'यो पुस महिना नि कत्ति चिसो हुन्छ!' भन्दै सकुन साना छोरीहरुलाई बिहानको खाजा खुवाएर आफूबाट कामको सिलसिलामा टाढा बसेको श्रीमानलाई फोन गर्छे। आफ्नो श्रीमानसँगको छोटोमिठो संवादपछि उसका दिनचर्या सुरु हुन्छ।
बिहानको खाना बनाउन, छोरीहरुलाई दिउँसोको लागि खाजा तयार गर्न, अनि सानी नानीको लागि अफिसमा गरिदिने लुगाको पोको पार्नलाई उसलाई भ्याई नभ्याई हुन्छ। टाढा रहेको माइत पुग्नु त उसको कल्पना बाहिरको कुरा हो, समय निकालेर फोन गर्न नि भ्याउँदिन।
आफ्नो पनि अफिस, सानो नानी, पढाइ, घर-परिवार कहाँ सजिलो छ र छोरी मान्छे हुन? चिसोले बिहान-बेलुका निकै पीडादायक भएर समय बित्छ। न नानीहरुले बाबाको माया नजिकबाट पाउँछन् न त रमाएर कतै हिँड्न नै।
म सकुनलाई केही भन्न सक्दिनँ, पहिले कोठा बस्न आउँदै म्याडम एक्लै कसरी सानो नानीहरुसँग अफिसमा काम गर्नु हुन्छ? ठूली नानी त उतै बाबासँग छोड्नु थियो नि भन्दा सकुनले 'उसको बाबाको अफिसको काम, पढाइ भ्याउनु हुन्न भनेर आफै च्यापेर हिँडेकी' भन्दा आफ्नो श्रीमानप्रतिको माया, सहयोग देखेर आँखाभरि आँसु आयो।
सकुनलाई साना नानी च्यापेर हिँड्नु पनि बाध्यता रहेछ। आफूले मन पराएको केटासँग आफ्नै जिद्धीले बिहे गर्नु भएको रहेछ। बाहिर जति हाँसे नि नानी निदाएसी एक्लै कोठामा ठूलो-ठूलो आवाज निकालेर रोएको सुन्थेँ। उसको कोठामा बत्ती खासै निभेको देख्दिन थिएँ।
श्रीमानले कहिले फोन गरेजस्तो मैले बुझिनँ। ऊ आफैं फोन गरेको मात्र देख्थें। छोरी मान्छेको जिन्दगी जसरी भए नि हाँसेरै बाँच्नु पर्ने रहेछ। म दिनभर आफ्नै करेसा, फूलबारी हेरचाह गरेर बस्थेँ। मैले नि नपढेको होइन, मास्टर गरेर पनि जागिर पारिवारिक समस्याले गर्दा खाएको थिइनँ।
मेरो एउटा छोरा छ, श्रीमान केही समयको लागि बाहिर हुनुन्छ। उहाँले दिनमा ३/४ पटक फोन नगर्दा मेरो निन्द्रा आउँदैन। अनि सम्झिन्छु, सकुन कति इमान्दारी, बफादार छोरी मान्छे हुनुन्छ। न श्रीमानको फोनको अपेक्षा न माइती जान नपाएकोमा नै गुनासो छ।
म हरेक पल सकुनले मेरो घरमा कोठा लिएदेखि छोरीमान्छे यति आँटिला हुन्छन् भन्ने थाहा पाउन थालेँ। हामी एउटै घरमा बसेको नि २ वर्ष भयो। उनको श्रीमान एकदिन आउनु भएन, सकुन आफै नानी च्यापेर छुट्टीमा घर जान्थिन् अनि सधैँ भन्थिन् 'दिदी अझै धेरै काम बाँकी छ मैले गर्न' भनेर।
एकदिन मैले तीजको दर खान भनेँ। 'म्याडम, आज दर खाउँ है हजुरको माइत नि टाढा छ, जानलिन सम्भव छैन' भनेकी थिएँ खुब आफ्नी आमा अनि दिदी सम्झेर रोइन्। मैले हो, त्यो दिनदेखि सकुनलाई आफ्नै बहिनी सम्झेर दिदीको माया दिएँ।
एकदिन सँगै खाना खायौं, जिन्दगीका तितामिठा गफ गर्यौं। सकुन धेरै पीडालाई जितेर यहाँ आइपुगेकी मान्छे रहिछन्। केही समयमै आफैले मन पराएर एउटा पुरुषसँग प्रेम बसेछ। पछि सकुनले धेरै वाचा गरिछन्। अनि परिवारलाई आफू कहिले पीडा नसुनाउने भनेर बिहे गरिछन्। जीवन सरल सहज रुपमै अघि बढिरहेको रहेछ।
सकुनको श्रीमानले पहिले प्रेममा रहँदा नि आफ्नो पूर्व प्रेमिकाको बारे कुरा गरिराख्ने अनि उसलाई अलिक धेरै ख्याल गरिरहेको भावना छर्लंग देखाउँदा देखाउँदै पनि सकुनले म यहीँसँग बिहे गर्छु, उसकी पूर्व प्रेमिकासँग बिहे हुने छैन भनेर आफ्नो खुसीलाई तिलाञ्जली दिएर बिहे गरिछन्।
पछि पनि श्रीमानले पूर्ण रूपमा आफ्नी पूर्व प्रेमिकाको सम्झना भुल्न नसकेर टाढा भए नि आफ्ना छोरी च्यापेर यहाँ नायब सुब्बामा नाम निकालेर आएकी रहिछन्। तर आजसम्म उसले उनको पूर्वप्रेमिकाको कुराले मेरो मन पोल्छ भनेर सुनाएकी रहिनछिन्।
'उहाँको पहिलो प्रेम हो, म केही भन्न सक्दिनँ अनि भन्ने मेरो अधिकार नि छैन। उहाँको खुसीको लागि मैले मेरो खुसी तिलाञ्जली दिएर बाँचेकी छु। छोरीहरूको मुहारमा खुसी ल्याउनु छ। श्रीमान, घर-परिवार, माइतीलाई सन्तुष्टि दिलाउनु छ दिदी मैले' भन्दै गहभरि आँसु बनाइन्।
मलाई मेरो श्रीमानसँग कोही केटी बोल्दा त मन भक्कानिएर आउँछ। सकुन साँच्चै महान नारी रहिछन् भनेर मनमनै भनेँ। राति अबेर भैसकेको थियो। हामी बिहान छिट्टै उठ्ने भनेर म आफ्नो बिस्तरा मिलाउन लागेँ, सकुन काखमा निदाएकी छोरी टिपेर आफ्नो कोठा लागिन्।