विद्यालय जाँदै छे एक बालिका
पिठ्यूँमा झोला
झोलाभरि किताब
कितबाभरि सपना बोकेर
हेरिरहेछ सहरले
बालिकाले लगाएको घाँघर
भनिरहेछन् पढेलेखेकाहरू
वा! क्या च्वाँक छे।
हेरिरहेछ एक भलाद्मी
बालिकाको छाती
छातीको उचाइँ हेरेर
आनन्द लिइरहेछन् यो धरतीमा
मनुष्य रुपका जीवहरू।
सोह्र वर्षकी एक बालिका
ओठमा लाली, आँखामा गाजल
र निधारमा कालो टिकी लगाएर
हिँडिरहेछिन् टक-टक-टक आफ्नै बाटोमा
स्वास्थ्य पढेको एक डाक्टर
हेरिरहेछ बालिकालाई
घरी अगाडिबाट घरी पछाडिबाट
सोचिरहेछ मनमनै
बालिकाको कुमारित्व
र निलिरहेछ घुटु-घुटु आफ्नै र्या ल।
थाहा छ दुनियाँलाई
बालिकाले बोकेकी छिन्
आफ्नै शरीरको तल्लो भागमा
योनी नामको एक अङ्ग।
जुन योनीबाट जन्मिए मनुष्यहरू
त्यही योनीमा आनन्द खोजी रहेछन्
मनुष्य जातका जीवहरू
हे विज्ञान!
यो कस्तो परिवर्तन हो ?
खाएकै थालमा चुठ्नू।
एउटा कुरा
कि ती बालिकालाई थाहा छ
कि मलाई थाहा छ
ती बालिकाले बोकेकी छिन्
आफ्नै योनीमा आफ्नै मृत्युलाई
यतिबेला सम्झिनुस्
निर्मला पन्त र सम्झना विकलाई
यो पनि थाहा छ मलाई
बालिकाले बोकेकी छिन्
योनी नामको एक अङ्गमा
सिङ्गो यो ब्रमाण्डलाई।
त्यो दिन ब्रमाण्डको संरक्षण गर्न
न विज्ञानले सक्नेछ
न शास्त्रले सक्नेछ
जुन दिन बाध्नेछिन् बालिकाले
आफ्नै योनीमा कालो पट्टी
हो, त्यहीँ दिन हुनेछ
सिङ्गो ब्रम्हाण्डको अन्त्य।