मकैको बोट गर्भिणी भएर
पुटुस्स पेट बढेपछि
बाँदरहरुले
गर्भ नतुहाइ दिउन् भनेर
घाम र पानीबाट बच्न
सल्लिपिरको महल बनाई
खटाइदिएका थिए मलाई
गर्भिणी मकैहरुको
गोठालो
मकैहरुको गोठालो लाग्दै गर्दा
आफ्नै पेटमा मुसा दगुरेपछि
मकैको गर्भपतन गरेर
भर्खरै पलाउँदै गरेका
दूधे दाँतहरु उखेलेर
मुसोलाई चारो हाली
शान्त पार्नुपरेको थियो।
बाँदर धपाउन गएको म
आफै बाँदर बनेर
बाँच्नु परेको थियो।
सर्पका ढाडजस्ता
चिल्ला आली लगाएर
गह्राभरि हरियो बिउ रोपिसकेपछि
आलीभरि अंकुरीत
भटमासका दानाहरु
ढुकुरले नखाओस् भनेर
टीनको पातो ठटाउन
खटाइदिएका थिए मलाई
नाबालक भटमासहरुको
गोठालो
बर्खे बिदा भएपछि
झोलामा पुस्तक राखेर
गाई, गोरु, र बाख्राको
ताँती लगाउँदै
खुब गइन्थो जंगलमा
गोठालो
आँपका हाँगा-हाँगा चढेर
ज्यामितीय बाकसमा आएको चक्कुले
चाना-चाना काटेर
नुनखुर्सानीमा चोपेर खाँदै गर्दा
जालो पस्नै लागेको कोया
बनिसक्थ्यो हलो
भदौरे बिदाका दिनहरुमा
दसैँ बिदा सुरु भएपछि
बोटभरि लटरम्म फलेका
निबुवा र भोगटेलाई
खोस्टामा पोको पारेको नुनखुर्सानी फुकाएर
कर्कलाको पातमा साँधेर खाँदै गर्दा
पाखाभरि चरिरहेका वस्तुभाउ
कोदोबारी र बोडीको झालमा पसेपछि
सात पुस्तालाई पुग्नेगरी
बारी धनीको गाली खाई-खाई गइन्थो
गोठालो
छोराछोरी सानै छँदा
उनीहरुकै गोठालो लाइयो
छोराछोरी हुर्किएपछि
नाति-नातिनीको गोठालो लाइयो
जवानीमा कहाँ पुगिएन
कसको गोठालो लागिएन
आँखामा विस्तारै पर्दा खस्दैछ
कानको जाली बाक्लिँदै गयो
मैले गोठालो लागेकाहरु
अर्कैको गोठालो लागिरहेछन्
खाटको छेवैमा उभिएर
लौरो लाग्दैछ मेरो
गोठालो।