सहरको कुनामा एउटा घर बनाएको छु,
घर भाडामा पनि लगाएको छु,
छिमेकीसँग प्रतिस्पर्धा गर्नै पर्यो,
इज्जत-प्रतिष्ठा राख्नै पर्यो,
सेकेन्ड ह्यान्ड गाडी किनेको छु,
जसोतसो पेट्रोल भरेको छु
आजकाल म सहरिया भएको छु।
बिहानै मर्निङ वाकमा जानै पर्यो,
पहाडका फेदीबाट डोकोमा साग बिक्री गर्न ल्याउनेसँग
रू पाँच घटाएर मोलतोल गर्छु,
नठगिएको अनुभूति हुन्छ,
दिउँसो रेष्टुरेन्टमा वेटरलाई रू पचास टिप्स दिँदा
गर्वले प्रतिष्ठा बढेको महसुस गर्छु,
डोकोमा साग बोक्नेको पसिनाले ऊसँग विकर्षण हुन्छ,
सपिङ मलका सुन्दरीले लगाएको सुगन्धले आकर्षित हुन्छ,
तिनै पसिना गन्हाउनेले डोकोमा बोकेर ल्याएको साग प्लाष्टिकमा बेरेर
तीनदोब्बर दाम बढी तिर्दा गुणस्तरीय खरिद गरेको ठान्दछु,
त्यसैले आजकाल म सहरिया भएको छु।
घरमा सानो बच्चा पनि छ,
उसलाई हेरचाह गर्ने दिदी पनि छ,
उनैलाई नानीआमा वा सर्वश्व ठान्छ,
भात उनै खुवाउँछिन्,
सँगै सुताउछिन्,
रगतको सम्बन्धसँग दूरी बढाएको छु,
तर घरमा ल्याएको पप्पीसँग नजिकिएको छु,
आजकाल म सहरिया भएको छु।
बेलाबेला गाउँका बाल सखाले फोन गर्छन्,
'गाउँबेसी गरिँदैछ,
दुई छाक टन्न पेटभरि खाइएकै छ,
अस्पतालको मुख आजसम्म हेरिएको छैन,
अनि तेरो के छ नि?' भन्छन्,
सहरियाको हाल खबर सोध्दछन्।
म भन्छु
'अदालतले होइन डाक्टरले मासिक तारेख दिएका छन्,
नसर्ने सबैरोगका भारी बोकाएका छन्,
महिनैपिच्छे तारिख थाम्न पुर्जासँगै क्लिनिक जान्छु,
नाप जाँच गर्छन्,
पुर्जामा के-के थप्छन्, के-के मेट्छन्,
पुनः अर्को महिनाको तारेख दिन्छन्,
झोलाभरि महिनादिनको औषधि लिएर घर फर्केको छु।
आजकाल म सहरिया भएको छु।'