अग्ला-अग्ला चौदीवार, जंजीरले बन्द ढोका, त्यसमा पनि पहरा दिइरहेको सुरक्षित क्षेत्र। कुनै समयको राणाकालीन दरबार भएको स्थान अहिले एउटा सुधारगृह।
प्रातकालीन प्रभातका पारिला किरणहरुमा आ-आफ्नो नित्यकर्ममा यताउता हस्याङफस्याङ गर्दै व्यस्त भइरहेका मानिसहरु देखिन्छन्। कोही ढाड सेकाएर सोचमग्न छन् त कोही रुँदै गरेका बच्चालाई पछ्यौरीले ढाडमा बाँधेर हल्लाउँदै फकाइरहेका देखिन्छन्।
नयाँ बिहानीसँगै नवजीवनको परिकल्पनामा यहाँका मानिसहरु यस दुःखद् क्षणलाई अवसरको रुपमा साट्दै सुखद् सपना बुनिरहेको आभासमा देखिन्छन्।
बन्द पर्खाल भित्रका यिनै गतिविधिका बिच करिब ७०/७२ वर्षका बुढा मानिस (शेरबहादुर) प्लाष्टिकका डोरीले जाल बुनेजस्तै नाम्लो बुनिरहेका छन्। त्यस्तै छेवैका साथीले मुढा बुनिरहेका अनि कोही तानमा टोपी बुनिरहेका देखिन्छन्, कुनै घरेलु उद्योगमा झैं।
यत्तिकैमा ती बुढामान्छे आफ्नो कामलाई थाँती राखेर, भित्तातिर हेर्दै केही शब्दहरु बरबराइरहेका छन्। नजिकैको भान्छा कोठाबाट कमिलाका लस्कर ताँतीबद्ध भएर दोबाटोमा गएर बाटो भुलेझैं केही यता त केही उता गन्तव्य खोजिरहेका छन्। त्यसै मध्येको एउटा कमिलाले आफूभन्दा ठूलो देखिने चिनीको ढिक्को पछाडि फर्केर तानेर लाँदै छ।
बिचमै अर्को कमिलाले खोसेजस्तो गर्दै तानातान गरिरहेका छन्। हेर्दाहेर्दै ती कमिला मध्ये एउटा कमिलो चिनीको ढिक्कोसँगै पानी राखेको बाल्टीमा पर्यो। ती बुढा मानिस जुरुक्क उठेर चम्चाको सहाराले डुब्न लागेको कमिलोलाई चुकचुकाउँदै उद्धार गर्न लागे।
मैले सोधेँ, 'बुबा, के गर्न लाग्नु भा’को?'
बुढाको आँखामा आँसु ढलपलाएको प्रस्टै देखिन्थ्यो। तैपनि मुहारमा नक्कली मुस्कान फुस्काउँदै भने, 'हेर्नुहोस् न बाबु चिनीको महत्व, सायद गुलियो भएरै मिठो र स्वादिलो मानिएको होला। यो कमिलोले यसैको लागि प्राण त्याग्यो मेरो कथा जस्तै।'
बुढा मानिसले भक्कानिँदै आफ्नो कथा सुनाउन लागे- 'खै! बाबु यो चिनी अमृत भनौँ कि विष? यसले धेरैको ज्यान लियो। यसैका कारण कसैको घर-परिवार विचल्ली परे- यो कमिलोको परिवारजस्तै। म पनि बाबु यसैका कारण तपाईंको सामु छु।'
बुढाको भनाइ बुझ्न कठिन भयो। सायद यो चिनीको कारण कसैलाई चिनीरोग (डायवेटिज) लागेर मरेको हो कि? भन्ने अड्कल काटेँ तर कमिलाको कथा र उनको भावुकताप्रति आफैलाई विश्वास लागेन र सोधें, 'किन र बुबा?'
बुबाले भन्दै गए- 'कसैलाई केको धन्दा, कसैलाई केको मोह भने झैँ यस्तै घट्यो जिन्दगीमा। यो गरिबको जिन्दगी पनि नहुनु रै’छ। नाथे चिनी खानु पनि काललाई निम्त्याउनु पर्ने भयो। एक किलो चिनीको मूल्य ८० रुपैयाँ। यो खानु पनि हामी गरिबलाई दसैँ नै आउनु पर्ने? घर परिवारलाई आङ ढाक्ने एकसरो कपडा चाहिने, म लोभि पापी बुढोलाई चिनी।
बाबु, यही विषयमा बुढीको र मेरो ठाकठुक पर्यो। म पापीको हातमा काल बसेको रै’छ, मैले रिसाएर उनीलाई यसो धकेली दिएँ। उनी खम्रयाङ खुम्रुङ भर्याङबाट खसेर बेहोस् भइन्। अन्त्यमा केही लागेन बाबु, म अपराधी यसै कारण आज यो जंजीरको गेट र चौदिवार भित्र प्रायश्चित गर्दै सजाय भोग्दै छु।
अहिले ऊ झल्झली मेरो आँखामा आउँछे, म सहन नै सक्दिनँ। त्यो पीडा, उफ्! त्यही भुल्न आफ्नो हातमा भएको सीप नाम्लो बुन्छु, दाम्लो बुन्छु, आफू सरहका अरुलाई हेर्छु र मन बुझाउँछु। बुढेसकालमा मलाई काल पनि आएन।'
बुढा बरबराउँदै आफ्नो कोठातिर सुक्कसुक्क गर्दै गए। पीडा र वेदनाले मन कुँडिएर आयो। आँसु टलपलाएर आँखा चिम्म गर्दै रोक्न खोजेँ तर सकिनँ। अन्ततः मैले कमिलो र उसको वियोगान्त कथामा सहानुभूतिका दुई थोपा आँसु झार्दै गन्तव्यतर्फ लागेँ।