको लामो श्वास फेरे।
दुई दिनमा नै सबै पोखरी पुरेर सकिएको जानकारी राजेन्द्रले मन्त्रीलाई सुनाए। मन्त्रीले पनि लामो सुखद श्वास फेरे।
तर सरकारी काम पर्यो। काम भए नभएको त जाँच गर्नुपर्यो। त्यसैले पोखरी राम्रोसँग पुरियो कि पुरिएन भनेर जाँच गर्न अर्को जाँच टोली फेरि एक पटक पोखरी पुरेको निरीक्षण गर्न गाउँ पुग्यो जुन टोलीमा म पनि थिएँ।
बिहान खाना खाएर राजेन्द्र थापाले गाउँको सिरानमा रहेको ठूलो चौरमा हामीलाई लगेर देखाए, 'यही हो हजुर। सबै काम सकियो। राम्रोसँग पुरिएको छ अब केही खतरा छैन। हजुरहरूले प्रतिवेदनमा लेखिदिने कष्ट गर्नुपर्यो।'
पुरिएको चौर देखेर मलाई अचम्म लाग्यो र राजेन्द्रलाई सोधें, 'यहाँ त पोखरी खनेको केही नाम निशाना नै छैन त अध्यक्ष ज्यू। के खनियो? अनि के पुरियो?'
'सुन्नु भएन, राम्रोसँग पुरेको भनेर। यति राम्रोसँग पुरेपछि अनि कसरी पोखरीको नाम निशाना हुन्छ त? कुरा बुझ्नुहुन्न?' मोहन सरले मलाई आँखा तर्दै हप्काएको स्वरमा सम्झाउन खोजे। मैले पनि कुरा बुझें र चुप लागें।
वास्तवमा त्यहाँ न त पोखरी खनिएको थियो, न त पोखरी बनेको थियो न त पानी नै जम्मा भएको थियो। न त पानीको जाँच भएको थियो न त पुर्नुपर्ने आवश्यकता नै थियो। पहिले पनि त्यहाँ चौर थियो, अहिले पनि चौर नै थियो। सबै काम कागतमा मात्र भएका थिए।
पुरिएको पोखरी निरीक्षण गरेर सबै काम पूरा भएको प्रतिवेदन बनाएर हामी फर्कियौं। परियोजना सबै कागजातहरू एउटा दराजमा लगेर थन्काइयो। राजेन्द्रको पोखरी निर्माणको परियोजना सफलतापूर्वक सम्पन्न भयो। सबै खुसी भए, सबै चुप भए। म पनि।