पर-पर अनन्त क्षितिजसम्म
हिमपात र हिमआँधीसँगै
बगिरहेको छ हिउँको आँसु।
आदिमकालदेखि
अहिलेसम्म
हिमपर्वतहरूमा साउती मार्दै
सुसेल्ने हावाहरू तातो भएका छन्
कुरुप बन्दै गएका छन् सुन्दर हिमालहरू
बस्
बढिरहेको छ हिउँको आँसु।
तर
हिमपर्वतहरूमा
जीवन खोज्ने मान्छेहरू भने
चिसा हुँदै गएका छन् दिनदिनै
हिमालसँग,
अरूसँग,
आफैसँग,
बस्
बढिरहेको छ हिउँको आँसु।
परपर अनन्त क्षितिजसम्म
तातो सगरसँगै
बगिरहेको छ हिउँको आँसु।