मणिको आशन झैँ झलमल, मेरो जन्मभूमि छ है
हिउँका फूल फुल्नाले, यो बन्यो झन् अपूर्व नै
पिरतीका कुराजस्तै मायाले छ यो हराभरा!
छातीमा लुक्दा हाँस्छ मायालु झैँ छ यो सदा!
मोहनीको हिमालैमा उचाइको छातीमा बसी
सन्धी समृद्धिको खेती गर्दछ यो पानीमा पसी
दिलमा फूल झैँ फुल्छ हाँस्दछ यो मनमा पसी
हामीले पौरख गर्दा दिन्छ आशिष दिलैमा बसी
कतै डाँडा ढकमक्क छन्, रङ्गिन लालीगुराँसले
कतै भूमि सुगन्धित छन्, चाँपका मिठा सुवासले
हिउँका ती शिखर सेता, आमाका हुन् शिरका मणि
पहिरन छन् ताश, कुचिन झैँ, देशमा बहेका नदी
सुनाखरी फुल्दछन् यहाँ मनको आशनमा बसी
धुपी सल्ला झुल्दछन् यहाँ नेपालीको दिलमा पसी
आमा हाम्री गर्भभित्र हिरामोती फलाउँछिन्
त्यो हिरा टिप्ने सन्तान तिमी भन्दै बोलाउँछिन्
छातीको त्यो बगैँचामा जाहीँजुही झुलाउँछिन्
पारिजात पनि उनको सासमा आमा बसाउँछिन्
पोल्टामा छन् अनेक रत्न, हिरा अनि मोतीको
सुनचाँदी नदीमा बग्छन्, छातीको त्यो जुहार हो
आमाको धनको पोको हिमाल, पहाड, तराई रे
कपालै सरीको जंगल, कति कालो घना छ रे
यो देश हो ज्ञानको धर्ती, यहाँ विज्ञान फुल्दछ
विकास देशको हाँसो बनी सबमा ज्ञान झुल्दछ
अब यो देशको छाती, विकासले नै हँसाइदिनू
यो मात्रीभूमिको मान, विश्वमा तिमी राख्दिनू
यार्चागुम्बा हिमालैको, कुबेरको धनको मूल
हिमाली जडी र बुटी, नेपालीका खुसीका बल
अमूल्य यी जडीबुटी, आमाका स्नेह लेपन
पानीमा बगेका ज्योती, आमाका ज्ञान हुन् झन्
के छैन देशमा मेरो, भण्डारै छ नि कुबेरको
पहिचान गर है सबले, ज्ञान चच्छु खोल नेत्रको
यो देशका सुगन्धित फूल आमाका ओढनीभरि
चुल्ठी बाटी सजाउने सूर्य, चन्द्र शिरैमा भरी
विकासका मूल फुटाउँदै अब तिमी अघि सर
धुपी सल्ला जडीबुटी झुल्दछन् छातीमा पसी
असल सन्तान अब आऊ, ज्ञानी बन्दै अघि बढ
विकासका मूल फुटाउँदै, अब तिमी अघि सर
मायाले यो देशको माटो मुटुभित्रै सजाउन
अब हाम्रो पिरती हामी देशैमाथि लुटाउन।