रातको करिब १२ बज्नै लागेको थियो। फोनको घन्टी बज्यो। सम्झनासँग धेरै रमाइलो जिन्दगीका सुख, दुःखको गफ भइरहेको थियो।
फोन उठाइहाल्न त्यति मन थिएन, किनकि फोनमा भनिनेवाला थियो 'डाक्टर जयन्त, इमर्जेन्सीमा एउटा कम्प्लिकेटेड केस आएको छ, आउनु पर्यो।' फोन उठाउँदा त्यस्तै भयो।
आज मेरो नाइट ड्युटी। उसैपनि म रातभरि नसुत्नेवाला थिएँ। डाक्टर ड्युटी रूममा म बसिरहेको बेला केही समय अघि जनरल मेडिकल वार्डबाट बिरामीको भाइटल्स लिने र मेडिसिन दिने काम छिटोछिटो सकाएर सम्झना सिस्टर मेरो रूममा आएकी थिइन्।
मलाई चार दिन अगाडि कुकुरले टोकेको हुनाले सामान्य घाउ पनि भएको थियो। सम्झनाले मेरो घाउको वुण्ड केयर पनि गरिन्। टिटी र रेविजको भ्याक्सिन लगाउने पनि सम्झनाबाटै भैरहेको थियो। हामी पहिल्यै देखिका साथी भएको हुनाले ड्युटी परेको बेला फुर्सदको बेलामा राम्रो साथीको रूपमा अन्तरंग कुराकानी हुन्थ्यो।
मलाई पनि रमाइलो लागिरहेको थियो। आजको रात बिरामी नआए पनि हुन्थ्योजस्तो लागिरहेको थियो। किनकि केही पर्खाइपछिको यो नाइट ड्युटी हो हाम्रो। तर इमर्जेन्सीको नाइट ड्युटी, अन ड्युटी डाक्टर ममात्र। जानै पर्यो। बर्निङ केस रहेछ। एनएस ड्रेसिङ गराई, स्लाइन दिएर भर्ना गरिदिए र फेरि ड्युटी रूमतिर गएँ।
केही जुनियर स्टाफहरू तल नै थिए। मलाई विश्वास थियो सामान्य केस उनीहरू ह्यान्डल गर्न सक्षम थिए। म रूममा पुग्दा सम्झना अझै त्यहीँ थिइन्।
फेरि हामीबीच रमाइलो गफगाफ सुरू भयो।
***
आज म त्यही रात सम्झिरहेको छु जसको कारणले मेरो यो गति भएको छ। बिचरी मेरी श्रीमती! यतिबेला रोइरहेकी छन् होला। उनको केही दोष छैन। अहँ छँदै छैन। तर सजाय भोगिरहेकी छन्। मेरी श्रीमती सिम्रन, नेपालमा जन्मे पनि अमेरिकामा हुर्केकी।
उनलाई आजसम्म त्यस्तो ठूलो दु:ख केही पनि परेको थिएन। सुखसयलको जिन्दगी बिताएकी केटी। तै पनि आफ्नो नेपाली हिन्दु संस्कार एकदम राम्ररी जानेकी। बिहान सबेरै उठेर मसँगै करिब एक घन्टा पाठपूजा गरिसकेपछि उनको दैनिकी सुरू हुन्थ्यो। छोरो आयुष स्कुल जान थालेपछि उनको कार्यबोझ अलि कम भएको थियो।
उनको कलाकारितामा एकदमै रुची थियो। मेरा ससुरा बा एकताका निकै नाम चलेका गायक थिए। उहाँका गीतहरू अझै पनि नेपाली जनजिब्रोमा झुण्डिरहेका छन्। उहाँले छोरी पनि आफूजस्तै पाउनु भएछ।
मीठो स्वर भएकी सिम्रन आफ्नो पहिलो एल्बमको सफलतापछि कन्सर्ट गर्ने क्रममा दुबईमा पुगेकी रहिछन्। हामी बसेको होटल एउटै परेछ। म त्यहाँ साथीहरूसँग घुम्न गएको थिएँ।
साँझ डिनरमा हामी बसेको भन्दा ठिक पछाडि उनीहरू थिए। मेरो एउटा साथि 'ऊ, ऊ सिम्रन' भन्द्रै अटाग्राफ लिन दौडियो। दिनभरि कन्सर्टमा गाउँदा सिम्रनलाई टाउको दुखिरहेको खबर उसले ल्याएपछि म रूममा गएर सिटामोल लिएर आएँ।
सिम्रनको छेउमा गएर उनलाई औषधि दिन लागेको थिएँ। उनले ग्लासमा पानी लिएर औषधि खाइन्।
मैले भनें, 'ओ हो ... मैले पनि तपाईंलाई औषधि ल्याइदिएको थिएँ। तर तपाईंसँगै रहेछ।' उसले मीठो मुस्कानका साथ भनिन्, 'हजुर मसँगै थियो। मलाई टाउको दुखिरहन्छ, तयारी गरेर हिँड्छु। बाइ द वे, धन्यवाद तपाईंलाई, अनि तपाईंको परिचय ?'
'म डा.जयन्त।'
यसरी हाम्रो परिचय भयो। पछि पत्ता लाग्यो कि मेरो मामा र सिम्रनको बुवा अमेरिकामा एकै ठाउँमा काम गर्ने साथी हुनु हुँदोरहेछ। सिम्रनले नेपालमा आउने र नेपाली संस्कृतिमै रमाएर बस्ने इच्छा गरेपछि सिम्रनको बुवाले छोरीको विवाह नेपालतिरै गरिदिने सोचाइ बनाएको कुरा मेरो मामासँग गर्नुभएछ। मामाले मसँग सोध्नासाथ मैले उहाँलाई कुरा अगाडि बढाउन भनें।
सबै कुरा मिलेपछि नेपालमै नेपाली संकृति अनुसार विवाह गर्ने सल्लाह भयो। मंसिर १५ गतेको शुभ साइतमा पशुपति वनकालीमा हाम्रो विवाह भयो। विवाह पछिका दिनहरू अत्यन्तै सुखमय रहे। हामीले आफ्नो घर पनि बनायौं। सिम्रनको अर्को एल्बम निकाल्ने सोचाइ थियो। सिम्रन एकदम पतिव्रता नारी थिइन्। हरतरहले मलाई कुनै कुराको कमी हुन दिन्नथिन्। फुर्सदको समयमा उनको हातमा गितार हुन्थ्यो। उनी गीत गाउने अभ्यास गरेर बस्थिन्।
एकदिन उनीसँगै म पनि गीत रेकर्डिङको लागि स्टुडियो गएको थिएँ। उनी वास्तवमै एकदम राम्रो स्वरकी धनी, कुशल गायिका थिइन्। मलाई लाग्दथ्यो मैले यो दुनियाँकी सबभन्दा क्षमतावान, असल, ज्ञानी र राम्री केटी श्रीमतीको रूपमा पाएको छु। म भाग्यमानी छु। अब मलाई कुनै कुराको कमी छैन। अर्को एल्बमको तयारी गर्दागर्दै सिम्रन प्रेग्नेन्ट भइन्। म बुवा बन्ने भएँ। केही समयपछि आयुष जन्मियो। मेरो छोरो। मेरो सम्पूर्ण कुराको हकदार। अमेरिकाबाट सासूमा पनि नाति हेर्न आउनु भयो। मेरो बुवाआमा हुनुहुन्नथ्यो। मलाई अलि खिन्न भयो। मेरो बुवाआमा भइदिएको भए कति खुसी हुनुहुन्थ्यो!
जे होस् मसँग अब आफ्नो छुट्टै परिवार थियो। छुट्टै संसार थियो। आयुषको रेखदेख गर्न कमला थिई। कमला पनि मेरी छोरीजस्तै लाग्थ्यो। विचरीका बुवाआमा थिएनन्। मेरा पनि थिएनन्।
अब त हाम्रो छोरो आयुष पनि मसँग गफ गर्न सक्ने भयो। हेर्दाहेर्दैै एकदमै गफाडी बन्दै गयो। कहिलेकहीँ हामी फेमेली पिकनिक पनि जान्थ्यौं। कहिले नगरकोट, कहिले चोभार, कहिले गोदावरी त कहिले ककनीसम्म पनि जान्थ्यौं। म, सिम्रन, आयुष र कमला। साह्रै रमाइलो हुन्थ्यो। घरका सम्पूर्ण कुराहरू सिम्रन सम्हाल्थिन्। बाहिरको म। सबै ठिकठाक थियो। अब सिम्रन आफ्नो अधुरो सपना साकार पार्ने पक्षमा थिइन्। उनी दोस्रो एल्बम निकाल्ने तयारीमा थिइन्। म पनि उनलाई सघाइरहेको थिएँ।
अचानक म अलि बिरामी भएँ। केही ल्याब टेष्ट गराउन पठाएँ। इम्युनिटी अति कम देखियो। मलाई झन् तुलबुल भयो। अरू अरू टेष्ट गराएँ। सब ठिक थियो। तर अन्त्यमा एच.आई.भी. पोजेटिभ देखियो। मलाई विश्वासै लागेन। फेरि टेष्ट गर्न पठाएँ, फेरि पोजेटिभ। म छाँगाबाट खसेजस्तै भएँ। ओठ सुख्खा भयो। हातखुट्टा काप्न थाले। आँखाबाट एक्कासि आँसु झर्न थाले। बोल्ने आँट आएन। थरथर काम्न लागेछु। सँगै रिपोर्ट समातेर बसेको ल्याब टेक्निसियन नवीन भन्दै थियो,'डाक्टर साव सम्हालिनुस्।'
तर म सम्हालिन सक्ने अवस्थामा थिइनँ। आँसुको धारा छुट्यो। तर आवाज आएन। झ्यालबाट बाहिर हेरेँ । सेतो कुर्ता लगाएका केही नर्सहरू आफ्नो ड्युटी सिध्याएर हस्पिटलको गेटबाट बाहिरिने क्रममा थिए। बीचमा सम्झना पनि थिई। दौडदै गएर एक थप्पड हान्न मन लाग्यो। तर खुट्टा चल्न सक्ने अवस्थामा थिएन। घर जाने मनै भएन। आठ बजे ड्युटी सकिने। म राति १० बजेसम्म हस्पिटलको बरन्डामा तारा हेरेर बसिरहेँ। मोबाइल बज्यो। सिम्रनको फोन। डर लाग्यो। अनि हतार हतार गाडी घुमाएँ र घरतिर गएँ। बाटो सुनसान थियो।
घर पुग्दा छोरो आयुष र कमला अघि नै सुतिसकेछन्। सिम्रन चाहिँ अझै पनि खाना नखाई मलाई पर्खेर बसिरहेकी थिइन्। उनको बानी नै यस्तै छ। मैले नखाई उनी खाँदिनन्। पुग्नासाथ मैले भनें- आज अलि ढिला भयो। तिमीले खाना खाएको भए हुन्थ्यो।
सिम्रन फेरि त्यही मीठो मुस्कानका साथ भन्न थालिन्, 'कहिलेकाहीँ भैहाल्छ नि, सधैं आफूले भनेको जस्तो कहाँ हुन्छ र! म हजुरले नखाई कसरी खान सक्छु ?' सधैंको जस्तो 'त्यस्तो होइन लाटी' भनेर सम्झाउने आँट आज आएन।
चुपचाप शान्तपूर्वक खाना खाएँ। धेरै खान पनि मन लागेन। सधैंको जस्तो नेट पनि खोलिनँ। चुपचाप ओछ्यानमा गएँ। सुतिहालेँ। सिम्रन छक्क परेकी थिइन्। उनी सधैंको जस्तो रमाइलो कुराहरू गर्न चाहन्थिन्। तर मैले निदाएको नाटक गरेँ। बिउँझाउने फितलो कोसिस पनि गरिन्। तर खै के सोचेर उता फर्केर सुतिन्। तर म रातभरि निदाउन सकिनँ। जेटप्लेनको ठूलो आवाज आयो। बसेको हो कि उडेको हो छुट्याउन सकिनँ। घडी हेर्दा २ बज्न ५ मिनेट बाँकी थियो। सिम्रन मस्त निन्द्रामा थिइन्।
म उठेर बाहिर बरण्डातिर गएँ। फेरि छोरो सुतेको ठाउँमा गएँ। छोरो निदाइरहेको थियो। मेरो आँखाबाट आँसुका धारा बर्सिए। छोरोलाई हेरिरहेँ। छुने आँट आएन। छोरो ब्युझिन खोजेझैं गर्यो। म चोर भागेझैं बिस्तारै भागेँ। घडी हेर्दा ५ बजिसकेछ। सधैं म ५ बजे उठिसकेको हुन्थेँ। आज त सुतेकै छैन।
सिम्रन पनि उठिन्। ६ बजे क्लास लिन जानुपर्ने थियो। केही तयारी थिएन। म एउटा कलेजमा बिहान ६ बजे एच.ए.लाई मेडिसिन पढाउँथें। पाठपूजा गरेँ। सधैँ पाठपूजा गर्दा भगवानसँग मेरो र मेरो परिवारको राम्रो होस् भनेर माग्थेँ। तर आज केही पनि मागिनँ। सिम्रनले चिया तयार गरिन्। नबोली चिया खाएर म गाडी लिएर हिँडेँ। क्लास लिन पुग्दा ६ः१५ भइसकेको रहेछ। पढाउन थालेँ। आजको पढाउने टपिक एच.आई.भी./एड्स रहेछ। छातीमाथि पहाड राखेजस्तै भयो। क्लासमा रून त मिलेन। तै पनि अलि अलि पढाएर छिट्टै हिँडें। घर जान मन लागेन। गाडी सुन्दरीजलतिर घुमाएँ। एउटा रिसोर्टमा गएर बसेँ। अनि सिम्रनलाई फोन गरेँ।
'आज म आउँदिनँ, मैले खाना खाएँ, तिमीले खानु।' हस्पिटलमा पनि फोन गरेँ, 'आज म आउँदिनँ।' बल्ल अलि ढुक्कको सास आयो। तर मनमा पहाड थियो।
वेटर आयो। मैले एउटा कफी मात्र भनें। मोबाइलमा गेम खेल्न थालें। तै पनि मन सम्हालिएन। सम्झनालाई फोन गरेँ र सुन्दरीजल आउन बोलाएँ। ऊ मानेकी त थिइन तर आउने भई। उसको आज ड्युटी अफ नै रहेछ। ऊ आएपछि मैले चिकन मम मगाएँ। ऊ खाना खाएर आएकी रहिछ। ऊ सधैंको जस्तो प्रसन्न मुडमा थिई।
मलाई त्यति बोल्न मन थिएन ।
निकै बेरपछि मैले भने 'आई ह्याभ गट एच.आइ.भी.।' ऊ अँध्यारी भई। चुपचाप बसी। केही बोलिन। सम्झना त्यहाँबाट चुपचाप उठेर गई। जान्छु पनि भनिन। सम्झना र म सानैदेखि सँगै पढेको। त्यसैले उसलाई म साथी मान्थें। प्लस टु पनि सँगै पढ्यौं। पछि मैले एम.बि.बि.एस. पढेँ उसले नर्सिङ। जागिर पनि एउटै ठाउँमा खाइयो। उसले मलाई धेरैपटक आई लभ यु भनेकी थिई। तर मैले उत्तर दिएको थिइनँ। मेरो बिहेको निम्तो गर्दा ऊ आएकी थिइन।
मेरो बिहे भएको २–३ महिनासम्म त ऊ मसँग बोलेकी पनि थिइन। तर अहिले सबै ठिकै थियो। ऊ राम्री थिई। मलाई पनि मन पर्थ्यो। तर म विवाहित। ड्युटीको त्यो एक रात। त्यही एक रात लामोे समय विविध कुरा गर्दागर्दै फिलिंसमा आएर हामीबीच चुम्बन साटासाट भएको थियो। सायद मेरो नर्कको यात्राको सुरूआत त्यहीबाट भयो।
सोच्दै जाँदा टाउको पड्केलाजस्तै भयो। सिम्रन र छोरोको याद आयो। हार्ड ड्रिङ्क मगाएँ। यसभन्दा अगाडि कहिल्यै खाएको थिइनँ। बेलुका कसरी घरमा पुगें थाहा छैन। मोबाइलमा म्यासेज आयो, सम्झनाको।
'बट आई ह्याव नो एच.आई.भी.।' म छक्क परेँ।
उसलाई एच.आई.भी. नभए मलाई कसरी भयो त! फेरि म्यासेज आयो। भोलि आफैं मेरो ब्लड टेस्ट गराएर हेर्नू। मलाई छैन। मैले केही सोच्नै सकिनँ। यसपछि स्वभाविक नै मेरो शंका सिम्रनमाथि गयो। जो फूलजस्तै निष्कलङ्क थिई ।
भोलिपल्ट मैले सिम्रनलाई पनि बहाना बनाएर हस्पिटल लिएर गएँ। मेरो, सिम्रनको र सम्झनाको ब्लड टेस्ट गराउन दिएँ। मेरो र सिम्रनको पोजिटिभ आयो। सम्झनाको नेगेटिभ। त्यसपछि सिम्रनलाई केही नभनी घर लिएर गएँ।
फेरि भोलिपल्ट आयुषको ब्लड टेष्ट गराएँ। उसको नेगेटिभ आयो। अलिकति भए पनि ढुक्क भएँ। घरमा गएर चुपचाप सिम्रनका सबै सरसामान प्याक गरिदिएँ र उसका सम्पूर्ण गरगहना र २० लाखको चेक दिएर भने...... 'सिम्रन तिमी जाऊ । जाऊ सिम्रन, तिमी जाऊ । अब कहिल्यै नआउनू । तिमी जाऊ । तिमीलाई एक मिनेट पनि म अब देख्न सक्दिनँ।'
बिचरी ऊ छक्क परी। उसलाई के भैरहेको छ त परै जाओस्, आफूलाई एचआइभी भएको कुरा पनि अझै थाहा थिएन। ऊ बस्नै नसक्ने वातावरण बनेपछि ऊ गई। छोरो आयुषसँगै लग्ने ठूलो जोड गरेकी थिई, तर मैले दिइनँ। त्यसपछि मैले घरको सम्पूर्ण साँचो दिएर छोरो आयुषको राम्रो ख्याल गर्नू भन्दै कमलालाई सबथोक छोडेर आफ्नो गाउँतिर केही दिनको लागि गएँ।
म सबैसँग लगभग पूरै सम्पर्कविहीन भएँ। गाँउमा सबै जनासँग भेटघाट गरेर केही दिनपछि काठमाडौँ फर्कें। बिचरी कमला इमान्दारिताका साथ सबै कुरा सम्हाली राखेकी रहिछ। दया लाग्यो। छोरो मलाई देख्नसाथ बाबा भनेर उफ्रियो र रून थाल्यो। मेरो पनि आँसु आयो। कमलाले भनि- एक जना दिदीले अस्ति तपाईंलाई खोज्दै आउनुभएको थियो। दिनभरि यहीँ बस्नुभयो। यो चिठी छोड्नुभएको छ।'
चिठी सम्झनाको रहेछ। मैले चिठी खोलेँ।
लेखिएको थियो 'डा.जयन्त, मलाई माफ गर्नुहोला, मैले धेरै ठूलो भूल गरेँ, माफी माग्न लायक पनि रहिनँ। म तपाईंलाई प्रेम गर्थें, म तपाईसँग विवाह गर्न चाहन्थें। तर तपाईंले अर्कैसँग विवाह गर्नुभयो, मलाई एकपल्ट पनि सोध्नु भएन।
मलाईं तपाईंसँग बदला लिने सोचाइ भयो र तपाईंलाई कुकुरले टोकेको बेला टिटी र रेविजको सुईं लगाइदिने बेला मलाई खै कस्तो प्रतिशोधको भावना आयो र तपाईंले थाहा नपाई एचआइभी पेसेन्टलाई लगाएर कन्टामिनेटेड भएको सिरिन्जले तपाईंलाई लगाइदिएँ। त्योबेला नै तपाईंसँग हस्पिटलमा नाइट ड्युटीमा त्यस्तो हुनु पनि मेरो योजना अनुसार नै थियो।
यसरी एचआइभी तपाईंलाई मात्र भयो, मलाई भएन। तपाईंमार्फत् तपाईंको म्याडमलाई भयो। तर आज मलाई दुःख लागिरहेको छ। तपाईंको श्रीमतीलाई हेरेर। विचरी दिनरात सडकमा तमासा देखाएर बसिरहेकी छन्।
तपाईंको श्रीमतीको केही गल्ती छैन। तपाईंको पनि छैन। गल्ती मेरो छ। म तपाईंलाई एकपल्ट भेटेर माफी माग्न चाहन्थेँ तर सम्भव भएन। अबको परिस्थिति मेरो वशमा छैन, तपाईं बुझ्नुहुन्छ। पर्सी मेरो अमेरिकाको फ्लाइट छ। उतै बस्छु होला। आउँदिनँ होला। सक्नुहुन्छ भने माफ गर्नुहोला। उहीँ सम्झना।'
चिठी पढिसकेपछि म पनि छोरोसँगै रून थालेँ। सम्झना तैंले धेरै राम्रो काम गरिछस्। मसँग बदला लिएर। तर नडराउनु म बदला लिनेवाला छैन। त्यो तागत मसँग अब छैन। भोलिपल्ट मैले सिम्रनको व्यापक खोजी गरेँ, तर भेट्न सकिनँ।
सिम्रनसँग माफी माग्ने इच्छा यो जुनीमा पूरा नहुने भो। मेरो मुटुको टुक्रा आयुषलाई छाडेर जाने मन पनि छैन। तर म यस्तो निच र लज्जित अनुहार देखाएर बाँच्न पनि सक्दिनँ। सुनेको छु, त्रिशूलीमा बस हराउँछ रे। भोलि बिहान उज्यालो हुनुभन्दा अगाडि नै म पनि त्रिशूलीमा हाराइसक्नेछु।
***