विनयले झोला कस्यो, झोलासँगै आफ्ना रहरहरु पनि कस्यो, श्रीमतीका खुसीहरु पनि कस्यो। उसले टिकट मिलायो, लुगा मिलायो, लुगासँगै उसले आफ्ना आशा र सपनाहरु पनि मिलायो झोलामा।
बिहानको ९ बज्दै थियो, हतार-हतार उसले घर छोड्यो। घरसँगै परिवारसँगका प्रेमिल यादहरु छोड्यो। सन्तानसँगका सुन्दर पलहरु छोड्यो। पाँच बजेको हवाई यात्रा गर्दै मलेसिया प्रस्थानका लागि उसले धेरै धेरै चिज छोड्यो। ठिक ५:३० मा उसले आफ्नो धर्ती छोड्यो। तर यात्राभरि पछ्याइरहे उसलाई अनेकौँ प्रश्नहरुले।
स्मृतिका अनगिन्ती उडानमा ऊ कुदिरह्यो, दौडिरह्यो। सबैभन्दा पहिलो प्रश्न उसलाई स्नातक तहको प्रमाणपत्रले सोध्यो। 'मेरो प्रयोग नै नगर्ने भए किन त्यति धेरै मेहनत, खर्च र समय दिइस्?' विनयसँग कुनै जवाफ थिएन। विनयलाई यस प्रश्नले केहीबेर गम्भीर बनायो। उसलाई कुखुरा बेचेर पढेको याद भयो। पुराना पुस्तकहरु बिक्री गरेर फी तिरेको याद भयो।
उसले आफ्नो बाबुले काँधमाथि बोकेको हलो सम्झियो। तीन कोश हिँडेर भटमास बेची ल्याएको पैसाले चामल किनेको सम्झियो। मेलापात गर्दा कलेटी परेको आमाको चोली सम्झियो। उसलाई गिज्याइरहे बाबा-आमाको शरीरले लगाएका ती जीर्ण लुगाहरुले।
फेरि अर्को प्रश्न तेर्सियो उसको अघि। धर्तीमाताले सोधिन् 'के पाउनका लागि आफ्नी आमालाई छोडेर त्यति टाढा गइस? यहाँ के पाइँदैन र त्यहाँ के पाइन्छ? के तिम्रो प्रयासले यहाँ कहिल्यै हार खाएको छ?' विनयसँग यस प्रश्नको पनि उत्तर थिएन। किनभने भविष्य अनिश्चित थियो। कुनै कुराको टुङ्गो थिएन। अपरिचित भूमिमा उसको सम्पूर्ण सपना भविष्यको गर्भमा विलीन थियो।
ऊ लज्जित भयो धर्तीमाताको अघि। ठिक त्यति नै बेला फेरि उसको अघि एउटा गह्रुङ्गो प्रश्न तेर्सियो गौतम बुद्धको आवाजमा। 'तिमी कुन तृष्णाको प्यास मेट्न आफ्नो सुन्दर देश छोड्यौ? आफूभित्रको मोतीलाई नचिनेर तिमी किन बाहिर खोजिरहेछौ?' ऊसँग यस प्रश्नको न उत्तर थियो, न त समाधान नै। विनयका ओठहरु मौन थिए। तर भित्रभित्रै सुनामी चलिरहेको थियो। उक्त सुनामीसँगै बगिरहेका थिए निराशा र कुण्ठाका अनगिन्ती जुलुस। थुप्रै प्रश्नहरु सुन्दै र मौन ओठहरुले सामना गर्दै ऊ गन्तव्यमा पुग्यो।
गन्तव्यमा पुग्न जति सजिलो थियो, त्योभन्दा हजारौँ गुना कठिन थियो त्यहाँ गएर काम गर्न। उसले सेक्युरिटी गार्डको काम पायो। जब रात मस्त निद्रामा सुतेको हुन्थ्यो, उसले आफ्ना आँखाको चाबी जबर्जस्त रुपमा खोल्नुपर्थ्यो र पहरा दिनुपर्थ्यो सिङ्गो रातलाई।
जुनेली रातमा त उसले आकाश हेर्थ्यो र जूनको सुन्दरतालाई आफ्नी प्रियसीको मिठो मुस्कान ठान्थ्यो र त्यही कल्पनामा आफूलाई समाहित गर्थ्यो। जब औँसीका काला दिनहरु सुरु हुन्थे, त्यतिबेला भने उसको मानसपटलमा पनि कालो बादल छाउँथ्यो। उसलाई सम्झना हुन्थ्यो, आफूसँगै काम गर्ने ती प्रिय जवान साथीहरुको अकाल मृत्यु।
मृत्युको अन्तिम अवस्थामा समेत औषधि, अक्सिजन, एम्बुलेन्स केही नपाएर तड्पिएका ती आत्माहरु। कम्पनीका मालिकहरुले देखाएको बेवास्ता र अपहेलनालाई सम्बोधन गर्ने कुनै शब्द नै थिएन ऊसँग। कोरोनाको कारण चार-चार जना साथी गुमाउँदाको पीडाले ऊ भित्रैदेखि दुख्थ्यो, छटपटाउँथ्यो र विचलित हुन्थ्यो।
नेपाली युवाहरुको उर्जा, सीप र क्षमताले हरेक दिन नेपालको जमिन छोड्दै थिए तर, निर्जीव शरीरले भने काठका बाकसभित्र बसेर नेपाल खोज्दै थिए। यस्तो विडम्बनापूर्ण समाचारको खबरले ऊ मर्माहत हुन्थ्यो। ऊ आफूलाई पनि त्यही लाइनमा उभिएको कल्पना गर्थ्यो र भित्रैदेखि काँप्थ्यो। बाहिरको मौसम र परिवेशसँगै उसको भित्री संसार पूरै प्रभावित हुन्थ्यो।
उसलाई रात मन पर्दैनथ्यो, न त ती डरलाग्दा सम्झनाहरु नै मन पर्थ्यो तर जति मन नपरेपनि फर्की-फर्की आउने त्यही समय र सम्झनाहरु नै थिए। ती अँध्यारा रातहरुमा उसले कैयौँपल्ट साहुका निर्दयी बुटहरु खान्थ्यो जब उसका आँखाहरुले विश्राम गर्न खोज्थे। अश्लिल गालीहरु वर्षिन्थे उसमाथि। मन बहलाउन ऊ कहिलेकाहीँ आफ्नी अमृतालाई फोन गर्थ्यो। घरको हालचाल सोध्थ्यो र केहीबेर शीतल महसुस गर्थ्यो।
अमृतालाई उसले राम्रा-राम्रा कुरा मात्र सुनाउँथ्यो। आफ्ना पीडाहरु छातीभित्रै लुकाएर राख्थ्यो। उता अमृता भने बेलाबेलामा आफ्ना दुःखद अनुभूतिहरु सुनाउँथी। एकपल्ट उसले भनेकी थिई 'आजभोलि त मलाई रात पनि नपरे हुन्थ्यो जस्तो लाग्छ। मलाई सधैँ रातले लखेटिरहन्छ, डरलाग्दा सपनाहरुले लखेटिरहन्छ। मेरो मुटु बेसरी धड्किन्छ। छिटै आऊ प्यारा, विदेशको नोटभन्दा कैयौँ गुणा स्वर्ग लाग्छ मलाई तिम्रो साथ।'
विनयले अमृतालाई सम्झाउँथ्यो- सपना भनेको भ्रम मात्र हो। चिन्ता नगर, म छिटै आउनेछु तिम्रो माया बोकेर।
मलेसिया पुगेको दुई वर्ष पूरा हुँदै थियो। उसलाई आफ्नै मनले प्रश्न गर्यो। आफ्नै मनको प्रश्नमा पनि ऊ केहीबेर घोत्लियो। उसले आफ्नो कामको हिसाब गर्यो, नाफाको हिसाब गर्यो र खुसीको हिसाब गर्यो। हिसाबमा कुनै सन्तुलन थिएन। हिसाब पूरै घाटामै थियो। महिनामा मुस्किलले २५ हजार बचत। दया, माया, करुणाको हत्यारासँगको सङ्गत, न खुसी, न सुरक्षा न त आत्मसम्मान। जता हेरे पनि निराशै निराशको थुप्रो।
उसले अब घर फर्किने विचार गर्यो। घाटाको जिन्दगी जिउन मन लागेन उसलाई। सारा अपमान सहेर परदेशी जीवन जिउनुभन्दा आफ्नो मातृभूमिको सेवा गरेर आफ्नै सुगन्धमा रमाउनु उत्तम लाग्यो उसलाई। उसले अठोट गर्यो अब एक महिनाभित्र घर फर्किने।
लामो समयको बन्द उडानपछि यात्रा भर्खरै सहज हुँदै थियो। उसले कम्पनीको साहुसँग कुरा गर्यो। साहुले सजिलै जान दिनेवाला थिएन। राम्रो र इमान्दार अर्को मान्छे पाइयो भने मात्र उसलाई जान दिने कुरा गर्यो। अनेकौँ कोसिस गर्यो विनयले, समस्या सुनायो, तर पत्थरको मन भएकोलाई विनयको मर्म र वेदनाले छुने कुरै थिएन।
कमाएको पैसा नलिई जाने कुरा पनि भएन। घर जाने योजना बनाएको पनि महिनौँ बितिसकेको थियो। विनय अचानक एकदिन बिरामी पर्यो। सुरुमा उसले सामान्य रुघा ज्वरो ठान्यो। तर पछि उसको शरीर गल्दै गयो। उसले मालिकलाई आफू बिरामी भएको कुरा सुनायो। साहुले सामान्य रुपमा लियो। मानौँ कि गल्लीमा हिँड्ने कुनै कुकुर बिरामी छ। न अस्पताल, न औषधि न पैसा, न एम्बुलेन्स।
कुनै कुराको लागि चासो नदेखाएको साहुले भोलिपल्ट आएर नेपाल जान दिने कुरा गर्यो। सायद उसले सोचे होला अब बिरामी मानिस राखेर केही फाइदा हुनेवाला छैन। केही पैसा मात्र दिएर बाँकी पैसा हिँड्ने बेलामा दिन्छु भन्दै उसले आफ्नो असली चरित्र देखायो। विनय जतिबेला जान सक्थ्यो, उसले छुट्टी पाएन। विनय जतिबेला जान नसक्ने भएर ओछ्यानमा पल्टिरहेको थियो, उसले छुट्टी पाइसकेको थियो।
विनय बिरामी भएको कुरा थाहा पाएर उसका नेपाली साथीहरुले हस्पिटल लान एम्बुलेन्स बोलाए। एम्बुलेन्स आयो। एम्बुलेन्समा आएका मानिसहरुले बिरामीलाई चेकजाँच गरे र धेरै गम्भीर नभएको र अन्यत्र सिकिस्त भएका बिरामी लिन जानु पर्ने भएकाले विनयलाई लिन नसकिने कुरा बताए।
विनय ओछ्यानमा लडेको पनि १२ औँ दिन भइसकेको थियो। उसलाई श्वासप्रश्वासमा कठिनाइको महसुस भयो। मध्यरात थियो, उसका साथीहरुको पनि कामको समय थियो। विनय एक्लै छटपटायो। उसको शरीरले अक्सिजन मागिरहेको थियो, अक्सिजन थिएन। उसका ओठहरुले पानी मागिरहेका थिए, पानी लिन सक्ने ऊसँग तागत थिएन। उसको शरीरले उपचार मागिरहेको थियो तर डाक्टर थिएन।
उसले प्रेमको याचना गरिरहेको थियो, तर त्यहाँका अग्ला-अग्ला भवनहरुभित्र बस्ने मालिकहरुसँग केवल शरीर थियो, मन थिएन। मनको ठाउँमा थियो विशाल पत्थर। जसले न त कसैको वेदनालाई सुन्न सक्थ्यो। न त कसैको हृदयलाई छाम्न र बुझ्न। विनय एकदमसँग छटपटायो।
उसको छटपटी सुन्ने केवल दिवारहरु थिए। सिलिङ र झ्यालहरु थिए। तिनै निर्जीव वस्तुहरुसँगै ऊ पनि निर्जीव बनेरै अस्तायो र काठको बाकसभित्र बसेर नेपाल खोज्यो। जसरी हरेक दिन नेपालीहरु बाकस बनेरै नेपाल खस्छन्।