केही कुरा कति अचम्मका हुन्छन् है
ती बितिसकेका हुन्छन्
तर मनमा ताजै रहन्छन्
वर्षौं भैसकेको हुन्छ
तर पनि तिनका याद
यही मन मस्तिष्कमा घुम्छन्
ब्रम्हाण्डमा सूर्यलाई पृथ्वीले घुमेझैँ
हुन त साथमा हुन्न
सम्झना छोडी गएका हुन्छन्
सम्झनामै भए पनि
खै किन हो ती सधैँ हृदयमै हुन्छन्
मेरी उनीझैँ
मेरी उनी मलाई चन्द्रमा झैँ लाग्थी
नजिक थिइनन् तर सँगै भएझैँ लाग्थी
न कुनै थिए शब्दका हेरफेर
न कुनै इसाराहरु
तरै पनि रच्थ्यौँ बात अनेक
बाट ती आँखाका हेराइहरु
नजिकका साथीले थाहा पाउलान् कि भनी
लुकी-लुकी हेर्थैँ
म उनलाई, उनी मलाई
अनि पुग्थ्यौँ
प्रेमका ती गहिराइहरु
समुन्द्रमा पनडुब्बी पुगेझैँ
न उसले कहिल्यै बोलाई न मैले कहिले
कहिलेकाहीँ उनी आफैलाई सोध्ने पनि गर्छु
किन बोलाइन भनी
तर कुनै जवाफ पाउदिनँ
स्कुल होस् वा कलेज
हर प्रोगाम र कम्पिटिसनमा
अघि सर्ने म
उनको नाम पहिले बोलाउन
खै अघि सर्नै सकिनँ
मनमा लुकाएर दबाएर कहीँ कतै
छुपाएर राखेका भावनाका पत्रहरु
उनको सामु खुलेर कहिल्यै पढ्नै सकिनँ
शब्दहरु उनी आफै हराएर जान्थे
हावामा कपुर हराएजस्तै गरी
सायद यही मबाट गल्ती भयो
र उनी-हामी छुटिन पुग्यौँ
सँगै एउटै नाउ चढी
जीवन कटाउने रहर थियो
तर नियतीको नियत भनुँ या
समयको खेल
हाम्रो जीवनरुपी नदी फरक भैदीयो
सँगै प्रेमका पाइलाहरु चाल्ने रहर
एकाएक हावा भइदियो
पानीका बाफहरु जस्तैगरी
साँच्चै केही पलहरु नमेटिने
याद बनी बस्दा रहेछन्
सताउला हरेक दिन
तर पनि दिलमै सज्दा रहेछन्
तिमीसँगको त्यो अन्तिम भेट पनि त
मेरा यी नै यादहरुमध्ये न हुन्
खै कसरी भुल्न सकुँला र
बैजनी सारीमा सजिएकी तिमी,
गुलाबी ओठमा रातो लाली लगाउँदा
कति राम्रि देखिएकी थियौ
मन्दारको अलभ्य फूल जस्तै
छुटिने बेला जब तिमी
बसका सिँडीबाट झर्दै थियौ
मलाई अझै याद छ
तिमीले चारैतिर आँखा डुलाई
हेरेकी थियौ
तिम्रा नयन मेरा यी आँखामा आई ठ्याक अडिए
कालो गाजलका धर्साहरुले
घेरिएका तिम्रा ती नयनहरु
टिलपिल आँसुले छछल्किएका थिए
वर्षा याममा तालको पानीजस्तै गरी
त्यसबेला तिम्रो आँखामा देखिएकको भाव
तिम्रो मायालु स्नेह थियो या
तिमीलाई पाउन नसक्दा
मप्रतिको विचरा सान्त्वना
मैले पढ्नै सकिनँ
सायद त्यसैले मैले तिमीलाई आज पाउन सकिनँ
तिमी गयौ त्यसबेला यी आँखाबाट छेलिएर
न भेटियौ कहिले न देखियौ कहिले
तर बस्यो तिम्रा याद मनमुटुमा बेहेरिएर
सोचेँ,
यत्रा गर्दागर्दै भेटिएकी तिमी
यात्रा गर्दागर्दै छुटियौ
अब फेरि यात्रामै कसो न भेटिए लौ र
आखिर जीवन पनि त एक
यात्रा नै हो
अनि हामी यात्री
आजकल जब जब म जोडी ढुकुरलाई देख्छु
सहर बजारमा अंकमाल गर्दै हिँडेका
मायालु जोडीहरुलाई भेट्छु
तिम्रै यादले सताउँछ अनि टोलाउँछु
सोध्छु मनमा एउटै प्रश्न
किन गयो हाम्रो सम्बन्ध जोडिन अघि टुटेर
सपना तिमीलाई पाउने,
तिमीसँगै रमाउने,
सुखदुःख जीवन्त साटी
सँगैसँगै जिउने,
सिसाझैँ आफै फुटेर
तर फेरि लाग्छ मनको कुनै कुनामा कि
कहिलेकाहीँ कोहीसँग नभेटिनु नै फाइदा हुन्छ
दुःख लाग्छ चित्त दुख्छ
तर त्यही कायदा हुन्छ
पटक-पटक भेटिएर
सधैँ-सधैँ तड्पिनुभन्दा
चुपचाप छुट्यौँ उही फाइदा हुन्छ।