कुनै दिन मैले संसार हल्लाउने दिन आउँला, तर हवाईजहाजले अझै मलाई नै हल्लाउँदै हुनेछ। मुटुले सगरमाथाको शिखरमा पनि ढ्याङ्ग्रो बजाउन छोड्ला, तर त्यो हवाईजहाजले अझै भुइँमै ढ्याङ्ग्रो बजाउँदै हुनेछ।
किन होला, ऊ उड्दा मेरो मन ऊ जस्तै फुरुंग उड्न नजानेको! उसका पखेटा झैँ मेरा हात फिँजिएर नाँच्न नमानेका! दिनहरुबिच राख्ने हो भने त यो दिन पनि सामान्य, त्यही सधैँ झैँ म विमानस्थल पुग्छु। ऊ आउँछ मलाई लिन, म मलाई बोलाउने पालोको पर्खाइमा बस्छु। जब मेरो नम्बर आउँछ म हतार-हतार गेटतर्फ लाग्छु।
मन, त्यो हवाईजहाजमा चढ्न नपरे हुन्थ्यो भन्दै विस्तारै उठ्छ। पाउ भने उसले छोड्ला कि भन्दै छिटोछिटो कुद्छन्, कति अनौठो! म गेट हुँदै जहाजतर्फ लाग्छु, सबै मसँगै हिँड्छन्। बाहिर हेर्दा त सबको अनुहारमा चमक नै देख्छु। पहिलो पटक प्लेन चड्न पाएर दंग कोही, सहयात्रा गर्न पाएर मक्ख कोही, उत्रेर काम भ्याउनुपर्ने हतारमा कोही, हरेक पल क्यामरामा कैद गर्दै उड्ने यात्री कोही। सोच्छु, यो मुटुमा ढ्याङ्ग्रो बज्ने मेरो मात्रै हो कि?
उही सधैँ झैँ आज पनि म त्यही प्लेन चढ्छु। तर मेरो मनमा चल्ने महासङ्ग्राम हेर्ने हो भने मेरो लागि प्लेन चढ्नुपर्छ भनेर सुरु हुने दिन नै नआइदिए हुन्थ्यो झैँ लाग्छ। तर विडम्बना, यात्रालाई गन्तब्यसम्म पुर्याउने मेरो सपनाको सहरमा यही जहाज उड्छ। म चढ्न त चढ्छु, तर एअरहोस्टेसले 'हामी १२ हजार फिटमाथि उड्नेछौं' देखि 'हामी विमानस्थलमा अवतरण गरेका छौँ' नभनेसम्म योबिच मेरा मनमा कति द्वन्द्व चल्छन् यो बयान गर्न गाह्रो छ।
विमान उड्न सुरु गर्दा मेरो सोचका पखेटा उडेर कुन युद्धभूमि पुगिसक्छ पत्तो पाउँदिनँ। अलिकति माथि पुगेर जहाज बादलसँग लुकामारी खेल्दै आफूलाई लुकाउँदै दायाँ-बायाँ ढल्किँदै उड्दा, अब मेरा पिँजडामा कैद मन उडिसक्यो त्यही सोचको युद्धभूमिमा। अब यो मन र मस्तिष्कको द्वन्द्व कसले जित्ने हो, अड्कल्न निकै गाह्रो मलाई।
त्यो बिचैमा 'टिङटिङ' घण्टी बज्दा, अर्को घण्टी बज्छ मनमा। 'हे भगवान्! आज जसरी पनि ओराल्देऊ।' यो त कति चोटि सोच्दो हो मनले। यसैगरी, मनसँगै हातलाई पनि साथ चाहिन्छ छेवैमा रहेको हातको। प्लेन ढल्किए हात समात्न, मगज बौलाए मन भुलाउन, यसैगरी कट्छन् मेरा चालिस मिनेट। त्यो चालिस मिनेटमा ४५ पटक मैले हेर्ने घडीले पनि बोल्ला झैं लाग्छ, 'हेरेरै मार्दिने!'
यो अनौठो द्वन्द्वले जब ४५ औँ पटक घडी हेर्छ, उताबाट एअरहोस्टेस बोल्छिन्- 'हामी सुरक्षित विमानस्थलमा अवतरण गरेका छौँ, यहाँहरुको दिन शुभ रहोस्, धन्यवाद।' उनी जान्दिनन्, उनका लागि यति भन्नु दैनिक नियम हो तर मेरो त यी शब्दले आजको दिन मात्रै होइन, अर्को पटक विमान नचढ्दासम्मलाई हरेक दिन शुभ भए अब।