कविता
हिमालको स्वर्ण आभामा
खुलाउँदै दृष्टिचेत
पूर्वीय दर्शनको झुल्कोमा भेट्छु आफूलाई
खोला, पहरा, नदी र छहराको गुञ्जनमा
गाउँदै प्रकृतिको मधुर गीत
हराउँछु पहाडको हरियाली र तराईका फाँटहरूमा।
ज्योतिको पङ्ख उचाली
गीत गाउने म नेपाली
कहिल्यै सिद्धिचरणको ओखलढुंगा पुग्छु
कहिले लेखनाथको कालीगण्डकीमा रमाउँछु
कहिले समको इच्छा पलाउँछ मनभरि
र
राष्ट्रकविको परिचयमा परिचय मिसाउँदै
भानुको उज्यालो
मोतीको चमकसँगै
पुलकित हुन्छु नेपालको आँगनीमा
कहिले शेली, कलरिज, किट्स र वर्डस्वर्थसँगै
स्वच्छन्द रमाउने
देवकोटाको वनमा
खोजी गर्छु जीवनको।
जब मेरो स्वतन्त्रतामा प्रहार गर्छ कसैले
मलाई रिमालको आमाको सपनाले ब्युँझाउँछ
भूपिको मेरो देशले जगाउँछ
जब स्वाधीनतामा धक्का लगाउँछ कसैले
र
जब माधव घिमिरेको बुलन्द आवाज सुन्छु
नेपाली हामी रहौंला कहाँ नेपालै नरहे
अनि फेरि जाग्छु
बलभद्रको आँट
भक्ति थापाको साहस
भीमसेनको उत्साह
र
अमरसिंहको गर्जन बोकेर।
मलाई माधव घिमिरेको राष्ट्रनिर्माताले ब्युँझाउँछ
बाँडिएका मनहरूमा
अखण्ड दियो जलाउँदै
एकता र आत्मीयताको
निराशाको मौनतामा
गीत गुञ्जाउँदै
भावना र विचारको
म आनन्दित र पुलकित हुँदै
झुमिरहन्छु
सुन्दर फूलबारीमा।
म मेरो संस्कृतिको सुन्दर वाटिकामा
फुलाइरहन्छु सुन्दर फूलहरू
वीरताका गाथा गाउँदै
कर्मयात्रामा तल्लीन रहेर
मेची कालीको सुसाहटसँगै
गुञ्जिन्छन् मेरा सपनाहरू।
शिरमा सगरमाथा
छातीमा तराई
र
पाखुरीमा पहाड बोकेर
पूर्वको उज्यालोसँगै
हिँडिरहन्छु
म यो देशको मान्छे।।