अब आउने मंसिरमा ठ्याक्कै १० वर्ष पुग्ने रहेछ हाम्रो बिहे भएको। दुई वर्षको अफेयर्सपछि परिवारको सहमतिमै हाम्रो विवाह भएको थियो।
घरको पहिलो विवाह, जेठी छोरी, माइतीघर छोडेर आएको दिन धेरै रुनुभएको थियो भेरो आमाबुबा। हुन त छोरी पराईको घर जान अन्मिँदा कसका बुबाआमा नरोई बिदाइ गर्नुहोला र? आफूले जन्माएको सन्तानलाई अरुको घर पठाउँदा सबैको मन खिन्न हुन्छ नै।
नरमाइलो त मलाई पनि भएको थियो तर खुसी पनि थिएँ। आफ्नो प्रेमी जसलाई मनमुटु सब दिइसकेकी थिएँ, उसैसँग जीवन काट्न पाउनु जति खुसी अरु केमा हुन्छ त? सबै कुरा बुझ्ने अनि मलाई बेहदै माया गर्ने मान्छे। साँच्ची भन्नुपर्दा म त बिहेको दिन दुःखीभन्दा पनि खुसी धेरै भएको थिएँ।
नयाँ घर। सासू ससुरा, बुढी सासू अनि दुई नन्द। रमाइलो थियो सुरु-सुरुका दिनहरु रहरलाग्दा थिए। सबै नयाँ बेहुली हेर्न भनेर घर आउँथे। बुढी सासूकी प्यारी बन्न केही दिन पनि लागेन।
'लु नातिनी बुहारीले तेल लगाइदिनू रे।'
'माथि खोपीमा तोरीको तेल छ, मेथी थोरै हालेर तताएर लेऊ बुहारी मलाई तेल लाइदेऊ, यी खुट्टा करकरी खान्छन्। धेरै हिँड्न सक्दिनँ। यता ढाड पनि उस्तै दुख्छ बाबै के गर्नु आज हो कि भोलिसम्मकी पाहुना हुँ। नातिको बिहे देख्न पाउँछु कि पाउँदिनँ भनेको केको नपाउनू! यस्ती राम्री बुहारी देख्न लेखेको रछ बरै।'
गाला सुम्सुम्याउँदै भन्नुभयो। म मुसुक्क आमैतिर हेरेर मुस्कुराएर 'आमा, म तेल तताएर ल्याउँछु' भनेर उठेँ।
मेथी हालेर तताएर आमैको हातखुट्टा माडिदिएँ। 'अब मेरो पनि यो उमेर भइसके पनि सुखका दिन आएजस्तो छन्, अब मर्नुभन्दा अगाडि पनाति हेरेरै मर्न मन छ।'
म आमैको कुरा सुनेर मुसुमुसु मात्रै हाँसेँ।
यसरी दिनचर्याहरु बदलिँदै गए। माइतीमा आमा-बासँग रिसाएर घुर्की लगाएजस्तो कहाँ हुँदो रहेछ र? सासू ममीले सिकाउनु हुन्थ्यो। जेठाजु ससुरा, काका ससुरा आउँदा पछ्यौरीले टाउको ढाकेर दर्शन गर्नु रे। खालि टाउको देखाउनु हुन्न भन्नुहुन्थ्यो। झन् कपाल छोडेर हिँड्नु त बडाको अगाडि अपमान हुन्छ रे।
मान्दै मान्दै गएँ। सबैले गरी आएको अब तिमीले नि गर्नुपर्छ भन्नुहुन्थ्यो। त्यो गर्न खासै गाह्रो पनि भएन। बानी पर्दै गयो। माइती घर गएको बेला आमाको काखमा बसेर रुन्थेँ। कतिधेरै कुराहरु मान्नुपर्ने नि आमा।
आमा अचम्म मान्नुहुन्थ्यो 'अहिलेको जमानामा पनि कस्तो सबै मान्नुपर्ने रछ त! गाह्रो छ कि क्या हो तँलाई?'
म आँसु पुछेर हाँसिदिन्थेँ।
'केही गाह्रो छैन आमा।'
आमा टोलाउन लाग्नुहुन्थ्यो। त्यही भएर पनि आमालाई यस्ता कुरा भन्न छाडेकी थिएँ। समय यसरी नै बित्दै गयो। सँगै मास्टर गरेका हामी बिहेपछि कन्टिन्यू गर्ने कुरा थियो। तर घरमा सबैले कराउन थाल्नुभयो- 'पर्दैन बुहारीले काम गर्न। छोराले गरिहाल्छ नि। काँ बुहारी काम गर्न जानु?' भन्न थाल्नुभयो।
उहाँले 'ठिकै छ नि त अब सबैले नगर भन्नुहुन्छ भने नगर। घरमै आमालाई काममा सघाउनू' भन्न थाल्नुभयो। मन त मन तर सबैको कचकचको अगाडि मेरो केही सीप लागेन र काम छोडेँ। यसरी नै दिनहरु बित्न लागे। केही समय म दुई-जीउकी भएँ। सबैको ओठमा नाति या पनातिभन्दा अरु केही हुन्न थियो।
अरु त ठिकै थियो श्रीमानको पनि ठूलो इच्छा पहिलो सन्तान छोरा नै होस् भन्ने। 'अनि छोरी भई भने नि?'
'हेरिराख छोरा नै हुन्छ। हुनैपर्छ।'
म त आत्तिसकेकी थिएँ। यदि छोरी भयो भने? सायद मैले पाउनुपर्ने माया पाउन्नँ कि? भनेर। नभन्दै छोरीको नै जन्म भयो। सबैको मुखमा छोरा हुन्छ भनेको त छोरी पो? भन्ने मात्रै थियो। त्यही छोरा पाउने आशमा आज तीन छोरी भए। कहिले-कहिले रिसाएको बेला उसले घोचेको शब्दहरु नराम्रोसँग बिझेका छन् यी मुटुमा। तैपनि केही बोल्दिनँ म। नबोलेर टारिदिन्छु।
उसलाई लाग्छ ममा नै केही कमजोरी छ। डाक्टरलाई पनि देखाउन लग्यो उसले। तर डाक्टरले महिलाको मात्र कमजोरीले हुँदैन। तपाईंको पनि कमजोरी हुनसक्छ भनेपछि पनि उसलाई मेरै केही कारणले भएजस्तो लाग्छ।
'तिमी केही कामकी छैनौ, एउटा छोरो पनि दिन सकिनौ' भन्दै रिसाउँछ। सायद उसले कुनै छोरीलाई पनि राम्रोसँग बोकेको, माया गरेको या पुल्पुल्याएर खेलेको देखेको छैन मैले।
छोरा भएको भए यस्तो गर्थें, उस्तो गर्थें भन्दै बर्बराउँछ। उसले त छोराको निहुँमा मलाई राम्रोसँग समय दिन पनि छोडिसकेको थियो। हुन त मलाई बानी परिसकेछ। म त तीन छोरीकै धनी भइसकेकी थिएँ। उसको मायाको कमी कहाँ हुन दिन्थेँ र मेरो छोरीहरुले?
ठूली छोरीले त सब बुझिसकेकी थिई। बाबासँग खेल्ने। अफिसबाट आउनेबित्तिकै 'बाबा, बाबा मलाई के ल्याइदिनु भयो?' भनेर दौडन्थी तर आजकाल पत्तै हुन्न बाबा आएको गएको।
'बाबा रिसाउनु मात्रै हुन्छ किन आमा?' ठुली छोरी सोध्छे। म के जवाफ दिनु? हाँसेर भन्थेँ, 'बाबा अफिसमा धेरै काम गरेर आउनु भएको हुन्छ त्यसैले थाक्नु भएको भएर हो।'
मन भक्कानिएर आउँछ कसलाई कहाँ गएर पोखौँ? माइतमा आमाबालाई भनौँ भने मुटुकी बिरामी आमाको सास रहन्न। मनमनै गुम्सिएर कुराहरु पोको परेका छन्।
समयसँगै चलिरहनु बाहेक केही उपाय थिएन। एकदिन ऊ फोन ओछ्यानमा राखेर नुहाउन पसेको थियो, मोबाइलमा फोन आयो। 'प्रीया' लेखेको थियो। उठाउँ कि? भने फेरि मनले मानेन। दुई पटकमा पनि फोन नउठेपछि म्यासेज आयो 'ह्वाई आर यू नट पिकिङ माई कल? प्लिज बी अन टाइम। लब यू प्रीया' लेखेको थियो। छोटो म्यासेस भएकोले मोबाइल नखोली म्यासेज पूरै देखियो।
छाँगाबाट खसेझैँ भयो। मन दह्रो बनाएर दराज खोलेँ। हतार-हतार गर्दै कतै उसले थाहा नपाओस् भनेर। अघि उसले लगाएको कोटको खल्तीमा छामेँ, सुनको सिक्री थियो लब हर्ट भएको लकेटमा 'पी' लेखेको थियो। आँखाबाट आँसु रोकिने कुरै भएन। सिक्री जस्ताको तस्तै राखिदिएँ।
हतार-हतार आँसु पुसेर बाहिर निस्केँ। छटपटीले उथलपुथल भयो। पुस महिनाको जाडोमा शरीरबाट निस्किएको पसिनाले लुगा सबै भिजाइदियो। माथि छतमा गएँ। डाँको छोडेर रून मन लाग्यो। कसैले थाहा पाउला भनेर ट्वाइलेटमा बसेर सारीको फुर्को मुखमा राखेर बेसमारी रोएँ।
छोरीहरु सम्झेर रोएँ। उसले दिएको पीडा सम्झेर रोएँ। अनि अब आउँदै गरेको अन्धकार भविष्य सम्झेर धित मरुन्जेल रोएर भान्छामा गएँ। म आत्तिएको देखेर सासूआमा सोध्दै हुनुहुन्थ्यो- 'के भयो? अनुहार रातो पिरो छ त' भनेर।
'टाउको दुखेको छ' भनेर टारिदिएँ।
त्यतिकैमा नुहाएर चिटिक्क परेर ऊ बाहिर निस्क्यो। 'आमा, आज म अलि ढिला हुन्छ है' आउन भन्दै ढोका तिर लाग्यो।
नजाने जस्तो गरेर सोधेँ, 'कता जान थाल्नु भो त खाना पाकिसक्यो?'
फर्किन पनि नफर्की भन्नुभयो 'अफिसको साथीहरुसँग उतै खान्छु, खाएर सुते हुन्छ मलाई नकुर्नू।'
सरासर गेट खोलेर ऊ छोरीहरुले बोलाएको पनि नसुनी गयो। छोरीहरुलाई सुताएर छउमा पल्टेँ। रुँदारुँदा सिरानी भिजिसकेको थियो। आँखाका डिल सुन्निएर राता-राता भएका थिए। रातिको त्यस्तै २ बजे ऊ आयो। रिसले आगो भएकी थिएँ, त्यही पनि भित्ता तिर फर्केर सुतेँ।
रुँदारुँदा सुक्क-सुक्क मात्रै आवाज थियो मेरो।
'अहिलेसम्म के खान नसुत्या?' उल्टै ठूलो स्वरमा बोल्दै थियो।
'सुते पनि नसुते पनि कसलाई मतलब छ र?' मेरो रुन्चे आवाजमा बोलेँ।
'ओई किन रोकी? के भयो र फेरि नाटक गर्या हँ खुरुक्क नसुतेर?'
उठेर दुई झापड हानेर धोकेबाज भन्न मन थियो तर छोरीहरु छेउमा थिएँ, कराउन सकिनँ। बस् भित्रभित्रै चिच्याएँ, रोएँ, कराएँ।
हरेक दिन सिरानी भिजाएर सुतेँ। मनमा चैन थिएन, शरीर सुक्दै थियो तर भन्न सकिनँ। उसले मायाले नबोलाएको त वर्षौं भैसकेछ। कहाँ गएर कोसँग पोखौँ? कहिलेसम्म यसरी बित्ने हो थाहा छैन। अब त ऊ घरमा हुँदा पनि छैन जस्तो लाग्छ, खै केमा व्यस्त हुन्छ!
ऊ मेरा लागि एक मिनेट निकाल्न सकेको छैन। मेरा लागि त के छोरीहरुको लागि बाबाको नाम मात्रै पाएका थिए, माया पाउन सकेनन्। साह्रै अभागी रैछन्।
के दोष थियो ति बालखको? दोष त खै कसको थियो र बहुमतकै कदर हुँदो रहेछ दोषभन्दा नि। त्यसैले त म दोषी ठहरिएकी थिएँ। सब कुरा त्यागेँ। आफ्नो करियर, समय, यो १० वर्ष बस् उसकै नाममा। उसले त माया गर्ने अरु नै भेटिसक्यो। हजार बहाना निकाल्थ्यो अफिसको नाममा प्रीयालाई भेट्न।
धेरै पटक देखेकी छु उसले किनेर ल्याएका गिफ्टहरु। धेरै पटक त सायद मलाई होकि भनेर खुसी हुन्थेँ तर ती खुसीहरु बस् आँसु र आशाका बाढी बनेर आँखाबाट निस्कन्थे। यी आँखाहरु ओभाउन कहिले पाएनन्। सबकुरा थाहा पाएर पनि बुझ पचाउँथेँ। धेरै चोटि सोधेँ प्रीयाको बारेमा। अनि त्यो म्यासेजको बारेमा। उल्टै झपार्थ्यो 'त्यसै शंका गर्छेस्' भन्दै।
'तिम्रो च्वाइस मात्रै लाउँछु मलाई मन पर्छ' भन्ने ऊ समय-समयमा नयाँ लुगा लिएर आउथ्यो तर म र छोरीहरुका लागि कहिले एक पैसा खर्च गरेन। आजकल त सासूआमासँग माग्नु पर्ने भैसकेको थियो केही किन्न पनि।
मैले बिहेभन्दा अगाडि किनिदिएको पर्स जसमा उसको र मेरो पार्सपोर्ट साइजको फोटो थियो। एकदिन निकालेको देखेकी थिएँ। त्यसपछि कयौँ पर्सहरु फेर्यो तर त्यो फोटो अटाएन ती पर्सहरुमा।
पर्सको के कुरा, मन मुटुबाट मेरो नाम निसाना उखालेर फालिसकेको छ तर पनि म चुप छु। कहिले-कहिले सासूआमा पनि भन्नु हुन्छ 'नाति हेर्ने भाग्य छैन जस्तो छ, वंश नासिने भयो। अझै कोसिस गर बुहारी एकचोटि।'
सजिलो छ भन्दिनेलाई। छिमेकी पनि मौका पाउने बित्तिकै छेड्छन् 'हैन छोरा त चाहिन्छ है बुहारी नानी, वैद्यका जानु एकचोटि' भन्छन्।
मन त गाला फुट्नेगरी दिएर इट्स नन् अफ योर बिज्नेस भन्न मन लाग्छ नि तर सकिँदो रैनछ। सासूआमाले कहाँ-कहाँ लानु हुन्थ्यो त्यही-त्यही गएँ। भगवानसँग लाखौँ बिन्ती गरेँ। कुनै मठ मन्दिर बाँकी राखेको छैन। हुने जति गर्ने जति सबकुरा गरे कतै छोरा भइहाल्छ कि भनेर उसको खातिर, उसको माया फर्काउन, छोरीहरुले माया पाउन भनि तर कतै केहीको सीप लागेन।
पहिले-पहिले भर्खर बिहे भएको बेला आफन्त साथीभाइहरु भन्थे 'कति भाग्यमानी तिमी! मन परेको मान्छे, पढेलेखेको परिवार, त्यसमाथि धनको पनि कमी छैन।' साँच्चीकै कति भाग्यमानी जस्तो लाग्थ्यो तर के थाहा भाग्यमा यस्तो पनि लेखेको रहेछ भनेर…।