आज म एकदम उत्साहित छु
मन अलिकति बेचैन छ
धेरैपछि त्यो पल आयो
जसको पर्खाइमा थिएँ म
अलिकति डर पनि छ
कहीँ मेरो प्रस्ताव अस्विकृत त हुँदैन?
जेहोस् यो आँट बटुलेको छु
केही प्रेमिल शब्दहरू कोरेको छु
अब केवल प्रतीक्षा छ त
तिम्रो आगमनको।
दुइटा कुर्सी, बिचमा टेबल
माथि मुसुक्क हाँसिरहेका गुलाफहरु
छेवैमा मैनबत्ती
र पृष्ठभूमिमा सुमधुर संगीत
म मात्रै तिमीलाई कुरेको छैन
मसँगै यी सब तिम्रो स्वागतको
निमित्त तत्पर छन्
आज मौसम पनि कस्तो रमाइलो?
कम घाम, अधिक शीतलता
हावामा पनि छुट्टै उमंग
तिम्रो मेरो मिलनको सन्देश
चारैतिर फैलाउन कति आतुर देखिएको!
तिमीलाई कुरेँ
अझै पर्खेँ
तर तिमी आइनौ
घडी हेर्छु फेरि बाटो हेर्छु
फेरि बाटो हेर्छु अनि घडी हेर्छु
तर तिमीलाई कहीँ देख्दिनँ
अब त बस्दा-बस्दा कुर्सी थाकिसक्यो
चिटिक्क पारेको टेबल धुलाम्मे भयो
मैनबत्ती खुत्रुक्कै ढलेछ
गाउँदा-गाउँदा रेडियोको
स्वर पनि सुकेछ
हो, तिम्रो पर्खाइमा
ती कोमल गुलाफहरु
सुकेको पतिङ्गर भएछ
तर म अझै थाकेको छैन
मेरा यी आँखाहरु
अझै निदाएका छैनन्
म त पर्खिरहेँ
केवल तिम्रो बाटो हेर्दै बसिरहेँ।
खै! कुन्नी किन ढिलो गर्यौ?
कतै जाममा पर्यौ कि?
आउँछु भनी गरेको वाचा भुल्यौ कि?
जाममा पर्यौ होला
आजको वाचा भुल्यौ होला
तर थाहा छ
मलाई भुलेकी छैनौ
याद छ तिमीलाई गुलाफको फूल रोपेको?
हो, त्यो फूल पनि फुलिसक्यो
अब त तिम्रो मेरो प्रेम कहानीले
डायरीका पानाहरु भरिसके
कलमको मसी पनि सक्यो
तर तिमी आइनौ
तिमी अझै आइनौ!
म कुरिबसेको छु
तिम्रो बाटो हेर्दै
अझै पर्खिबसेको छु
तिम्रो आगमनको प्रतीक्षामा
हेर त त्यो सुकेको गुलाफ अझै फ्याँकेको छैन
कहीँ तिमी अचानक आयौ भने
तिमीलाई म के दिऊँ
तिमीलाई कसरी स्वागत गरूँ!