समयको गतिसँगै उसको मन र दिमागमा मायाको डेरा जमाएको थियो। उसलाई लाग्थ्यो कि कोही होस् यस्तो जसले हरेक पीडामा साथ र माया दियोस्।
ऊ साया, निकै राम्री र सोझी। उनी मेरो मिल्ने साथी थिइन्। मनमा भएका हरेक कुरा खोल्न घरको काम सकेर मलाई भेट्न आउँथिन्। उसको चाहना कोही होस आफ्नै लेभलको अनि घर टाढा होस् भन्ने थियो। सोचेजस्तै भयो।
एकदिन साया आफ्नो आफन्तकोमा गएकी थिइन्। त्यहाँ एक युवक साइकलमा सवार गर्दै उनकै वरिपरि घुम्दै थियो। उसको हेराइ र हाउभाउ हेर्दा सायालाई लाग्छ, यो मान्छेको केही दिनमा मोबाइलमा फोन आउँछ।
सामन्य दैनिकी चलिरहेको थियो। केही हप्तामा फोनको घण्टी बज्यो। सायाले को बोल्नु भएको सोध्छे। फोन उही केटा सुशान्तको थियो। सुशान्तले भन्छ, 'केही दिन अगाडि हामी भेटेका थियौँ नि।'
'मैले त कसैलाई भेटेको छैन!'
'याद गर्नुस् त...'
'अ... याद आयो, तपाईं सुशान्त होइन? मामाघर निर हाम्रो भेट भएको थियो।'
उनीहरुको दैनिकजसो कुराकानी हुन्थ्यो। केही समयपछि सुशान्तले भन्छ, 'साया, मेरो त भिनाजुको अफिसमा काम गर्ने एकजना केटीसँग कुराकानी हुन्छ। उनीसँग पछि बिहे गर्ने कुरा चल्दैछ।'
'त्यस्तो थियो त दिनरात मलाई फोन किन गर्नुहुन्छ, छोडिदिनुस् फोन गर्न।'
फोनमा यस्ता कुरा चल्दै गयो। दुईजना बोली बन्द भयो। एकछिनपछि दुवैजना डाँको छोडि रुन थाले। मध्यरातमा सिरकले मुख छोपी किक्क, किक्क गर्दै रुन थाले। खोई किन रुन मन लाग्यो थाहा नै भएन। सायद माया बसिसकेको थियो उनीहरु बिच। दिनरात कुरा हुँदै गयो। माया पनि एकअर्काबिना बाच्न नसक्ने हुन थाले।
आँखामा उसको लागि सजाएका सपना, उसको मन त दिनरात उसकै यादमा तड्पिँदै थियो। जे-जे कुरा चल्थ्यो उनीहरुबिच ती सबै कुरा मसँग सुनाउँथिन्। ६ महिना पनि भएको थिएन, उनीहरुको माया त जन्मौँ अगाडि गाँसिएको सम्बन्ध जस्तो थियो।
सुशान्तले बाहिर जानका लागि कोसिस गदै रहेछ। भिसा लाग्ने नलाग्ने चाहिँ निधो थिएन। कहिलेकाहीँ उनीहरु भेट्न थाल्छन्। पासपोर्ट साइजको फोटो साटासाट गर्छन्। तर सायाले 'मेरो फोटो किन चाहियो र?' भनी त्यही च्यातिदिन्छिन् किनकि सुशान्तले अर्को केटीको नाम लिन्छ। फोटो च्यातिदिएपछि सुशान्त रुन्छ। उसलाई असह्य भयो, दुवै जना अँगालो हाली रुन्छन्।
उनीहरुमा केही स्वार्थ थिएन, मात्र थियो मनभित्र चाखो माया जुन माया निःस्वार्थ अनि संसार जिताउने थियो। सुशान्तले घरमा कुरा राख्छ बिहे गर्नका लागि तर उनीहरुको गोत्र एउटै पर्न जान्छ। बिहे सम्भव हुँदैन। यत्तिकैमा सुशान्तको भिसा लाग्छ। साया पागल झैँ हुन्छे। उसले आधा होस गुमाएजस्तो हुन्छे।
उसको मनमा तुफान आउँछ। उसले खाना खान छोडिन्। सायालाई छोडी बाहिर जान सुशान्तलाई गाह्रो हुँदै थियो। जानुअघि सायाले अन्तिमपल्ट भट्न बोलाउँछे तर बल्लतल्ल उसले ओके भन्छ। उनीहरु नदीको किनारमा भेट्छन् र अंगालो हाली रुन थाल्छन्।
सायाको भनाइले मेरो मन पनि छियाछिया भयो। यति निःस्वार्थ माया गर्ने जोडी कहाँ पाउनू? मन ढुंगाले थिचे झैँ भयो। उनका शब्द-शब्दमा झल्किरहेको ती मायाका भाव अनि पीडा मेरा लागि असह्य भएको थियो।
सुशान्त विदेश गयो। पुग्नासाथ सायालाई फोन गर्यो, 'काली, म आइपुगेँ तर यहाँ सबै अपरिचित छन्। एक्लो महसुस भइरहेछ। तिम्रो याद आइरहेछ। तिमी पनि छिटो आइइएलटियस दिएर आऊ, यतै हाम्रो जीवन बनाउला।'
६ महिनाको गहिरो प्रेम सम्बन्धपछि टाढिँदा दुवैलाई पानी बिना तड्पिएको माछा सरी बनाउँदै थियो। सुशान्तको काम सकिनासाथ उनीहरु घण्टौँ कुरा गर्थे। सुशान्तले भन्न थाल्छ, 'बिहे गर्न सम्भव छैन हाम्रो। तिमी पनि बिहे गर अब, समय नि भयो कि यता आऊ।'
तर उता जान सहज थिएन। र, गोत्र एउटै भएका कारण विवाह गर्न पनि उनीहरुलाई छुट थिएन। यसरी फोनबाटै नै उनीहरुले माया साटासाट गरिरहेका थिए। तर अचानक सुशान्तसँग सायाको सम्पर्क छुट्छ। सुशान्तसँग जोडिने हरेक माध्यम सायाका लागि बन्द ढोका साबित हुन्छ।
लामो समयसम्म पनि कुराकानी नभएपछि सायाको अर्को केटासँग मागी बिहे हुन्छ। बिहे अर्कैसँग भए पनि उसको मनमा सुशान्त नै हुन्छ। ६/७ एकदिन अचानक सुशान्तले सायालाई फोन गर्छ। भिडिओ कलमा दुवै मनका बह पोख्दै जान्छन्।
सुशान्तले भन्छ, 'मेरो भिसा सकिएको थियो। कार चलाउने क्रममा दुर्घटनामा पर्दा हात खुट्टाले काम नगरेर ६ महिला हस्पिटलमा बसेँ। त्यसपछि अलि ठिक भयो र काम गर्न थालेँ। तर केही समयपछि सानो गल्तीले मलाई पुलिसले जेल हाल्यो। म न मर्न सकेको छु न त नेपाल आउन।'
सुशान्तको कुरा सुनेर साया छाँगाबाट खसेजस्तै भइन्। सायाले आफूलाई सम्झाउन सकिनन् र आँसुका ढिका खसाल्दै भनिन्, 'मेरो जीवन पनि तिम्रोभन्दा कम दयनीय छैन। श्रीमानले रक्सी धेरै खान्थे, त्यही कारणले ज्यान गयो।'
दुवैजना भक्कानिएर रुन्छन्। न त भेट हुन्छ न त अब सम्बन्ध अगाडि नै बढ्छ तर एकअर्काबिच भावना साटासाट गर्दा असल साथी भई कुरा हुँदै जान्छ।
सुशान्त ११ वर्ष भएछ नेपाल नआएको। उसलाई एक्लोपन र बेसहाराको जीवनदेखि निराश थियो। बोलिरहने मान्छे एक्कासी बदलिन्छ अनि फोन गर्दा म्यासेज गर्दा पनि रिप्लाई आउँदैन। सायालाई पनि ठिकै छ, कोही नयाँ साथी भयो होला किन डिस्टर्ब गर्ने भनी सम्पर्कमा आइनन्।
केही महिनापछि उसको नाम सहित अनलाइनमा समाचार आउँछ। समाचारमा सुशान्तले डिप्रेसनका कारण ट्वाइलेटमा झुन्डिएर आत्महत्या गरेको उल्लेख थियो। सायालाई जीवनमा सबै हारे जस्तो लाग्छ।
जो कोही थियो त त्यही ६ महिनाको चोखो माया जीवनभरि स्मरणीय पल अनि उसको चोखो माया मनभरि बोकी सम्झना। उसको तस्बिर मनमा सजाउँछिन्। साँच्चै नै चोखो माया भन्ने चिज अमर छ। पहिलो माया अनि जीवनका भोगाइले अझै संघर्ष गर्न सिकाउँछ।
जीवनमा चाहेर सबै प्राप्ती नहुँदो रहेछ आजभोलिको माया पैसा र समय बिताउन अनि अरुको भावनासँग खेल्ने गर्छन्। माया यस्तो होस्, कसैलाई जीवनभर नरुवाउने होस्। केही पल सँगै हुँदा मायाको सम्मान र निःस्वार्थ माया बनोस्। अरु त समय र परिस्थितिले जे-जे भोगाइ लेखेको छ हुँदै जान्छ।
मायामा नै संसार अडिएको छ घर-परिवार, साथीभाइ या प्रेमिप्रमिकाको। त्यसैले भोगाइ जति छन् दुःखका अनि बिछोडका सामना गर्ने कोसिस गरौँ। जसरी एक व्यक्ति माया नपाउँदा र एक्लो हुँदा, दुःख सुनाउन नपाउँदा सुसाइडको बाटो नपनाओस्। सकेको सहयोग, साथ र माया सबैले सबैलाई गरौँ। बिछोडमा परेँ भनी हार कहिल्यै नखानू। जीवनका यस्ता मिलन-विछोड त भइरहन्छ, यही नै जीवनको नाम रहेछ।