रातमा
आकाशमा चम्किएका ताराहरु देखाउँदै
मेरी छोरी मलाई प्रश्न गर्छिन्-
पापु, ताराहरु किन आकाशमा हुन्छन्?
कसरी बन्छन् ताराहरु?
मेरी अबोध ६ वर्षे छोरीलाई
भौतिक विज्ञानले खोज गर्ने
सौर्य मण्डल र सौर्य परिवारको जटिल तथ्य र इतिहास
कसरी बुझाउनु मैले
जुन म आफैंलाई पनि खासै थाहा छैन।
म सफेद झुट बोलिदिन्छु
र भनिदिन्छु-
छोरी, ती ताराहरु असल मान्छेका आत्माहरु हुन्
जो मृत्युपछि
भगवानको आशीर्वादले तारा बनेर आकाशमा बस्न पाउँछन्
र, त्यहींबाट हेर्ने गर्दछन्
धर्तीमा आफूले छोडेर गएका आफ्ना प्रियजनहरुलाई,
उनी बुझेजस्तो गर्छिन्।
फेरि प्रश्न बर्सिन्छ,
पापु, खराब आत्माहरु तारा हुन पाउँदैनन् हो?
म सफेद झुटको सहारा फेरि लिन्छु
र भनिदिन्छु- हो
खराब आत्माहरु भगवानका प्रिय हुँदैनन्
त्यसैले ती तारा बन्न पाउँदैनन्
र हेर्न पाउँदैनन् आकाशबाट आफ्ना प्रियजनहरुलाई।
उनी बुझे जस्तो गर्छिन् फेरि पनि
र भन्छिन्-
पापु, हजूर पनि तारा बनेर हेरिस्योस् है आकाशबाट मलाई
हजुर भगवानको घर गएपछि,
म नाजवाफ हुन्छु र हस् भनेर मुन्टो हल्लाउँछु।
म झुटको सहारा लिएर
मेरी छोरीलाई असल बन्न प्रेरित गर्दैछु।
थाहा छैन,
उनी बुझ्ने भएपछि
सत्य थाहा पाए
भोलि के भन्दिहुन् उनले
मैले बोलेको झुटमा विस्मात् गर्दिहुन् वा
रातमा आकाशका ताराहरु बीच खोज्दिहुन्
हात हल्लाउँदै मलाई!