सबैलाई थाहा छ
म फाटेको शर्ट लगाउँछु
तर मेरी आमालाई मात्र थाहा छ
कति ठाउँमा टालेको छ भनेर
स्कुलभरि सबैलाई थाहा छ
म होमवर्क घरमा गर्दिनँ भनेर
तर मेरा बालाई मात्र थाहा छ
मट्टितेल सक्किएको छ भनेर
साथीहरु सबैलाई थाहा छ
म खाजा ल्याउदिनँ भनेर
तर मलाई मात्र थाहा छ
बाको काम बन्द छ
आमा मेरो अगाडि आँसु लुकाउछिन्
तर मलाई थाहा छ
आमा त्यो मट्टितेल सक्किएको रातमा
आँखा भिजाइरहेकी हुन्छिन्
मेरा बा दिनभर घरमा हुँदैनन्
अनि मलाई थाहा छ
मेरा बा मट्टितेल किन्ने पैसा कमाउने आशामा डुल्डै छन्
बाबा-आमा मलाई केही भन्दैनन्
तर मलाई थाहा छ
हामीलाई गरिबी लागेको छ
आमा घरी-घरी बासँग स्वाख स्वाख गरेर रुन्छिन्
बा, वर्षात अगाडिको आकाशजस्तै मौन हुन्छन्
तर मलाई थाहा छ
मेरी आमा फेरि मुस्कुराउने छिन्
मेरी आमाको फाटेको सारी अस्ति मात्र टालेको
तर मलाई थाहा छ
यो चौथौँ पटक हो भनेर
एकदिन बाको काम बन्नेछ
घरमा मट्टितेल ल्याउनेछन्
अनि म आमाको रुन्चे आँखा प्रस्ट देख्नेछु
अनि भन्ने छु 'आमा किन रुन्छौ, म छु नि!'