गर्भमा नै छानी-छानी कैंची किन चलाउँछन्
मेरो के नै दोष थियो र छोरी भई बाँच्न दिन्नन्
तिम्रै काखमा सुसु गर्थें, त्यसमै सुतिदिन्थेँ, दश महिनाकी त थिएँ
पल्लो घरका हजुरबाले माया भन्दै बलात्कार गरे।
ठूली भएँ छाती बढ्यो केटाहरुले जिस्काउँछन्
घरभित्र घरबाहिर सबै मिलि डराउँछन्
महिनावारी भएँ, महिला भएँ सबैले परपर भगाउँछन्
मेरो के नै दोष थियो र घरभित्र बन्दी बनाउँछन्।
न भाइलाई देख्न पाएँ न त मन्दिर जान पाएँ
न राम्रो ओछ्याउन पाएँ न त मिठो खान पाएँ
रुँदा-रुँदा आँखा फुल्यो न कसैले चाल पाए
चिसोलो मेरा लुगा भिज्दा न कसैको साथ पाएँ।
तिम्रो न्यानो काख मेरा लागि महिनावारीसँगै छुट्यो
योसँगै बाबाको काँध पनि सधैँका लागि पराई भयो
जवान भए लाली चढ्यो एक्लै हिँड्न डर भयो
म छोरीलाई मात्रै होकि छोरालाई पनि यस्तै भयो?
भाइ खेल्न जाँदा म भने भान्छामा पसेँ
भाइले मात्रै पढ्यो, मैले उसका लुगा पनि धोएँ
पढ्न पाइनँ, बिहे भएन, बुढी कन्या बोलाउँछन्
विदुर वा बृद्ध मात्रै किन मेरा लागि धाउँछन्।
एसिड खन्याइ कुरुप बनाइ आफ्नै स्वार्थपूर्ति गर्न खोज्छन्
छट्पटिन्छु मुहार हेर्छु मुटु फुट्ला जस्तो हुन्छ
मलाई जन्माउँदा तिमीले पाएको दुःख अहिले थाहा पाएँ
निस्वार्थ तिम्रो मायाले मात्र बाँच्न बाध्य भएँ।
भाइले हाँस्दै दक्षिणा बाँडदै जीवनसाथी भित्र्याए
म रुँदै दाइजो बोक्दै तिमीबाट टाढा-टाढा भएँ
बेहुली भएँ, दाइजो लगेँ, तैपनि दिन्छन् यातना
छोरी जन्मी आमा बनेँ सबै लागे जिउँदै जलाउन।
परिवार सबै बैठक कोठामा म भान्छामा एक्लै पसेँ
अरु खाइपिइ टिभीमा झुम्मिँदा म भाँडा मल्दै बसे
कहिले सुन्नु समाचार अनि पाइन्न मनोरञ्जन गर्न
एक दिनको लागि मात्रै पनि कामको जिम्मा कोही लिन्न।
चिसोले हात फुट्दा तिमीलाई सम्झेँ, टाउँको दुख्दा पनि मैले
नजानिकन श्रीमानले टाउकोमा हात राखिदिँदा धरधरी आँसु झरे
कस्तो नियम कस्तो चलन जन्म घर छोड्नु पर्ने
तिम्रै साथ त्यही हात पाउन के गर्नु पर्ने?
बुढी भएँ, उमेर ढल्क्यो, म अशक्त हुँदै गएँ
छोराले हेरेन बुहारीले हेपी, म अलपत्र पर्दै गएँ
छोरीले छोडी ज्वाइँले सम्झेनन्, म बृद्धाश्रम तिर गएँ
तिमीलाई पनि मलाई जस्तै के यस्तै भएको थियो र आमा?