अप्रत्यासित सानो गल्तीको उपज हो कि?
अत्याधिक आनन्दको परिणाम?
जे होस् मानव आफूलाई सोचेजस्तो पक्कै होइन।
यस्ता मानवबाट अन्जानमा गल्ती हुनु अचम्म होइन
तर, जानाजान गल्ती मात्र हुनु दुःखद् कुरा हो
दुवै सन्दर्भमा मानव आफूले सोचेजस्तो होइन।
अन्जानवश गल्ती गरेर ठूलो अफसोच प्रकट गर्ने भद्र व्यक्ति हो कि?
शृङ्खलाबद्ध र योजनाबद्ध तबरले गल्ती गर्दै अहंकार प्रकट गर्ने व्यक्ति हो?
तर, जे होस् मानव आफूले सोचे जस्तो पक्कै होइन।
कोरोना भाइरसभन्दा डरलाग्दो भाइरस हो कि?
यस्ता भाइरसको सृष्टिकर्ता नै हो?
तर, जे होस् मानव मानवहरूले सोचे जस्तो पक्कै होइन।
आफूलाई लौरो बनाएको चाल नपाउने व्यक्ति हो कि?
खोला तर्दै लौरो फाल्दै हिँड्ने व्यक्ति हो?
तर, जे होस् मानव आफूले सोचे जस्तो होइन।
कर्मबाट मानवीय धर्मको सन्देश छर्दै हिँड्ने व्यक्ति हो कि?
धर्मको खोल ओढी कर्मबाट विचलित भई हिँड्ने व्यक्ति हो?
तर, जे होस् मानव आफूले सोचे जस्तो होइन।
समयलाई आफूअनुकूल बनाई अघि बढ्दै जाने व्यक्ति हो कि?
समयको चक्रमा फसी समयको दास हो?
तर, जे होस् मानव आफूले सोचे जस्तो होइन।
सृष्टिको निरन्तरताको प्रतीक हो कि?
कि सृष्टिको विनाशको प्रतीक?
तर, जे होस् मानव आफूले सोचेभन्दा फरक हो।