प्रेमको आभास जुर्मुराए
आत्मीयपन जुर्मुराए
स्वर्णिम सपनाहरु जुर्मुराए
साथमा कयौं जन्महरु
सँगै काट्न मर्ने अनि बाच्ने
कसमहरु जुर्मुराए
अनि प्रेमको गहिराइमा
चुर्लुम्म डुबुल्की मार्न पुगिएछ
मन्द मुस्कान, सुन्दर चेहरा अनि
लजालु नयनको तिरमार्फत
प्रेमका भावले गहिराइ चुम्दै गर्दा
अमीट बिम्बहरु निकै गहन बने
आत्मीयता शरीररुपि कोषीय अंगहरु बने
आत्माको ज्वलन्तता सुन्दर सपनाको
अमीट पर्याय बने
अनि धड्कनको आभास
आपसका अकाट्य प्रण बने
यी सबै त सरल र सहज बाटोबाटै बने
जहाँ प्रेमको गहिराइ निकै आकर्षक बन्न पुग्यो
जुन गहिराइबाट उम्कन हजार कोसिस पनि सार्थक नबन्ने प्रहरमा पुग्यो ।
यी यावत बिम्बको साक्षी
मनले स्वर्गीय आनन्द भावमा
स्वयम भन्दै थियो
एउटा फूलको अंकुरण लाग्दैछ
जुन फूल फक्रिनेछ अनि तिमी
चरा बनी डुल्नेछौ हावाको बेगसँगै
आफ्नै सुन्दर संसारमा
स्वर्णिम साथलाई अंगाल्दै
प्रेमका रंगिन तप्काहरु संगाल्दै
मन अनि मनले
खुसीको चरम बहारलाई स्वीकार्दै
तिमी आफैमा लिप्त हुनेछौ
जहाँ सहारा म हुनेछु।
यी कल्पना, यी आभास, यी रौनकता
अनि यी सुगन्धको तीव्र आकांक्षा केवल काल्पनिकता थिए
जहाँ समेटिएका थिए
मात्र प्रेमको बिम्ब
आत्माको स्वर्णिम मिलन
मुटोको स्वर्गीय स्पर्श अनि
सुगन्धित बगैँचामा फिजारिएका
अनेकन फूलका सुवासहरु...
फुल्नै लाग्दा कोपिला ओइलिए जस्तै
यहाँ त अध्यायले कोल्टे फेरिसकेछ
देखिएका सपनाहरु धुमिल बनिसकेछन्
आभासीन आत्माहरु टुटिसकेछन्
स्वर्गीय स्पर्शहरु हराइसकेछन्
अत्मीक भावहरु मरिसकेछ
अनि स्वर्णिम आभासका कल्पनाहरु
आगोको तप्कामा
पुतली जले जसरी जलिसकेछ
हेर त अहिले
म ती हरेक
बिम्बहरुलाई ओल्टाइ पोल्टाइ हेर्दैछु
कहिले अङ्गालोमा बेर्छु
कहिले महसुस फेर्ने चेष्टा गर्छु
कहिले उनै बिम्बमाथि रिस पोख्छु
अनि नदेखेको भावमा यताउता खोज्छु पनि
तर अदृश्य तिम्रा ती स्वर्णिम
आत्मिकताको तप्काहरु
कतै भेट्नै सकिनँ प्रिय मन...
जब भाग्य नै बिरानो भै जान्छ
त्यहा पलपलको तिम्रो आत्मिकता
के होला?
सोच त...
तर मलाई त त्यही भाग्य पनि
संसारकै सुन्दर लाग्दैछ
मनमा बियोगान्त प्रेमको ज्वार जाग्दैछ
अनि आत्माले त्यो एकान्तपन माग्दैछ
पलपलको यादको
तप्कामा झस्किँदै झस्किँदै
मनले भन्दैछ
यिनै आभासको बीचमा
प्रेमको इतिहास बनोस्
जहाँ
तिम्रो चिनो अमर रहिरहनेछ
बादलको ढिक्काहरुमा
धर्काहरु कोरिए जसरी
सूर्यका रोशनीहरु चम्किए जसरी चम्कँदै
अनि हीनभावमा हीरामोतीका
चमक्दार टल्काइ फैलिए जसरी
बिम्बात्मक चमक दिँदै-दिँदै
प्रिय मन..
दिल र दिमागले स्मरण गरिरहेछ
ती सुन्दर पलका ताजा अनुभूतिहरु
अनि तिनै अनुभूतिको गहिरो असरले
मनभित्र अनेकन घाउहरु भरिरहेछन्
अनि पीडाले भतभती आत्मा जलिरहेछ
र पनि
अतुलनीय तिम्रा ती आभासिन
चिनोहरुको स्पर्शमा
निभेकै दियो पनि चमक्दार
भावमा जलिरहेछ
तिम्रै उपहासको कारण
तिम्रै प्रेम हत्याको कारण
अनि तिम्रो मनको
स्वार्थीय तप्काको कारण
म कोसिस गर्दै थिएँ
तिमीबाट धेरै टाढा जाने
तिम्रो सुन्दर संसारमा कहिलै नफर्किने
तर मनले स्वीकृति दिँदै दिएन
आखिर किन र केसका लागि
तिमीसँग तर्कनु छ र!
आखिर पाउनु मात्र पनि त ठूलो हैन
त्याग पनि त अमर छ हामीमाझ
तिम्रो कल्पना,
तिम्रो चिनो अनि अतीत
जिउने सहारा बनिरहँदा
म कहाँ त्यति निस्ठुर बन्न सक्छु र
त एउटा कोसिस मात्र हो
पीडालाई बहकाउने...
सुनन प्रिय मन
ती विगत अनि पलहरुलाई
कसैले नदेख्नेगरी मनमा साचेको छु
मानसपटलमा लुकाइराखेको छु
अनि मुटुमा सजाइराखेको छु
अतुलनीय मायाको चिनोहरुको बिम्बाकृतमा
हेरेर नयनहरु कहिलै नथाकून्
भन्ने भावमा आकर्षक
सजावट पनि दिएको छु
र पनि मनले तिमीलाई
एकल स्पर्श गरिरहेछ
अनि अमीट बिम्बलाई नमेट्ने
प्रयास पनि गरिरहेछ
हो प्रिय मन
पीडाले भतभती पोल्दै गर्दा
आँसुका तप्प-तप्प ढिकाहरु
अविष्मरणीय बनेका छन्
अनि आत्माले भनिरहेछ
फेरि फर्कीए हुन्थ्यो ती दिनहरु
फेरि शरीररुपि कोषिकाहरु
निर्देशात्मक भावमा भनिरहेछन्
मरिसक्यो रे ती इच्छाहरु उनीमा
त्यसैले
अब तिम्रो चिनो हेर्न पाए पुग्छ
तिम्रो खुसीको पल देख्न पाए हुन्छ
आखिर सच्चा माया न हो
बिछोडको पीडा कि धोका नै सही?
मनमा प्रश्नका ठेलीहरु बनिरहेछन्
हाँसो र खुसीमा रम्न पनि त
भाग्य नै चाहिन्छ रे नि प्रिय
रत स्वर्णिम प्रेमका आभासहरु
पनि मृत्यु शय्याको एक सयन जस्तै
निष्पट जस्तै बनिरहेछन्!
मत बिम्ब झल्काउँदै थिएँ प्रिय यहाँ
मलाई गुनासोको ठेली पस्कनु त कहाँ छ र
अबुझ मन, अबुझ तन
अनि प्रेमको हत्याकै रुप
र पनि सामर्थ्य गर्दै छु
अह! म अपेक्षा गर्दिनँ अब
किनकि म प्रेमको आभास बुझ्छु
आत्मिकता बुझ्छु अनि
स्वर्णिम पलको ज्वलन्तता पनि बुज्छु
म आँखा भएरै नदेख्ने बन्ने चेष्टा गर्दिनँ
अनि बुझाइलाई मेट्दै निर्धो पनि बन्दिनँ
किनकि
देखावटी अन्धोपनले संसार अँधेरिन्छ
अनि बुझाइमै निर्धो बन्नाले
पशुसरह कहलिन्छ
माया र साथ लिई हरेकको
जीवनमा एक प्रहर आउँछन्
रत महसुसले फुलिन्छ फलिन्छसँगै
अकालमा हामफाली ज्यानै पनि दिने
खेल चल्छ
अन्ततः नामी कहलिने पनि तिनै हुन्छन्
तर म त्यो नामी कहलिन सक्दिनँ
मात्र सक्छु तिमीले दिएका
विषलाई अमृत मान्न
विवेकशील मनुष्यले भरिएको संसारमा
न सोच एकै होलान्,
न बुझाइले सार्थकता देलान्
कोही आफू गलत भैइ राम्रो खोज्लान्
कोही राम्रो भएरै पीडामा रोलान्
अनि तिमी आफूजस्तै बन्न भन्छौ
त्यो त सम्भवतुल्य नै कहाँ थियो र
एउटै आलुले संसार बिगार्छ
भन्ने सायद बुझ्छौ होला होइन र?
हो प्रिय मन
म अब बिल्कुल फेरिएँ
तिमीजस्तै
र त
जताततै डरको घृणा फैलिँदै गर्दा
कहीँकतै काँडाको बीच
पालुवा पलाइरहेछ जहाँ म रम्नेछु
म पनि त्यही पालुवाको
बिम्ब बन्ने कोसिसमा छु
मुटुका ढुकढुकीहरु जबसम्म
विश्रामको सैयनमा पुग्दैन
म कोसिस गरिरहनेछु
प्रेमिल विचार र भावनाहरुको
गला रेट्नेहरुको
निद हराम गरिरहनेछु
एक युगको पर्याय बनेर
को बाच्ने को मर्ने
मायारुपि जित र हारको लडाइमा
म एक तिखो धार मेट्ने प्रयास गरिरहनेछु
भलै अफ्नै गला किन नरेटियोस्
कतै मेरो कल्पनाले
तिम्रो स्वाभिमानमा ठेस पुगेछ भने
प्रिय म माफीको लागि प्रार्थना
गरिरहने छु, गरिरहनेछु
एउटा अपुरो प्रेमको
इतिहासको साक्षी बनेर।