सामान्य परिवारमा जन्मिएर हुर्किएकी म, आमाले छोरीको उज्जवल भविष्यको कामना गर्दै पढाइको सिलसिलामा मामाघरमा राखेर शिक्षादिक्षा दिनुभएको थियो। आमाको पनि सानै उमेरमा विवाह भएकाले आमा र ममा खासै धेरै वर्षको फरक थिएन।
म परिवारकी जेठी छोरी र मेरा साना-साना बहिनीहरु ८ जना थिए। छोरा पाउने आशामा ४० वर्षको उमेरमा आमाले भाइलाई जन्म दिनुभएको थियो। परिवारको धेरै करपछि आमाले धेरै मानसिक यातना भोग्दा-भोग्दा भाइलाइ जन्म दिनुभएको थियो। धेरै सन्तानलाई पढाउन र हुर्काउने जिम्मेवारी बाबाको काँधमा आएपछि बाबाले हामी छोरीहरुलाई आफन्तका घरमा पढाउन भनेर राख्नु भएको थियो।
प्रायःजसो मैले मामाघर छोडेर कहीँकतै जाने मौका नै पाएको थिइनँ। जब बिदाका दिनहरु हुन्थे ती बिदा प्राय दसैँमा हुने गर्थ्यो। जब दसैँ आउथ्यो आमाहरु मामाघर आउनेबेला हुन्थ्यो। त्यसैले त म कहिले फुर्सद पाउदिनँ थिएँ मामाघरबाट बाहिर जाने।
सन्तान जति नै भए पनि सबैको माया बराबर र उत्तिकै हुने रहेछ भन्ने कुराको ज्ञान आमाले दिनुभएको स्नेहबाट नै मैले महसुस गरेको थिएँ। जब मलाई छोडेर आमाको घर जानेबेला हुन्थ्यो उहाँले गहभरि आँसु पार्दै धेरै पढेर जागिर खानु नानी भन्दै मेरा कपालहरु सुम्सुम्याउँदै भक्कानिँदै छोडेर जानुहुन्थ्यो।
अहिलेको जस्तो समय भैदिएको भए आमा-बाबाको अनुहार दिनैदिन हेर्न पाइन्थ्यो होला। तर त्यो बेला आमा हामीसँग बोल्न भनेर बिहानै पिसिओमा पालो कुरेर रातै पर्दा पनि बस्नुहुन्थ्यो। कहिले एक वचन बोल्न पाउथ्यौँ त कहिले आमाले दिनभरिको समय कुर्दा कुर्दै बोल्न नपाई त्यसै फर्किनु पर्थ्यो।
मलाई भने बाटोमा हिँड्दा या छिमेकमा देख्दा पनि आमा भएर पनि आमाको माया र स्पर्श पाउन नसकेको कुराले एकदमै पिरोल्ने गर्थ्यो। कहिले खाँदाखाँदै रुन्थेँ त कहिले पढ्दापढ्दै रुन्थेँ। बाबा आमाले सधैँ पढेर जागिर खानुपर्छ नानी भनेको सम्झिन्थेँ र आमाको सहनशीलता र बाबाको त्याग महसुस गर्थेँ। पढ्नमा ध्यान दिन्थेँ।
यति हुँदाहुँदै पनि कहिलेकाहीँ हजुरआमाको व्यवहारले मन साह्रै कुँडिएर आउँथ्यो। साँझ टिउसन पढेर घर फर्किँदा पनि अनेक तबरले गाली गरेको साथै लगाएका लुगाहरुमा पनि मेरो यो लुगा लगाएर मैले नराम्रो काम गर्छु भन्ने नचाहिँदो आरोप अनि साथीहरु सँगसँगै बसेर पढ्दा पनि 'पढिस्, अब बिग्रिस्' भन्ने पूरानो सोच जसले गर्दा मलाई पढ्नमा उत्प्रेरित हैन कि तनावको शिकार बनाउँदै हुनुहुन्थ्यो।
हजुरआमा घरीघरी भन्नुहुन्थ्यो 'तेरा बाले हलो जोतेर कति पैसा पठाएको छ र पढ्छेस्?' यस्ता अनेकौँ प्रहारले मेरो मानसपटलमा खुसी कम पीडा बढी दिने गरेको थियो। अनेक पीडाबाट पनि बलियो बन्दै म मेरो स्कुलको उत्कृष्ट छात्रा बन्न सफल भएँ र मलाई सम्पूर्ण खर्च बेहोरेर स्कुलले नै पढाउन अर्को सहरमा पठायो।
जब मैले एसएलसी अर्कै सहरबाट गरेँ बाबाआमाको इच्छा पूरा गर्न सक्छु भन्ने मेरो हरप्रयासलाई जारी राखेँ। एसएलसी सकेपछि अब वैवाहिक जीवनका धेरै कुराहरु आउन थाले। म विवाह नगर्ने पक्षमा थिएँ किनकि मैले मेरो बाबा-आमाको सपना साकार पार्नु थियो जागिर खाएर आफ्नो खुट्टामा उभिएर। तर आफुले सोचे जस्तो कहाँ हुने रहेछ र! अनेक जिद्दी गर्दा पनि मेरो सबैको अगाडि केही लागेन र अन्त्यमा विवाह पछि पनि पढाउने सर्तमा म विवाह गर्न राजी भएँ।
विवाहको केही समयपछि क्यापसहरु धमाधम खुल्न थाले र मैले अब पढ्नु पर्छ भनेर श्रीमानसँग कुरा राखेँ। एसएलसीपछिको पढाइ घरपायक कहीँ नभएकाले मैले बाहिर जानुपर्ने थियो। अब बाहिर जानु परेपछि घरपरिवारमा सल्लाह गर्नुपर्छ भन्ने कुरा गर्नुभयो श्रीमानले। अन्त्यमा एकजना दाइले 'बुहारीले पढ्न नहुने र उच्च शिक्षाको लागि धेरै खर्च लाग्ने र पढेर केही गर्न नसक्ने कुराको निष्कर्ष निकाल्दै एड्मिसन गर्ने पैसाले त बाख्रा पालेर बसेदेखि घरखर्च चलाउन सक्ने' भन्दै आफ्ना भनाइ राख्नुभयो।
त्यत्तिकैमा अर्को भाइले 'हैन दाइ भाउजूले पढ्छु भन्नु भएको छ, रहर र इच्छा भएकाले केही गर्छन् पढाउनु पर्छ' भन्ने तर्क दिनुभयो। कसैले पढाउनु पर्छ त कसैले पढाउनु नै हुँदैन भन्ने तर्क दिएका थिए। त्यस बखत मेरो श्रीमानले केही बहस नै गर्नु भएको थिएन। म भने बोलेको वचन किन पूरा गर्न नसकेको होला भन्दै मेरा नजरहरु नैराश्यतामा राखेर रुन्चे हाँसोका साथ मुस्कुराउँदै थिएँ।
अन्त्यमा श्रीमानसँग बिन्तीभाउ गरेर पढ्न जाने विषयमा राजी बनाउन सफल भएको थिएँ। उहाँको सहयोगबाट म पढ्न सहर तिर गएँ। मैले दिनरात मेहनत गरेर आफ्ना सम्पूर्ण लगभग पढाइतिर मोडेँ। त्यस बखत श्रीमानलाई 'अर्को बिहे गर्नुपर्छ, नटेरेर हिँडेकी' भन्ने प्रेसर र मलाई धम्की पनि नआएका हैनन्। मलाई पढाउने आशामा श्रीमान् विदेशामा सम्पूर्ण रहरहरु बेचेर दुःख गर्न थाल्नु भयो र मैले उहाँको साथको बचावट र आमाबाबाको सपना साकार बनाउन सफलतापूर्वक सरकारी क्षेत्रमा नाम निकाल्न सफल भएँ।
तर मेरो पोष्टिङ पहाडी भेगको दुर्गम क्षेत्रमा भएको थियो। वैवाहिक बन्दनमा बाँधिएको त्यति धेरै समय भएकाले घरपरिवारबाट कि त जागिर छोड्नु कि त श्रीमान् छोड्नु भन्ने प्रेसर कति थियो कति, मैले मेरा जीवनमा अनेकौ दुःख, कष्ट, पीडा र मेहनतका साथ खाएको जागिर छोड्न सजिलो थिएन भने मलाई त्यो स्थानमा पुर्याउन सहयोग गर्ने श्रीमानको साथ छोड्न पनि सजिलो थिएन।
सन्तान्को मायाको प्रवाह नगरी मलाई पढ्न पठाउने आमाको सपना र बाबाको त्यागको सधैँ सम्मान गर्नु थियो। यति मात्र हैन कि मलाई पढाउनु हुँदैन भन्ने आफन्तको लागि पनि हाम्रो पनि आफ्नो मान्छे त्यो ठाउँमा छ भन्ने आभास गराउनु थियो। एकदमै अप्ठ्यारो परेको बेलामा सहयोग गर्नु थियो, संर्घषले मैले खाएको जागिर पनि बचाउनु थियो। त्यति धेरै संर्घषमा चुर्लुम डुब्दा पनि जिन्दगी पूर्ण नहुने रहेछ। त्यसलाई पूर्ण बनाउन बाँचुन्जेली मेहनत गर्नै पर्ने रहेछ।
देखेका जति सपना सकार हुने भए, पानीले पनि आकार दिने भए किन चाल्नु पर्थ्यो र संर्घषका यी पाइला। किन दिनु पर्थ्यो र जिन्दगीलाई दुःख? किन गर्न पर्थ्यो र मेहनत? जिन्दगी भनेको संघर्षको मैदान रहेछ। कसैलाई पनि जिन्दगीले पूर्णता प्रदान गरेर सुखी बनाउने रहेनछ तर आफूसँग जे छ त्यही कुरामा खुसी हुनु जिन्दगी रहेछ। चाहे त्यो आसुँ पाउँदा होस् या खुसी, सुख पाउँदा होस् या दुःख।
जिन्दगी आफ्नो भएपछि अरुलाई खुसी बनाउन हैन आफूलाई खुसी बनाउनु पर्ने रहेर अरुलाई खुसी बनाउँछु भनेर कहिले नसकिने तर अरुलाई दिन सक्ने भनेको सम्मान मात्र रहेछ। संर्घषबाट अघि बढेको जिन्दगीले अरुलाई सम्मान दिन सिकाएको छ र निरन्तर सर्घषका पाहिला अगाडि बढिरहेका छन्।