बिहे गरेको केही महिनैपछि भन्न थाल्छन्, अब त बच्चा बारे सोच्नु पर्छ नि!
परिवारको अंश र वंश अगाडि लाने बच्चा पाउनु जायज अरे!
तर त्यो बच्चा पाउन कयौं पटक भिजिएको रातो खुन नाजायज!
म रजस्वला, अशुद्ध त होइन तर बनेकी छु नि।
मुर्छा पर्नेगरीको त्यो तल्लो पेटको दुखाइ
असीमित धारा त्यो रक्तको बगाइ
कमजोर शरीर, अरुभन्दा भिन्नै प्रकारको पीडा
तर अरु मान्छेलाई थाहा हुनु भएन सारा त्यो दुःख
ठूलो मुस्कानले दबाएकै छु नि
म रजस्वला, अशुद्ध त होइन तर बनेकी छु नि
दुर्गा, लक्ष्मी, सरस्वती यिनी पनि जगत जननी हुन्,
रजस्वला पक्कै होला यिनीलाई
पूजा आरधना १२ महिना गर्नुहुने यिनको, तर केवल रातोले छुँदा वर्ष दिनमा
रातो निधार रंग्याउन नपाउने म
म रजस्वला, अशुद्ध त होइन तर बनेकी छु नि।
सृष्टिको सृजना मैँबाट हुन्छ
नयाँ जीवनको प्रारम्भ मेरै कारण हुन्छ,
तर त्यहाँ छुनु हुँदैन, जानु हुँदैन, पूजा गर्नु हुँदैन,
म आफैं छुन नमिल्ने नछुने हुन्छु
म रजस्वला, अशुद्ध त होइन तर बनेकी छु नि।
छाउपडी, समाजका भनौदा विश्वास अनि
त्यो प्याडको मूल्यको बढाइ,
सबै कारण चेली मर्छन् भन्छन् रजस्वलाका कारण मरिछ
म रजस्वला अशुद्ध त होइन तर बनेकी छु नि।